पर्खाल फोडेर फरार ६ थुनुवामध्ये एक पक्राउ, पाँच जनाको खोजी जारी
- माघ १७, २०७९ मा प्रकाशित
धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट फरार भएका ६ जना थुनुवामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको पर्खाल फोडेर सोमबार बिहान ६ जना थुनुवाहरू फरार भएका थिए ।
हिरासत कक्षबाटै थुनुवाहरू फरार भएपछि जिल्ला प्रहरी कार्यालय धनुषा र मधेस प्रहरी कार्यालयको संयुक्त टोलीले सर्च अपरेसन टोली खटाएर खोजतलास तीव्र पारेको छ । सर्च टोली फरार थुनुवामध्ये रोशन महतोलाई पक्राउ गर्न सफल भएको हो ।
मिथिला नगरपालिका–६ का २८ वर्षीय महतोलाई मंगलबार साँझ पुनः पक्राउ परेको जिल्ला प्रहारी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीले जानकारी दिए । उनीमाथि हातहतियार खरखजाना मुद्दा चलिरहेको छ । महतोलाई हतियारसहित गत शनिबार मात्रै पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको थियो ।
महतोलाई धनुषाको मिथिला नगरपालिका–८ कुशुमविछौनास्थित आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको हो । प्रहरी हिरासतबाट फरार अन्य पाँच जनाको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए । हिरासतबाट ६ जना थुनुवा एकैसाथ फरार भएपछि ड्युटीमा रहेका इलाका प्रहरी कार्यालयका दुई प्रहरीलाई निलम्बन गरिएको छ भने घटना छानबिनका लागि जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयले छुट्टाछुट्टै समिति बनाएका छन् ।
लागूऔषध, हातहतियार, अभद्र व्यवहारका सातजना थुनुवामध्ये ६ जना थुनुवा हिरासत कक्षको पर्खाल भत्काएर फरार भएका थिए । पुरानो भवनमा रहेको हिरासत कक्षको शौचालयको ढोका फोरेर बिहान ३ बजे थुनुवाहरू फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
-
ताजा मंसिर ९, २०८१कालीगण्डकी करिडोरले जोड्दै मुक्तिनाथ र लुम्बिनी
-
ताजा मंसिर ९, २०८१धरहरा चढ्न आजदेखि शुल्क, फोटो खिच्दा पनि पैसा
Comments