•  १० मंसिर २०८१, सोमबार
  •  10:30:23 PM

हुलाकी राजमार्ग : नामै मात्रकाे लाइफलाइन : सुविधा छैन सास्ती मात्रै : भत्काए मात्र बनाएनन !

- श्रावण २६, २०७९ मा प्रकाशित



इटहरी । तराई–मधेशको ‘लाइफलाइन’ मानिने हुलाकी राजमार्गको काम कछुवा गतिमा भएकै कारण मोरङका हजारौं सर्वसाधारण सास्ती खेप्न बाध्य छन् । समयमा काम नहुँदा सर्वसाधारणले दुःख पाएर हैरानी सहनु परेको छ ।निर्माण थालिएको तीन वर्ष बित्न लाग्दा सडक भत्काउनेभन्दा अन्य कुनै काम हुन सकेको छैन ।

ठेक्का सम्झौता गरेर निर्माण कम्पनीले तीन वर्षमा बाटो मात्रै भत्काएको छ । ‘बर्खामा हिलोले घरबाट बाहिर निस्कन सकिँदैन,’ रतुवामाईका स्थानीयबासी बच्चुलाल सिंहले भने ‘हिउँदमा धुलो घरभित्र पसेर धुलो र भात बराबरी खानु परेको छ ।’

सुविधा दिने आशा गरिएकै सडकले सास्ती दिएपछि सडक आसपास बसोबास गर्ने जनता आक्रोसितछन । यही मुद्दाकै कारण उनीहरुले चुनाव नै बहिस्कार गर्ने सम्मको चेतावनी दिन थालेका छन् । ‘नेताहरू चुनाव सुरु भएपछि मात्रै बाटो बनाउँछु भन्दै गाउँमा आउँछन् । यसपटकको चुनावमा भने कसैलाई पनि भोट दिँदैनौं । घर अगाडि जहिले पिच हुन्छ अनि मात्रै भोट दिने निर्णयमा पुगेका छौं’ बच्चुलालले भने ।

हुलाकी राजमार्ग अन्तरगत मोरङमा ९९.५ किलोमिटर सडक निर्माणाधीन छ । ९९.५ किलोमिटर मध्ये सात खण्ड गरेर ठेक्का लगाइएको थियो । ४४ किलोमिटरको रतुवा–केशलिया सडक, ३० किलोमिटरको गान्धी मनमोहन मार्ग, २२ किलोमिटरको कानेपोखरी–रंगेली सडक र ३.५ किलोमिटरको विराटनगर–केशलिया सडक रहेका छन् । यसमध्ये कानेपोखरी रंगेली सडककोे काम केही भएको छ । भारतीय ठेकेदार कम्पनीले यो सडके निर्माणको काम गरिरहेको छ ।
हुलाकी राजमार्ग विस्तारमा ठेकेदार कम्पनीले आफै मापदण्ड बनाएर काम गर्ने गरेका छन् । कानेपोखरी रंगेली खण्ड भारतीय कम्पनीले बनाएको थियो । उसले सडक निर्माणको काम नै नसकी सम्झौतामा नभएको काम गरेर ठेकेदार कम्पनी भाग्न खोजेको थियो । सम्झौतामा नभएको सडकमा रेलिङ लगाउने काम गरेर काम सकेको भन्दै हिँड्न खोजेको हुलाकी राजमार्ग योजना कार्यालयका इन्जिनियर विजयकुमार थापाले बताए ।

रतुवा–केशलिया सडक खण्डमा गजुरमुखी मोतिदान जेभी, कालिका मैनाचुली वेदान्सी जेभी र श्रेष्ठ कन्स्ट्रक्सनले काम गरिरहेका छन् । यसैगरी गान्धी मनमोहन मार्गमा कान्छाराम कन्स्ट्रक्सन तथा विराटनगर केशलिया रोड सडक खण्डमा देव एन्ड सायर भूमिले ठेक्का पाएका थिए । त्यसमध्ये महानगरभित्र भने कुनै काम भएको छैन । ठेकेदारले अरूलाई दोष देखाउँदै उम्कने गरेको इन्जिनियर थापाको भनाइ छ । ३.१९ किलोमिटर सडक निर्माणको सम्झौता २०७८ माघ २ गते भएको थियो ।

त्यसयता हुलाकी सडक निर्माणका नाममा एक चपरी माटोसमेत कसैले नफालेको स्थानीयको भनाइ छ । अस्पताल चोकदेखि बरगाछीको गणेश चोकसम्मको सडक खण्ड भने ठेक्का नै लागेको छैन ।

मोरङको रतुवा–केशलिया सडक खण्ड अन्तर्गत रतुवामाईदेखि झुँगी टोलसम्मको १६.५ किलोमिटर सडक खण्डको निर्माण सम्झौता भएको अढाई वर्ष बितेको छ । २०७६ कात्तिक २४ मा सम्झौता भएको सो सडक २०७९ कात्तिक २३ सम्म सक्नुपर्ने सम्झौतामा उल्लेख छ । तर, हाल सो सडकको भौतिक प्रगति २० प्रतिशत मात्र छ ।

७९ करोड ११ लाख ३५ हजारमा सम्झौता गरिएको थियो । कोरोना तथा महँगीको कारण देखाउँदै ठेकेदारले काम नगरेको हुलाकी राजमार्ग योजना कार्यालयले जनाएको छ । यसैगरी रतुवा–केशलिया सडक खण्डको बेतौनादेखि कटहरीको नयाँ बजारसम्मको ११.९ किलोमिटर सडक खण्डको अवस्था कहालीलाग्दो छ ।

२०७६ कात्तिक २४ मा सम्झौता भएको सडकको भौतिक प्रगति २० प्रतिशत मात्रै छ । चालु आर्थिक वर्षमा सक्नुपर्ने सडक ७८ करोडको लागतमा निर्माण सम्झौता भएकोमा १४ करोड भुक्तानी भइसकेको छ ।

यसैगरी झुँगी टोलदेखि बेतौनासम्मको ७.६ किलोमिटर सडक खण्ड भने कालोपत्रे भइसकेको योजना प्रमुख थापाले जानकारी दिए । कटहरीदेखि विराटनगरसम्मको ६ किलोमिटरमा १५ प्रतिशत, गान्धी मनमोहन मार्ग अन्तर्गत पथरी–डाँस पुल र डाँस पुल–रंगेली सम्मको ३० किलोमिटरको ३० प्रतिशत काम भएको छ ।

सम्झौता भएको मितिले ३ वर्ष भित्रमा सडक निर्माणको काम सक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । सडक निर्माणको कामले गति नलिएपछि मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले ठेकेदारहरूलाई बोलाएर जनताको दैनिकीसँग जोडिएको विषयमा खेलाँची नगर्न निर्देशन दिएका छन् । काम चितबुझ्दो नभएपछि उनले चासो देखाएका हुन ।ठेकेदारले समयमा काम नगर्दा गाली खानु परेको स्थानीय तहका जनप्रतिनिधिको गुनासो छ । ‘निर्माणको जिम्मा पाएकाले समयमा काम गर्दैनन् हामीले गाली खानु परिरहेको छ,’ रंगेली नगरपालिकाका मेयर दिलीप अग्रवालले भने ‘संघीय सरकार मातहतको योजना भए पनि नागरिकसँग प्रत्यक्ष जोडिने भएकाले हामीसँग धेरै गुनासा आउने गरेका छन ।’तराई–मधेसका २१ जिल्लाहरू जोड्ने राष्ट्रिय गौरवको आयोजना हुलाकी सडक आयोजना आर्थिक वर्ष २०६२/६३ सालबाट सुरु भएको हो । तर, मोरङमा भने केही समय पछि मात्रै ठेक्का लागेको थियो ।

Comments

सम्बन्धित खवर