•  १६ कार्तिक २०८१, शुक्रबार
  •  1:08:55 PM

तराईका जीवजन्तु पहाड उक्लनु खतराको घण्टी , बिज्ञ भन्छन – बडेमानकाे साङ्ला अमेरिकाबाट मान्छे आफैले ल्याए

- फाल्गुन ९, २०७९ मा प्रकाशित



काठमाडौँ । जलवायु परिवर्तनका कारण पशुपंक्षी तथा कीरा फट्याङ्ग्रा एउटा तापक्रम भएको स्थानबाट अर्को तापक्रम भएको स्थानमा बसाइँ सर्ने गरेको पाइएको छ । कतिपय कीरा फट्याङ्ग्रा यात्रु ओहोरदोहोर गर्दा सुटकेसबाट अर्को ठाउँ जाने गरेका छन् तर मानिसका कारण वा आफै पनि पशुपंक्षी स्थानान्तरण हुने गरेका छन् । सुरक्षाका लागि वा जलवायु परिवर्तनका कारण पशुपंक्षीले बसाइँ सर्ने गरेका छन् ।अमेरिकाका बडेमानका साङ्ला यात्रुका सुटकेसबाट नेपाल भित्रिएका हुन् ।

 जीवशास्त्री डा मुकेश चालिसेले नेपालमा पाइएका ठूला साङ्ला यात्रुका ‘लगेज’ का माध्यमबाट अमेरिकाबाट नेपाल भित्रिएको दाबी गर्दै भने, ‘एकसिङ्गे दुर्लभ गैँडा जस्तै मध्यपहाडमा पाइने पहँरे बाँदर तराईमा देखिन थालेको छ । यसबारे सम्बन्धित निकायले थप अध्ययन अनुसन्धान गर्नु आवश्यक छ ।’ वनस्पतिविज्ञ डा. तीर्थबहादुर श्रेष्ठले मध्यपहाडी क्षेत्रमा पाइने जनावर तराईमा र तराईमा पाइने जनावर हिमाली क्षेत्रमा उक्लिनुका पछाडि जङ्गली कोरिडोरको विकास प्रमुख कारण रहेको बताए ।

‘ठूला जीवजन्तु बाह्रै महिना एक ठाउँबाट अर्कोमा स्थानान्तरण हुने भए पनि साना जीवजन्तुचाहिँ मौसम अनुकूल स्थायी बसाइँ सर्ने गरेका छन्’, उनले भने, ‘उपत्यकाका थानकोट, साँगा भन्ज्याङ, फर्पिङ र नागार्जुन उष्ण क्षेत्र हुन् । शीतोष्ण तराईमा पाउने सिमल उपत्यका आसपास पाउन थालिनु मौसममा आएको परिवर्तन नै प्रमुख कारक हो ।

’जीवशास्त्री डा. चालिसेले उपत्यकाका मुख्य सहरी चोकमा कहिलेकाहीँ चितुवा देखिनुले जङ्गलमा खानाको अभाव रहेको पुष्टि गर्ने गरेको बताए । अवैज्ञानिक रूपमा डाँडा हरियो बनाउन रोपिएका सल्लाले निरन्तर जङ्गल र जनावरलाई मानवसँग द्वन्द्व बढाएको उनको गुनासो छ । उनले सल्लाको जङ्गलमा मृग, खरायो र चितुवा बस्न नसक्ने भएकाले वन्यजन्तु मानव बस्तीमा छिर्न थालेको बताए ।

डिभिजन वन कार्यालय काठमाडौँका डिभिजनल वन अधिकृत बद्री कार्कीले तराईमा पाउने जनावर पहाड र हिमालसम्म चढ्न थाल्नु भनेको जलवायु परिवर्तन तथा उनीहरू बासस्थानको खोजीमा लागेका कारणले हुनसक्ने बताए ।मध्यपहाडी जिल्लाको महाभारत क्षेत्रको जङ्गलमा तराईका जिल्लामा पाइने जङ्गली जनावर बढ्दो रूपमा देखा पर्न थालेको छ । केही वर्ष पहिलेसम्म तराईका जङ्गलमा मात्र पाइने बँदेल, दुम्सी, घोरल र हरिण जस्ता जनावर बसाइँ सर्दै आएको विज्ञको भनाइ छ । 

Comments

सम्बन्धित खवर