•  २१ जेष्ठ २०८१, सोमबार
  •  3:29:26 PM

वराहक्षेत्रमा ‘स्मार्ट सिटी’ सम्भाव्यताको अध्ययन सम्पन्न

- भाद्र २१, २०८० मा प्रकाशित


सुनसरी । वराहक्षेत्र नगरपालिकाको प्रकाशपुर र महेन्द्रनगरमा उच्चस्तरीय प्राविधिक टोलीले ‘स्मार्ट सिटी’ सम्भाव्यताको स्थलगत अध्ययनको काम सम्पन्न गरेको छ । सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभाग बबरमहलबाट विज्ञ टोली खटाएर स्मार्ट सिटीको स्थलगत प्राविधिक रिपोर्ट निकालेको हो ।

विज्ञ टोलीले चार वटा स्तम्भ, ३१ वटा कम्पोनेन्ट र एक सय १७ वटा सूचकहरूको आधारमा स्मार्ट सिटीको सम्भाव्यता अध्ययन गरेको थियो । सुनसरी क्षेत्र नं.४ का सङ्घीय सांसद ज्ञानेन्द्र बहादुर कार्कीले वराहक्षेत्रको साबिकका गाविस महेन्द्रनगर र प्रकाशपुरलाई नमुनाको रूपमा स्मार्ट सिटीको योजना अघि सारेका थिए ।

सांसद कार्कीकै पहलमा ७ महिनादेखि प्राविधिक सहितको अध्ययन टोलीले वराहक्षेत्र नगरको वडा नं. ६, ७, ८, ९ र १० क्षेत्रमा स्मार्ट सिटीको लागि प्रारम्भिक अध्ययन सुरु गरेको थियो ।

विज्ञ टोलीका पूर्व सिनियर डिभिजन इन्जिनियर रबिरत्न शाक्यको नेतृत्वमा राजुमान श्रेष्ठ, अनिल मिश्र, अर्जुन खत्री र वित्तीय प्लान विज्ञ जनकराज गौतमको टिमले स्मार्ट सिटीका लागी चाहिने आवश्यक पुर्वधारहरुको स्थलगत अध्ययन गरिएको थियो । टोलीले गरेको विस्तृत सम्भाव्यता अध्ययन को प्रतिवेदनले वराहक्षेत्र नगरपालिका वडा नं ६, ७, ८, ९ र १० लाई स्मार्ट सिटी बनाउन सकिने प्रतिवेदन निकालेको वराहक्षेत्र नगर प्रमुख रमेश कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “पूर्व मन्त्री र यस क्षेत्रको सांसद ज्ञानेन्द्र बहादुर कार्कीको पहलमा स्मार्ट सिटी सम्भाव्यताको अध्ययनको काम सम्पन्न भएको छ ।”

महेन्द्रनगर र प्रकाशपुरको भौतिक, आर्थिक र सामाजिक, वातावरणीय विकासको अध्ययनबाट स्मार्ट सिटी बनाउन सकिने इन्जिनियर अर्जुन खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “सम्भाव्यता अध्ययन अनुसार वातावरणीय प्रभाव, भौगोलिक अवस्था, जनसङ्ख्या, सामाजिक, आर्थिक, शैक्षिक चेतनाको आधारबाट समेत महेन्द्रनगर र प्रकाशपुर स्मार्ट सिटी बन्न योग्य छ ।

के हो स्मार्ट सिटी ?

भौतिक संरचना, दीर्घकालीन निमार्ण, सञ्चार र बजार अत्याधुनिक भएको पूर्ण व्यवस्थित सहर स्मार्ट सिटी हो । जनतासँग प्रत्यक्ष सरोकार भएका सरकारी काम कारबाहीहरू छिटो, छरितो र पारदर्शी ढङ्गले सबैले अनुभव गर्न सक्ने गरी सूचना र प्रविधिको माध्यमबाट स्थापित भएको व्यवस्थित सहरलाई स्मार्ट सिटीका रूपमा चिनिन्छ ।

अध्ययन टोलीका विज्ञ प्राविधिक राजेन्द्रमान श्रेष्ठका अनुसार वराहक्षेत्र नगरमा गरेको अध्ययनले आर्थिक विकासको योजनामा पनि सहयोग पुर्‍याउने छ । उहाँले भन्नुभयो, “दिगो कृषि उत्पादन र धार्मिक पर्यटनको विकास, रोजगारी सृजना गरी गरिब न्यूनीकरण गर्न प्रस्तावित स्मार्ट सिटीका नागरिकको जीवनस्तर सुधार गर्न अध्ययनले सहयोग पुर्‍याउनेछ।

विज्ञ प्राविधिक टोलीले कृषि तथा पशुपालन प्रणालीको विकास, बजार व्यवस्थापन र पर्यटन प्रवर्द्धन सञ्चालनका परियोजनाहरू सञ्चालन गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित योजनाहरूमा कोल्ड स्टोर, किसान कल सेन्टर, मोबाइल एपहरू, औद्योगिक क्षेत्र, युवा खेलकुद प्रतिष्ठान, कोसी किनार कोरिडोरलाई पर्यटन हब, बहुउद्देश्यीय सिटी, विपद् व्यवस्थापन तथा उद्धार केन्द्र, भूमिको उपयोग, ऊर्जा, यातायात, जीविकोपार्जन, स्वास्थ्य, खाद्यान्न, पानी, पूर्वाधार र इकोसिस्टम योजनाहरूलाई समेटिएको छ । सहरी विकास तथा भवन निमार्ण विभागले इआरएमसी, रेस, पिकासो कन्सल्टेन्सीका विज्ञ प्राविधिकहरू स्मार्ट सिटीको सम्भाव्यता अध्ययन गर्न छनोटमा परेका थिए ।

स्मार्ट सिटी निर्माणको लागि सम्भाव्यता अध्ययनको प्रारम्भिक चरणका कामहरू सकिएका छन् । ठुलो धनराशिको परियोजना भएकाले स्मार्ट सिटी बनाउनकै लागि सम्बन्धित मन्त्रालय र विभागसँग कुरा भइरहेको क्षेत्रका सांसद ज्ञानेन्द्र बहादुर कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “आफूले निर्वाचनमा बोलेको कुरा बिस्तारै पूरा हुँदै गइरहेको छ । जनताको आर्थिक क्रियाकलापमा आत्मनिर्भर बनाउन स्मार्ट सिटीले ठुलो टेवा पु¥याउने छ ।”

सिनियर डिभिजन इन्जिनियर शाक्यको नेतृत्वको टोलीले नगरपालिका र ५ वटै वडा कार्यालयसँग सहकार्य गरेर सर्भे, सम्भाव्यता अध्ययन, वातावरणीय प्रभाव, लगायतका काम गरेको थियो । इन्जिनियरहरूको टोलीले स्मार्ट सिटीको सम्भाव्यता अध्ययन गरी पहिलो प्राथमिकता नहर चौकबाट प्रकाशपुर, राजावास, चक्रघट्टी हुँदै बाङ्गे सम्मको १५ किलो मिटरको सहरी सडकको डिपिआरको अन्तिम मस्यौदा प्रतिवेदन तयार पारेको इन्जिनियर अर्जुन खत्रीले जानकारी दिनुभयो ।

सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभाग बबरमहलबाट स्मार्ट सिटीको सम्भाव्यता अध्ययन गर्नका लागि बजेट विनियोजन गरेको र उक्त योजनाको लागि सङ्घीय सरकार अन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन इकाई विराटनगर मोरङ्गमार्फत् सम्भाव्यता अध्ययनको काम भएको वराहक्षेत्र नगरका आर्थिक विकास संयोजक तेजबहादुर गुरुङले बताउनुभयो ।

२० वर्षको लक्ष्य बनाएर चार वटा चरणमा पाँच वर्षे योजना बनाएर स्मार्ट सिटी बनाउन सकिने विज्ञ प्राविधिक रविरत्न शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रकाशपुरमा १ सय २६ र महेन्द्रनगरमा १ सय ६४ प्रोजेक्ट निर्माण गरेर काम गर्न सकिने छ ।”

सुनसरी जिल्लाको उत्तर पश्चिममा पर्ने वराहक्षेत्र स्थानीय तह पुनर्संरचना आयोगको सिफारिसमा २०७३ सालमा स्थापना भएको थियो । सुनसरीको कान्छो र भौगोलिक रूपमा कोशी प्रदेशकै ठुलो नगरपालिका हो । दुई सय २२-०९ वर्ग किमी क्षेत्रफलमा फैलिएको नगरको जनसङ्ख्या ९२ हजार रहेको छ ।गाेरखा पत्र दैनिकमा खबर छ ।

Comments

सम्बन्धित खवर