•  १६ कार्तिक २०८१, शुक्रबार
  •  9:13:06 PM

उम्मेदवारी दर्ता गरेकै दिन रविविरुद्ध सर्वोच्चमा राहदानी दुरुपयोगको रिट दर्ता

- चैत्र २०, २०७९ मा प्रकाशित



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोग कसुरमा कारवाहीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

चितवन–२ को उपनिर्वाचनमा उम्मेदवारी दर्ता गरेकै दिन रविको नागरिकता विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चा रिट दर्ता भएको हो । अमेरिकी नागरिकता लिएपछि पनि नेपाली नागरिकताबाटै राहदानी लिएको भन्दै लामिछानेविरुद्ध उजुरी परेको थियो । त्यसमा प्रहरीले अनुसन्धान गरेर मुद्दा चलाउन नमिल्ने प्रतिवेदन दिएको थियो ।

प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकीलको कार्यालयले मुद्दा नचलाउने निर्णय गर्न सिफारिस गरेको थियो । त्यसका आधारमा महान्यायाधिवक्ता दिनमणि पोखरेलले चैत ६ गते मुद्दा नचलाउने निर्णय गरेका थिए ।महान्यायाधिवक्ताको निर्णयविरुद्ध अधिवक्ता युवराज सफलले रिट दिएका हुन् । सोमबार सर्वोच्च अदालतले रिट दर्ता गरेको अधिवक्ता सफलले बताए । रिटमा महान्यायाधिवक्ताको कार्यालयसँगै लामिछानेलाई पनि विपक्षी बनाइएको छ । यसमा मंगलबार पेशी तोकिएको रिट निवेदक सफलले बताए ।

यसअघि उनले नै लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता नलिएकाले सांसद पदका लागि योग्य नभएको भन्दै रिट दिएका थिए । त्यसमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरेको थियो ।गत मंसिर ४ गते भएको निर्वाचनमा लामिछाने निर्वाचित भएको चितवन–२ मा आउँदो वैशाख १० मा उपनिर्वाचन हुँदैछ । त्यसमा लागि लामिछानेले आज (सोमबार) उम्मेदवारी दर्ता गराइसकेका छन् ।

Comments

सम्बन्धित खवर