•  १० मंसिर २०८१, सोमबार
  •  11:50:51 PM

उम्मेदवारी दर्ता गराउँदै भगवती चौधरीले भनिन्–‘सुनसरी ३ मा विकासको ढोका खोल्न मेरो उम्मेदवारी’

- आश्विन २४, २०७९ मा प्रकाशित



इटहरी । सुनसरी क्षेत्र नं. ३ बाट नेकपा एमालेकी प्रभावशाली नेतृ भगबती चौधरीले उम्मेदवारी दर्ता गराएकी छिन् । आज अपरान्ह ३ बजे निर्वाचन अधिकृतको कार्यालय दुहवीमा चौधरीले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउँदै आफ्नो उम्मेदवारी समग्र जनताको आर्थिक विकासका लागि भएको बताइन् । उनले सुनसरी क्षेत्र नं. ३ मा विकास र समृद्धीको ढोका खोल्न आफ्नो उम्मेदवारी रहेको जिकीर गरिन् ।

विगतमा निर्वाचन जितेर गएकाहरुले आफ्नो क्षेत्रको विकास र जनताका सवालमा सिन्को भाँच्न नसकेको दावी गर्दै मंसिर ४ गतेपछि सुनसरी क्षेत्र नं. ३ मा नयाँ सुर्योदय हुने बताइन् । प्रदेश सभा उम्मेदवारद्वय रोहित कार्की तथा रामदेव यादव, बर्जु, गढी र दुहवी तथा इटहरीका नेता कार्यकर्तासहित उम्मेदवारी दिन पुगेकी नेतृ चौधरीले भनिन्–‘मेरो उम्मेदवारी यहाँका जनताको आर्थिक समृद्धि, विकास र जनजिविकाका सवालमा हो । यो क्षेत्रमा विकास र समृद्धिको ढोका खोल्न हो ।’  चाैधरीले नेकपा एमालेकाे टीमले जित हासिल गरे ३० वर्षमा हुन नसकेकाे विकासकाे काम ५ वर्षमा गरेर देखाउने घाेषणा गरिन् ।

सुनसरीलाई विकासको राजधानी बनाउने प्रण लिएको बताउँदै जनतालाई आत्मनिर्भरता तर्फ डोहोर्याउनु आफ्नो लक्ष्य रहेको भन्दै चौधरीले निर्यातमुखी कृषि प्रणाली, युवा स्वरोजगार, प्राविधिक शिक्षा, महिला सशक्तिकरण जस्ता क्षेत्रमा काम गर्ने बताइन् । यस्तै उनले सुनसरी ३ का पर्यटकीय क्षेत्रको विकास, भौतिक पूर्वाधार निर्माण, संरक्षण गरी कृषि र पर्यटनबाटै जनताको जिवनशैली बदल्न योजना बनाएको जिकीर गरिन् । ‘जवसम्म कृषिमा हामी आत्मनिर्भर हुँदैनौं, जवसम्म हाम्रो उत्पादन अन्तराष्ट्रिय बजारमा पुग्न सक्दैन तबसम्म हामी समृद्धिको यात्रामा जान सक्दैनौं ।’

विगतका दुईवटा निर्वाचन आफुले जितेर पनि हारेको स्मरण गर्दै यसपल्ट सुनसरीका ८० प्रतिशत मतदाता परिवर्तनको पक्षमा उभिएकाले आफ्नो जित सुनिश्चित भएको पनि उनले दावी गरिन् । नेतृ चौधरीले जनादेशको राजनीति स्थापित गर्नकै लागि भएपनि नेकपा एमालेलाई मत दिनुपर्ने बताइन् । स्थायी राजनीति, योजनाबद्ध विकास निर्माण, निर्यातमुखी कृषि, गाउँगाउँमा प्राविधिक शिक्षा र रोजगारी भए देश निर्माण गर्न कुनै समस्या नरहेको पनि स्पष्ट पारिन् ।

नेतृ चौधरी यसअघि २०७० सालको संविधान सभा निर्वाचन र ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा समेत प्रतिष्पर्धी थिइन् । उक्त २ वटै निर्वाचनमा विजयकुमार गच्छदारसँग कडा प्रतिष्पर्धा गरेकी चौधरी योपल्ट सुनसरी ३ मा लालझण्डा फरहराउने लक्ष्यका साथ चुनाबी मैदानमा उत्रिएकी छिन् ।

गएको स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा नेकपा एमालेले बर्जु र गढी गाउँपालिकामा ऐतिहासिक जित हासिल गरेको छ । इटहरी उपमहानगरपालिकामा उपमेयर जितेको छ । दुहवी नगरपालिकामा पनि विगतका निर्वाचनमा भन्दा नेकपा एमालेले आफ्नो जनमत बढाएकोले मंसिर ४ गते हुने निर्वाचनमा चौधरी र प्रदेशका दुई उम्मेदवारले जित हासिल गर्ने दावी छ ।  


Comments

सम्बन्धित खवर