•  १० मंसिर २०८१, सोमबार
  •  11:09:49 PM

प्रचण्डका लागी बाबुराम गोरखा २ छाड्न तयार

- आश्विन २०, २०७९ मा प्रकाशित



काठमाडाैं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बाबुराम भट्टराई र माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गोरखा २ बाट चुनाव लड्न आग्रह गरेका छन् ।उनीहरूको आग्रह पछि प्रचण्ड चितवन छाडेर गोरखा २ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्ने मनस्थिति बनाएको उनी निकट स्रोतले जनाएको छ ।

भट्टराई २०७४ मा गोरखा २ बाट निर्वाचित सांसद हुन् भने श्रेष्ठ सोही क्षेत्रबाट भट्टराईसँग पराजित भएपछि अहिले राष्ट्रिय सभाको सदस्य छन्। भट्टराई र श्रेष्ठबिच प्रतिस्पर्धा रहेको गोरखा २ मा उनीहरू दुवैले प्रस्ताव गरेपछि प्रचण्डका लागि निर्णय गर्न सहज भएको छ। तर प्रचण्डले अन्तिम निर्णय लिइसकेका छैनन्।

‘बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले नै गोरखाबाट चुनाव लड्न अध्यक्षलाई प्रस्ताव गर्नु भएको छ, गोरखाका साथीहरूको पनि माग छ,’ प्रचण्ड निकट माओवादीका एक नेताले भने, ‘जाने मनस्थिति भए पनि अध्यक्षले निर्णय गरिसक्नु भएको छैन।’

चितवनका माओवादी नेताहरूले भने प्रचण्डलाई चितवन नछाड्न आग्रह गरेको उनले बताए।सत्ता गठबन्धनमा काँग्रेसभित्रको विवादले गर्दा शेखर कोइराला पक्षको पकड रहेको चितवनमा जोखिम हुने देखेर प्रचण्डले विकल्प खोज्नु परे गोरखा जाने मनस्थिति बनाइरहेकै थिए। काँग्रेसमा समानुपातिकको सूचीमा देखिएको विवाद साम्य भए पनि प्रत्यक्ष उम्मेदवारको विवाद कायम छ।

माओवादीका अर्का एक नेताका अनुसार प्रचण्डले गोरखा जाने मनस्थिति बनाएपछि नै त्यस क्षेत्रबाट २०७४ मा चुनाव जितेका बाबुराम भट्टराईले यस पटक उम्मेदवार नबन्ने घोषणा गरेका हुन्।

‘अध्यक्ष प्रचण्ड गोरखा जाने भन्नुहुन्छ, एक दुई दिनमा घोषणा होला,’ माओवादीका ती नेताले भने, ‘हामीले रोल्पा–रुकुम गए पनि हुन्छ भनेका हौँ, तर उहाँले गोरखा नै जाने मनस्थिति बनाउनु भएको छ।’

माओवादीकै चुनाव चिन्ह र एउटै घोषणा पत्र लिएर चुनावमा जान लागेको नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले सोमबार बिहान मात्र आफू यस पटक प्रतिनिधि सभाको चुनावमा उम्मेदवार नबन्ने घोषणा गरेका थिए। भट्टराईको घोषणासँगै माओवादीको प्रभाव क्षेत्र गोरखाबाट को उम्मेदवार हुन्छ त भन्ने चासो बढेको छ। तर आफ्नो घोषणासँगै भट्टराईले गोरखाबाट प्रचण्ड चुनाव लड्ने सङ्केत पनि गरेका छन्।

‘आगामी २०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा म उम्मेदवार नबन्ने सबैलाई विनम्र जानकारी गराउन चाहन्छु,’ भट्टराई ले भनेका छन्, ‘म सबै गोरखाली दिदीबहिनी दाजुभाइहरूलाई विश्वास दिलाउन चाहन्छु– मेरो ठाउँमा तपाईँहरूले अझै सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउनुहुनेछ र गोरखाको विकासको गतिले अझै तीव्रता पाउनेछ। म त्यहाँ साथमा हुनेछु।’

Comments

सम्बन्धित खवर