•  १० मंसिर २०८१, सोमबार
  •  5:12:39 AM

इटहरीमा गठबन्धनका हेमकर्णले लिए अग्रता ,एमालेका सुब्बा पछिपछि

- बैशाख ३१, २०७९ मा प्रकाशित



इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकामा हिजो सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी छ ।

हालसम्म एक सय मत गणना गरिएको निर्वाचन कार्यालय इटहरीले जनाएको छ । कार्यालयका अनुसार हालसम्म बाम लोकतान्त्रिक संयुक्त गठबन्धनका तर्फबाट मेयरको उम्मेदवारी दिएका नेपाली कांग्रेसका नगर सभापति हेमकर्ण पौडेलले अग्रता लिएका छन् । पौडेलले ५७ मत प्राप्त गरेका छन् । पौडेलका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार यामकुमार सुब्बाले ३९ मत प्राप्त गरेका छन् । दुवै उम्मेदवारबीच १८ मतको अन्तर रहेको छ ।

हिजो सम्पन्न मतदानमा इटहरीका २० वटै वडाका जम्मा एक लाख चार हजार ६ सय २६ मतदातामध्ये ७३ हजार सात सय ३२ जनाले मतदान गरेका थिए । यो संख्या कुल मतदाता संख्याको ७०.४७ प्रतिशत हो । अर्थात् इटहरी उपमहानगरमा ७०.४७ प्रतिशत मत खसेको छ ।

इटहरीमा मुख्यतया नेकपा एमाले र बाम लोकतान्त्रिक संयुक्त गठबन्धनबीच प्रतिस्पर्धा छ भने हिन्दू राज्य र राजसँस्थाको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट पूर्वप्रधानपञ्च रामकुमार सुब्बाका छोरा आकाश सुब्बा मेयर पदमा प्रतिस्पर्धामा रहेका छन् । राप्रपा आफैँमा ठूलो शक्ति हुन नसक्ने भएपनि ठूला दुई प्रतिस्पर्धी नेकपा एमाले र संयुक्त गठबन्धनका बीचमा कसको पल्ला भारी हुने भन्ने सवालमा भने राप्रपाको चुनावी अवस्थाले प्रभाव पार्ने जानकारहरु बताउँछन् ।

मुख्यतया राप्रपालाई जति धेरै मत प्राप्त भयो, गठबन्धनको जितको सम्भावना त्यति नै कम हुने आँकलन गरिएको छ । केही स्वतन्त्र उम्मेदवारहरुसहित इटहरीको मेयर पदमा कुल १६ जना आकांक्षीहरु प्रतिस्पर्धामा रहेका छन् । २०४७ सालयताका सबै निर्वाचन इटहरीमा एमालेले जित्दै आएको छ ।

Comments

सम्बन्धित खवर