•  १६ कार्तिक २०८१, शुक्रबार
  •  12:16:58 PM

नव नियुक्त मन्त्रीले लिए शपथ : आचार्य महिला मन्त्री, यादवलाई खानेपानीको जिम्मा

- बैशाख २४, २०८० मा प्रकाशित



काठमाडौँ । नव नियुक्त मन्त्री सुरेन्द्रराज आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा नव नियुक्त मन्त्री आचार्यलाई शपथ खुवाएका हुन् ।आचार्यले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यसै गरी यसअघि सो मन्त्रालयको जिम्मेवारी सम्हालेका महिन्द्र राय यादवलाई खानेपानी मन्त्रालयको कार्यभार तोकिएको छ । त्यसक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासहित उच्च पदस्थ सरकारी अधिकारी उपस्थित थिए । कपिलवस्तु क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा निर्वाचित उनी नेपाली कांग्रेसमा डा. शेखर कोइराला पक्षका सांसद मानिन्छन् ।

गत चैत १७ गते नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादवले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हालेका थिए । उनको मन्त्रालय एक महिना नबित्दै हेरफेर भएको छ । यादवलाई अब महिला मन्त्रालयबाट सरुवा गरेर खानेपानी मन्त्रालय जिम्मेवारी दिइने भएको छ । यादव डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका अध्यक्ष पनि हुन् ।

यससँगै प्रचण्डले मन्त्रिपरिषद् दसौँ पटक विस्तार गरेका छन् । यसअघि नवौँ पटक विस्तार हुँदा यही वैशाख २१ गते तीनजना कांग्रेस सांसदहरू मन्त्री बनेका थिए । धनराज गुरुङले कानुन, न्याय तथा संसदीय मामिला, मोहन बस्नेतले स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बूले युवा तथा खेलकुदमन्त्रालय सम्हालेका थिए ।

त्यसअघि वैशाख ३ गते कांग्रेसबाट सांसद एनपी साउदले परराष्ट्रमन्त्रीको पदभार ग्रहण गरेका थिए । कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालाई उपप्रधान तथा रक्षामन्त्री बनाउँदै उनको नेतृत्वमा गत चैत १७ गते सरकारमा सहभागी भएको हो ।कांग्रेसबाटै अर्थमन्त्रीमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महत, सहरी विकासमन्त्रीमा सीता गुरुङ र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा रमेश रिजाल छन् ।

Comments

सम्बन्धित खवर