•  ८ मंसिर २०८१, शनिबार
  •  10:09:31 PM

दमकमा एनएआईसी एसिया बैंककाे ज्यादती : किस्ता नतिरेको भन्दै ऋणीको घरमा सुरक्षा गार्ड राखेर निगरानी

- चैत्र २२, २०७९ मा प्रकाशित



इटहरी । समयमा किस्ता नतिरेको भन्दै एकजना ऋणीका घरमा एनएआईसी एसिया बैंकले सुरक्षा गार्ड खटाएको छ ।दमक नगरपालिका वडा नम्बर ५ का दुर्गा प्रसाद कँडेलको घरमा बैंकले घरमा नै सुरक्षा गार्ड खटाएको छ ।बैंकले ३ दिन सुरक्षा गार्ड खटाएको हो।दैनिक ९ बजेदेखि बेलुकी ५ बजेसम्म खटाइएका सुरक्षा गार्डले कँडेलको घरमा सुरक्षा दिने गरेका थिए। यद्यपि अहिले गार्ड हटेका छन्। गार्डलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको पहलमा फिर्ता पठाइएको हो।

३ महिनादेखि कँडेलले बैंकको साँवा तथा ब्याज तिर्न सकेका थिएनन् । पैसा तिर्छुभन्दा पनि बैंकका कर्मचारीले गाली गर्ने गरेका उनकी श्रीमती चन्द्रकलाले बताइन्।ुखाएपछि समयमा तिर्नु पर्दैन भनी बैंकका कर्मचारीले अपमानजनक शब्द बोल्ने गरेका उनले दुखेसो गरिन्।

४ दिन पहिले बैंकले जति हुन्छ त्यति रकम लिएर आउनु भनेको र आफूले १० हजार रुपैयाँ मात्र लगेर जम्मा गरेको कँडेलले बताए ।पैसा जम्मा गरेर घरमा आइनपुग्दै बैंकले धितो सुरक्षा गर्न भन्दै सुरक्षा गार्ड खटाएको हो। उनले १ करोड रुपैयाँ ऋण लिएका थिए । साँवा ब्याज गरेर ९७ लाख रुपैयाँ तिर्न बाकी रहेको कँडेलले बताए ।

बैंकले खटाएका सुरक्षा गार्डले घरमा आउनेहरूलाई सलाम गर्ने गरेका थिए । उनले ३ वर्षअघि उक्त ऋण लिएका थिए । बैंकले नै बोलाएर कर्जा दिएको कँडेल परिवारको दाबी छ । उनी प्लटिङ व्यवसाय गर्थे । ‘कित्ताकाट लामो समयसम्म रोकिँदा समस्या आयो,’ उनले भने ‘आर्थिक मन्दीका कारण पनि जग्गाको कारोबार भएको छैन ।’

बैंकले समयमा साँवा ब्याज नतिर्दा चिठ्ठी काट्ने, सूचना टाँस्ने र लिलामीको प्रक्रिया गर्नुपर्नेमा घरमै सुरक्षाकर्मी पठाएर आफूहरूलाई बन्धक बनाएको कँडेल बताउँछन्।बैंकका मुख्य गुनासो व्यवस्थापन अधिकारी अर्जुनराज खँनियाले भने यो विषयमा कुनै जानकारी नभएको बताए ।

Comments

सम्बन्धित खवर