•  १० मंसिर २०८१, सोमबार
  •  1:41:32 PM

कांग्रेस संसदीय दलको निर्वाचन बुधबार : आज निर्वाचन समिति बनाइँदै

- पुष ३, २०७९ मा प्रकाशित



काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज (आइतबार) बस्दै छ । बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

कांग्रेस संसदीय दलको विधानको व्यवस्थाअनुसार केन्द्रीय समितिले संसदीय दलको नेताको चुनावका लागि एक निर्वाचन समिति बनाउने व्यवस्था रहेको छ । आजको बैठकले निर्वाचन समिति गठन गर्ने र चुनावको मिति तय गर्ने सम्भावना छ ।कांग्रेसले आउँदो बुधबारसम्ममा संसदीय दलको नेताका लागि चुनाव गर्ने तयारी गरेको छ । कांग्रेसमा सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, नेता शेखर कोइरालालगायतले संसदीय दलको नेतामा दाबी गर्दै आएका छन् । यसअघि हिजो बालुवाटारमा प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले पार्टीबाट निर्वाचित सांसदहरूलाई बधाई ज्ञापन र चियापानको कार्यक्रम राखेका थिए । त्यसक्रममा संसदीय दलको चुनाव र भावी सरकार गठनबारे समेत नेताहरूबीच कुराकानी भएको थियो ।
प्रतिनिधि सभामा पहिलो दल कांग्रेसबाट ८९ जना सांसद निर्वाचित भएका छन् । नेपाली कांग्रेसको विधानले पार्टीको संसदीय दलको नेतालाई भावी प्रधानमन्त्रीको उम्मेदवारको रुपमा सिफारिस गर्ने व्यवस्था गरेको छ । त्यसै अनुसार भावी सरकारको नेतृत्व आफ्नो दलले पाउने अपेक्षासहित संसदीय दलको को बन्ने भन्ने बहस शुरु भएको हो ।कांग्रेस संसदीय दलको विधानमा प्रतिनिधि सभाका सदस्यहरूले आफूमध्येबाट एक जनालाई दलको नेता चयन गर्ने व्यवस्था छ । यस्तो दलको नेताका लागि एकभन्दा बढीले दाबी गरेको अवस्थामा चुनावी प्रक्रियाबाट निर्णय गर्ने उल्लेख छ । चुनावी प्रक्रियाबाट छान्नुपर्ने भए संसदीय दलको नेता हुन कम्तीमा ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था छ ।

Comments

सम्बन्धित खवर