•  १० मंसिर २०८१, सोमबार
  •  8:39:38 PM

सुनसरीमा रेवती रमण अब्बल : यस्ताे छ उनकाे राजनीतिक यात्रा , मतदाताले दिए जितकाे आशीर्वाद

- मंसिर १, २०७९ मा प्रकाशित



इटहरी/ २०५४ सालमा भएको स्थानीय तहको निर्वाचनमा इटहरीको उपमेयर निर्वाचित भएका थिए, एमाले सुनसरी अध्यक्ष रेवतीरमण भण्डारी । उनले तात्कालिन स्थानीय सरकारलाई व्यवस्थित बनाउन तात्कालिन मेयर सर्वध्वज साँवाको साथ दिए ।

काठमाण्डौं बसेर कानुन अनि राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका उनले आफ्नो शिक्षालाई व्यवहारिकतामा रुपान्तरण गरे । आज उनी कानुनका ज्ञाताका रुपमा चिनिन्छन् । साथै अर्थशास्त्र, समाजशास्त्रमा पनि उनको विशेष ज्ञान छ । त्यही ज्ञान र सीपलाई उनले इटहरी, प्रदेश १ र संघीय सरकारको लागि उपयोग गरे ।

‘इटहरीलाई व्यवस्थित बनाउने सवालमा त्यो बेलाको मेरो भूमिका देख्ने धेरै नेताज्यूहरु, कर्मचारी साथीहरु र इटहरीवासीहरु अझै हुनुहुन्छ,’ उनी भन्छन्, ‘मैले त्यो बेलामा सक्रिय भूमिका निभाएको थिएँ ।’ पछि २०७० सालमा भएको संविधानसभा निर्वाचनमा उनले सुनसरी क्षेत्र नं. २ बाट संविधानसभा सदस्यमा जित हात पारे । ६०१ सदस्यीय संविधानसभामा संविधान बनाउन कम र ताली बजाउन धेरै सांसद पुगेका थिए । तर भण्डारी कानुनका ज्ञाता र नेपालको सामाजिक, राजनीतिक तथा आर्थिक परिवेश राम्रोसँग बुझ्ने नेता भएकाले उनले संविधान मस्यौदा समितिको सदस्य नै बनेर काम गरे ।

उनी संविधान लेखनमा यति सक्रिय भए कि संविधानको व्याख्या गर्ने देशभरकै थोरै व्यक्तिमा पर्छन् उनी । त्यतीखेर संविधानका कतिपय प्रावधानहरुलाई लिएर भएका विवादहरुमा उनको मत निर्णायक हुन्थ्यो । राष्ट्रिय सञ्चारमाध्यमहरुमार्फत् उनले व्यक्त गरेका विचार र ज्ञानले धेरै मानिस र अधिवक्ताहरुलाई पनि संविधानको बारेमा स्पष्ट हुने मौका दिएको थियो ।

‘मलाई त्यतीबेला सुनसरीवासीले यो मानिसले संविधान निर्माणमा योगदान दिन सक्छ भन्ने सोचेर जिताउनुभयो,’ उनले भने, ‘मैले चुनिएर गएपछि आफ्नो क्षमताले भ्याएसम्म सक्रियतापूर्वक भूमिका निभाएँ ।’उनले आफ्नो कार्यकालमा अर्को पनि महत्वपूर्ण काम गरे । त्यो भनेको मुलुकी (देवानी र फौजदारी) संहिता तयार गर्न नेतृत्वदायी भूमिका खेले । विधायनसमितिअन्तर्गत भण्डारी संयोजक रहेको देवानी कार्यविधि समिति तथा उनी सदस्य रहेको ६ वटा विधेयक समन्वय समितिका सदस्य भण्डारीले कानुन निर्माण गर्न भूमिका मात्र खेलेनन्, कानुनलाई लिएर विभिन्न पक्षले राखेको शंका हटाउन पनि भूमिका निर्वाह गरे ।


सक्रियतापूर्वक काम गर्दा गर्दै पनि उनले २०७४ सालको संघीय निर्वाचनमा टिकट पाएनन् । तर उनको ज्ञान र सीप प्रदेश १ सरकार र इटहरी उपमहानगरपालिकाको कानुन निर्माण गर्न प्रयोग भयो । प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राई र इटहरी सरकारको आग्रहमा दुवै तहका महत्वपूर्ण कानुन ड्राफ्ट गर्न उनले भूमिका खेले ।

इमान्दार पृष्ठभूमी, सरल जीवनशैली

राजनीतिबाट एउटा घर, जग्गा तथा गाडीसमेत नजोडेको बताउने भण्डारीले आफ्नो बौद्धिकता र ज्ञानलाई नै उपयोग गरे । ‘धेरै अफरहरु आएका थिए, आर्थिक लाभका प्रस्तावहरु आएका थिए, तर कतै आफ्नो इमान बेचिनँ,’ उनी भन्छन्, ‘अहिले पनि देशभर घुमेर कानुन पढाउने र केही परियोजनाहरुमा काम गरेको पैसाले चलिरहेको छु ।’
सरल जीवनशैली अपनाउने भण्डारी अहिले पनि पुरानो मोटरसाइकल चढेर हिड्छन् ।

लवाई खवाई पनि साधारण छ । धेरै खर्च गरेर चुनाव लड्ने र पैसाले भोट किनेर जित्ने पक्षमा नरहेको बताउँदै उनी भन्छन्, ‘यो मान्छेले हिजोको दिनमा पनि आफूले पाएको जिम्मेवारी पुरा गरेको थियो, आज पनि गर्छ भनेर मतदाताहरुले विश्वास गर्नुभएको छ र वहाँहरुले भोट दिएर जिताउनुहुनेमा विश्वस्त छु ।’
अहिलेसम्म कुनै आर्थिक, नैतिक विवादमा नपरेका, मतदाताहरुसँग सौहाद्र्ध सम्बन्ध राख्ने र सरल जीवनशैली अपनाउने भण्डारीले निर्वाचित भएमा गुरुयोजना बनाएर आफ्नो क्षेत्रको व्यवस्थित विकास गर्ने बताएका छन् ।

अब प्रदेशलाई व्यवस्थित बनाउने इच्छा

उनी यो पटक सुनसरी निर्वाचन क्षेत्र नं. २ (क) बाट प्रदेश सभा सदस्यको लागि निर्वाचनमा होमिएका छन् र योपटक उनले यस क्षेत्रको विकासका कुरालाई ध्यान दिनुपर्ने अवस्था छ ।‘प्रदेश सरकारका प्रायः कानुन बनिसकेका छन्,’ उनी भन्छन्, ‘अब जनताको अपेक्षा र मेरो भूमिका पनि यस क्षेत्रको अनि प्रदेशको आर्थिक, सामाजिक विकास कसरी हुन्छ भन्नेमा हुनेछ ।’ त्यसका लागि प्रदेश सरकारको प्रणालीलाई व्यवस्थित गर्नुपर्ने आवश्यकतामा उनले जोड दिएका छन् ।

विकासका लागि उपयुक्त नीति, योजना र कार्यक्रम आवश्यक हुन्छ । ‘इटहरीको स्थानीय सरकारलाई योजना नीति तथा कार्यक्रम बनाउन सहयोग गरेको थिएँ,’ उनले भने, ‘अब त्यस्तै योजना नीति तथा कार्यक्रमलाई प्रदेश सरकारको विकासमा र प्रदेश सरकारमार्फत् मेरो निर्वाचन क्षेत्रको विकासमा प्रयोग गर्छु ।’‘सबै पक्षलाई एकजुट बनाएर स्थानीय र केन्द्रिय सरकारसँग समन्वय गर्दै यस क्षेत्रको शिक्षा, स्वास्थ्य, आर्थिक र औद्योगिक विकास र पूर्वाधार विकासमा ध्यान दिनेछु,’ उनले भने, ‘यस क्षेत्रका ग्रामिण क्षेत्रमा पूर्वाधार विकास र शहरी क्षेत्रको ढल निकास र खोला नियन्त्रण अनि सुकुम्बासी वस्तीलाई व्यस्थित गर्नेतिर ध्यान दिनेछु ।’

चौधरीभन्दा सशक्त भण्डारी

भण्डारीको मुख्य प्रतिष्पर्धा यो पटक गठबन्धनका तर्फबाट माओवादी नेता द्वारिकलाल चौधरीसँग हुँदैछ । चौधरी पुर्वमेयर र पुर्व एमाले जिल्ला सभापतीसमेत हुन् । मेयर बनेपछि चौधरीको मनमौजी स्वभावका कारण एमाले पार्टी नेताहरुबिच दूरी बढेको थियो । त्यतीमात्र होइन, उनको कार्यकाल विवादै विवादमा बितेको थियो ।

कहिले पत्रकार, कहिले व्यापारी, कहिले कर्मचारी त कहिले महिलाहरुसँग उनको विवाद परिरह्यो । उनको विवाद मिलाउनको लागि उनीसम्बद्ध एमाले पार्टी नेताहरुलाई हम्मे हम्मे परेको थियो । चौधरीविरुद्ध एक्सन लिन नसकेको भन्दै एमालेप्रति इटहरीवासी रुष्ठ बनेका थिए । मेयरको निर्वाचनमा एमाले उम्मेदवार याम सुब्बाले तुलनात्मक कम मत पाउने एउटा कारण त्यो पनि थियो ।

पार्टी कमिटिलाई समेत नटेर्ने र एमाले केन्द्रीय नेताहरुलाईसमेत विभिन्न मिडियामार्फत् गाली गर्ने अनि विपक्षी पार्टी नेतालाई ल्याएर शिलान्यास र उद्घाटन गराउन थालेपछि उनलाई पार्टीपंक्तिले नै मन पराउन छाडेको थियो । जसको कारण उपमेयर लक्ष्मी गौतम केन्द्रीय सदस्य चयन हुँदा चौधरी सुचीमै परेनन् । आफूलाई पाखा लगाइएको ठानेका चौधरी पछि प्रदेश सांसदको टिकट पाउने भएपछि माओवादी प्रवेश गरेका थिए । इटहरीको लागि माओवादी चौथो ठूलो दल हो । तेस्रो दल राप्रपा थियो ।

दुई वटा स्थानीय तहको निर्वाचनमा माओवादीका एक जना उम्मेदवारले वडासदस्य समेत पनि जितेनन् । निर्वाचन क्षेत्र २(क) मा धेरैजसो मतदाता इटहरीमा भएकोले माओवादी उम्मेदवार चौधरी कमजोर अवस्थामा छन् ।यस्तै सबै थारुहरुको मत आफूलाई आउने चौधरीले दावी गर्दै आएका छन् । तर थारु समुदायभित्रै पनि विभिन्न विभाजन भएको कारण उनले सोचेजस्तो भोट आउने सम्भावना छैन । यस्तै नेपाली काँग्रेसका मतदाताहरुले पनि माओवादीलाई भन्दा अन्यत्र भोट दिने सम्भावना छ ।

‘भण्डारी इमान्दार छन्, कमी कमजोरी हरेकमा हुन्छ, तर तुलनात्मक रुपमा उनी चौधरीभन्दा स्वभाव र क्षमताको हिसाबले ठिक छन्,’ एक काँग्रेस मतदाताले भने, ‘चौधरीको पाँच वर्षे कार्यकालले इटहरीकै बेइज्जत गरेको थियो, त्यसैले वहाँलाई भोट दिने त प्रश्न नै उठ्दैन ।’

Comments

सम्बन्धित खवर