प्रदेश १ : प्रतिनिधिसभाका २८ क्षेत्रमा यस्तो हुनेछ प्रतिष्पर्धा : सुनसरी र झापामा राेचक , माेरङमा कडा प्रतिष्पर्धा
- आश्विन २४, २०७९ मा प्रकाशित
इटहरी । प्रदेश १ का १४ जिल्लामा प्रतिनिधिसभाका २८ निर्वाचन क्षेत्र छन्। आइतबार भएको प्रतिनिधिसभाको उम्मेद्वारी दर्तापछि सबै क्षेत्रमा काँग्रेस नेतृत्वको सत्ता गठबन्धन र एमाले नेतृत्वको विपक्षी गठबन्धनबीच मुख्य प्रतिष्पर्धा हुनेछ।
प्रदेश १ को झापा जिल्लाको क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले उम्मेद्वारी दर्ता गराएका छन्। एमाले–राप्रपा गठबन्धनबाट सो क्षेत्रमा अग्नि खरेल उम्मेद्वार बनेका छन्। शर्मा तेस्रोपटक चुनावी मैदानमा ओर्लँदा खरेल पहिलोपटक झापा १मा आएका हुन्।
झापा २ मा सत्ता गठबन्धनबाट अघिल्लो दिनमात्रै एमाले त्यागेका हरि राना माओवादी उम्मेद्वारका रुपमा मैदानमा उत्रिएका छन् भने उनको प्रतिष्पर्धीका रुपमा एमाले–राप्रपा गठबन्धनका देवराज घिमिरे उम्मेद्वार बनेका छन्। अर्जुनधारा नगरका पूर्व मेयर राना र एमाले प्रदेश इन्चार्ज घिमिरे दुई दिनअघिसम्म एकै दलमा थिए। तर, रानाले अन्तिम समयमा एमाले त्याग्दा सहकर्मीहरु आमनेसामने भएका हुन्।
झापा ३ बाट अघिल्लो चुनावमा आफूलाई हराएका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसँग बदला लिने ध्येयसहित सत्ता गठबन्धनबाट काँग्रेस नेता कृष्णप्रसाद सिटौला चुनावी मैदानमा ओर्लिएका छन्। अघिल्लोपटक एमाले र माओवादी समर्थनमा सिटौलालाई हराएका लिङ्देनलाई यसपटक एमाले समर्थनत रहनेछ तर माओवादी उनको साथमा हुनेछैन। माओवादी र एमालेबाट विभाजित समाजवादीको साथ यसपटक सिटौलालाई हुनेछ।
झापा ४ मा सत्ता गठबन्धनबाट काँग्रेस जिल्ला सभापति देउक्ुमार थेवे मैदानमा उत्रिँदा एमाले–राप्रपा गठबन्धनले अघिल्लो चुनावका विजेता एमालेका लालबहादुर साँवालाई फेरि अघि सारेको छ। २०७४ मा पनि उनीहरु दुई जनै भिड्दा वाम गठबन्धनका साँवा विजेता बनेका थिए।
एमाले अध्यक्ष केपी ओली झापा ५ बाट पुनः उम्मेद्वार बन्दा उनलाई गठबन्धनका काँग्रेस उम्मेद्वार डा. खगेनद्र अधिकारीले चुनौती दिनेछन्। २०७४ मा ओलीले अधिकारीलाई नै देशभरीमै सबैभन्दा ठूलो अन्तरमा हराएका थिए।
इलाम १ बाट सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका नृेता झलनाथ खनाल उम्मेद्वार बनेका छन्। उनलाई उनकै पूर्व कार्यकर्ता एवम् इलामका पूर्व मेयर महेश बस्नेतले चुनौती दिनेछन्। २०५६ बाहेकका सबै चुनावमा जितेका खनाल यसपटक कलम चिन्ह लिएर मैदानमा हुनेछन्। इलाम २ मा काँग्रेस जिल्ला सभापति डम्बर खड्का र एमाले उपाध्यक्ष सुवास नेम्वाङबीच प्रतिष्पर्धा हुनेछ। नेम्वाङले पनि अहिलेसम्म हारेका छैनन्। यद्यपि वाम गठबन्धन साथमा नहुँदा उनकै दल पनि सग्लो छैन।
पाँचथरबाट एमालेले पुनः वसन्त नेम्वाङलाई अघि सार्दा सत्ता गठबन्धनले काँग्रेस सहमहामन्त्री भीष्मराज आङदेङ्बेलाई चुनावमा अघि सारेको छ। २०७४ मा पनि यिनै दुई प्रतिष्पर्धामा रहँदा नेम्वाङले जितेका थिए।
१० बुँदे पक्षधर धेरैले टिकट नपाउँदा ताप्लेजुङबाट दोहोर्याएर टिकट पाएका एमाले सचिव योगेश भट्टराईलाई सत्ता गठबन्धनका माओवादी उम्मेद्वार खेलप्रसाद बुढाक्षेत्रीले चुनौती दिनेछन्। २०६४ र २०७० का दुवै निर्वाचनमा काठमाडौंमा पराजय सहेपछि भट्टराईले २०७४ मा ताप्लेजुङ आएर जीत हासिल गरेका थिए।
मोरङ १ मा फेरि २०७४ कै प्रतिष्पर्धी आमनेसामने भएका छन्। लामो समय देउवा पक्षमा रहेका काँग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू पछिल्लो समयमा शेखर कोइराला समूहका नेता हुन्। उनले मोरङ १ बाट सत्ता गठबन्धनको प्रतिनिधित्व गर्नेछन् भने उनलाई एमालेका घनश्याम खतिवडाको चुनौती हुनेछ। २०७४ मा लिम्बूलाई खतिवडाले नै हराएका थिए।
२०७४ मा मोरङ २ बाट वाम गठबन्धनलाई हराएका मिनेन्द्र रिजाललाई पन्छाउँदै काँग्रेस नेतृ सुजाता कोइरालाले टिकट हात पार्दा एमालेबाट जिल्ला अध्यक्ष ऋषिकेश पोखरेल उम्मेद्वार बनेका छन्। रिजालसँग अघिल्लो पटक पोखरेललाई हराएका थिए।
मोरङ ३ मा अघिल्लो चुनावका दुई प्रतिष्पर्धी एमालेका भानुभक्त ढकाल र काँग्रेसका सुनिल शर्मा आमनेसामने हुँदा राप्रपाबाट रेखा थापा पनि प्रतिष्पर्धी थपिएकी छन्। अघिल्लोपटक झिनो अन्तरले शर्मालाई हराएका ढकालसँग यसपटक माओवादीको साथ हुनेछैन भने पार्टी पनि सग्लो नरहेको अवस्था छ। स्थानीयबासीसमेत रहेकी रेखाको उपस्थिति दुवै उम्मेद्वारका लागि चुनौती हुने अनुमान छ।
मोरङ ४ मा माओवादी सांसद अमनलाल मोदी फेरि गठबन्धनबाट उम्मेद्वार बन्दा एमाले नेता विनोद ढकाल उनको प्रतिष्पर्धी बनेका छन्। मोदीले अघिल्लोपटक काँग्रेस नेता महेश आचार्यलाई पराजित गरेका थिए।
मोरङ ५ बाट फेरि माओवादी नेता शिवकुमार मण्डल उम्मेद्वार बनेका छन् भने एमाले जसपा गठबन्धनबाट जसपाका राजकुमार यादव उम्मेद्वार बनेका छन्। यो क्षेत्रमा यसअघि शिवकुमार मण्डलले काँग्रेस नेता अमृत अर्याललाई हराएका थिए। जसपालाई यो क्षेत्र सुम्पने पार्टी निर्णयको विरोधमा एमाले नेता योगेन्द्र मण्डलले बागी उम्मेद्वारी दिएका छन्। उनी यो क्षेत्रमा दाबेदार थिए।
२०७४ को चुनावमा काँग्रेस नेता डा. शेखर कोइरालालाई हराएका एमालेका लालबाबु पण्डित दुवै जना आमनेसामने भएका छन्। सत्ता गठबन्धनबाट कोइराला उम्मेद्वार बन्दा जसपाले पण्डितलाई सघाउनेछ भने माओवादी र एकीकृत समाजवादी डा कोइरालाको साथमा हुनेछन्।
जसपासँगको तालमेल एमालेले सबैभन्दा पेचिलो रुपमा सुनसरी १ मा भोग्दैछ। निवर्तमान सांसद जयकुमार राईको टिकट खोसेर जसपाका नेतचा अशोक राईलाई दिने एमालेको निर्णयको विरोधमा एमाले नेताहरु नै उभिएका छन्। धरानका पूर्व मेयर मनोजकुमार मेयाङ्बोले बागी उम्मेद्वारी दिएका छन्। सत्ता गठबन्धनले सुनसरी १ बाट माओवादी उम्मेद्वार मुक्साहाङ मेयाङ्बोलाई अघि सारेको छ।
सुनसरी २ मा सत्ता गठबन्धनबाट काँग्रेसका सिताराम मेहता उम्मेद्वार बन्दा एमालेबाट प्रदेश १ का पूर्व मुख्यमन्त्री भीम आचार्य चुनावी मैदानमा छन्। १० बुँदेबाट टिकट पाउने थोरै भाग्यमानीमा आचार्य पनि दरिएका छन्।
सुनसरी ३ मा यसअघि झिनो मतान्तरले एमालेकी भगवती चौधरीलाई हराएका काँग्रेस नेता विजयकुमार गच्छदारको प्रतिष्पर्धा फेरि पनि भगवतीसँगै हुनेभएको छ। ललिता निवास प्रकरणमा सफाई पाइनसकेका गच्छदारले यसअघिको कार्यकाल निलम्बनमा बिताउनु परेको थियो।
सुनसरी ४ बाट सञ्चारममन्त्री ज्ञानेन्द्र बहादुर कार्की पुनः चुनावी मैदानमा छन्। अघिल्लो चुनावमा वाम गठबन्धनलाई हराएका उनलाई यसपटक एमालेका जगदिस कुसियतले चुनौती दिने भएका छन्। कुसियत यसअघि प्रदेश १ मा साढे तीन वर्ष मन्त्री थिए।
राप्रपा त्यागेर काँग्रेस प्रवेश गरेका सूर्यबहादुर थापा पुत्र सुनिल थापाले धनकुटामा एमाले नेता राजेन्द्र राईको चुनौती छिचोल्नु पर्नेछ। राई २०७४ मा का पनि विजेता हुन्। यहाँ माओवादी नेता हेमराज भण्डारीले स्वतन्त्र उम्मेद्वारी दिएका छन्। यसले सत्ता गठबन्धनमा चुनौती ल्याउने अनुमान छ।
तेह्रथुममा काँग्रेस नेतृ सीता गुरुङ र एमालेका डा. विजय सुब्बा प्रतिष्पर्धी हुनेछन्। यसअघि एमालेबाट जितेर हाल समाजवादीमा रहेका स्वास्थ्यमन्त्री भवानी खापुङ ब्याक हुँदा तेह्रथुम काँग्रेसले पाएको हो।
संखुवासभामा २०७४ कै विजेता एमालेका राजेन्द्र गौतमको प्रतिष्पर्धा काँग्रेसका दीपक खड्कासँग हुनेछ। सोलुखुम्बुमा काँग्रेस नेथता बलबहादुर केसीको प्रतिष्पर्धा एमालेका मानबीर राईसँग हुनेछ।
अघिल्लो चुनावमा आमनेसामने भएका काँग्रेसका रामहरि खतिवडा र एमालेका यज्ञराज सुनुवार फेरि एकपटक प्रतिष्पर्धाको मैदानमा भेटिने भएका छन्। २०७४ मा सुनुवारले खतिवडालाई हराएका थिए।
खोटाङमा अघिल्लो चुनावमा विशाल भट्टराई संघको चुनाव लड्दा वाम गठबन्धनबाट माओवादी उम्मेद्वार रामकुमार राई प्रदेशमा उम्मेद्वार थिए। दुवैले सफलता पाएको त्यो चुनावपछि भट्टराई एमाले सचेतक भए भने राई अहिले प्रदेश १ मा मन्त्री छन्। यसपटक भने यी दुई प्रतिष्पर्धी हुने भएका छन्। सत्ता गठबन्धनबाट राईले भट्टराईलाई चुनौती दिनेछन्।
२०७४ को चुनावमा भोजपुरमा एकै प्यानलबाट प्रतिष्पर्धामा थिए प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राई र माओवादी सांसद सुदन किराँती। किरााती संघमा उठ्दा राई प्रदेशमा थिए। यसपटक सत्ता गठबन्धनबाट किराँती र एमालेबाट शेरधन राई दुवै संघका प्रतिष्पर्धी बनेका छन्।उदयपुरको क्षेत्र नम्बर १ मा २०७४ कै प्रतिष्पर्धा दोहोरिने भएको छ। काँग्रेसका डा. नारायण खड्का र एमालेकी मन्जु चौधरी फेरि चुनावी प्रतिष्पर्धामा देखिने भएका हुन्। परराष्ट्र मन्त्री खड्काले यसअघि चौधरीलाई नै हराएका थिए।
उदयपुर २ मा गठबन्धनबाट समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले एमालेका अम्बरबहादुर रायामाझीको सामना गर्नेछन्। यो क्षेत्रमा यसअघि माओवादीका सुरेश राईले जितेका थिए ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments