
२० वर्षमा चिन्नै नसकिनेगरी बदलियो चिनियाँ सेना
- भाद्र १, २०७९ मा प्रकाशित
अगस्ट ४ को दिउँसो चिनियाँ जनमुक्ति सेनाले हालसम्म आफूले गरेकोमध्येकै ठूलो र सबैभन्दा परिष्कृत सैन्य अभ्यास सुरु गर्यो। त्यसपछिको एक हप्ताभित्र चिनियाँ सेनाले ताइवाननजिकै दर्जनौँ क्षेप्यास्त्र प्रहार गर्यो। एक सय विमान, १० वटा विध्वंसक जहाज र सहयोगी डुंगाका साथ युद्धाभ्यास गर्यो। पण्डुब्बी जहाज र विमानवाहक युद्धपोतले पनि भूमिका खेले। अहिलेको शक्ति प्रदर्शनले १९९५–९६ को तेस्रो ताइवान संकटलाई केटाकेटीको खेलजस्तो बनाइदिएको छ। उतिबेला चीनले कयौँ महिना लगाएर चार चरणको अभ्यास गरेको थियो, जसमा एक पटकमा ६ वटाभन्दा बढी क्षेप्यास्त्र प्रहार गरिएको थिएन।
बेइजिङले पछिल्लो अभ्यास गर्नुको एउटा कारण न्यान्सी पेलोसीको ताइवान भ्रमणप्रति आफू क्रुद्ध रहेको संकेत दिनु हो। अमेरिकी प्रतिनिधि सभाकी सभामुख पेलोसी १९९७ यता सो टापु भ्रमण गर्ने सबैभन्दा उच्च पदस्थ अमेरिकी अधिकारी हुन्। उतिबेला सभामुख नै रहेका न्युज गिनग्रिच ताइवान भ्रमणमा गएका थिए। चीनले पहिले नै पेलोसी ताइवान गए कडा जवाफ दिने चेतावनी दिएको थियो।
यो सैन्य अभ्यास बेइजिङका लागि केही हदसम्म ‘जमघटमा पहिलो उपस्थिति’ जस्तो पनि हो। १९९६ मा अमेरिकाले दुई वटा विमानवाहक युद्धपोत ताइवानबाट ३२२ किलोमिटरको दुरीभित्र पठाएको थियो। त्यसपछि तेस्रो ताइवान संकट टुंगिएको थियो। यसलाई अमेरिकाले ठूलो रणनीतिक सफलताका रुपमा प्रस्तुत गर्यो। चिनियाँ नेताहरु भने आफ्नो घरेलु मामिलामा अमेरिकाको यो हस्तक्षेप देखेर क्रुद्ध भए। सोही अपमानले चिनियाँ जनमुक्ति सेनालाई विश्वकै महानमध्येको एक सशस्त्र शक्तिमा बदल्न सहयोग गर्यो।
१९९६ सँग तुलना गर्ने हो भने चिनियाँ सेनालाई अहिले निकै मुस्किलले चिन्न सकिन्छ। त्यतिबेला चीनसँग अत्यन्त ठूलो सेना थियो। करिब ४० लाख। तर, त्यो विशाल संख्या शक्तिको भन्दा पछौटेपनको चिह्न थियो। चीनका हतियार, औजार थोत्रा थिए। तालिम कमजोर थियो। चीनसँग जे थियो, त्यसलाई मुस्किलले मात्रै वायु सेना र नौसेना भन्न सकिन्थ्यो।
चिनियाँ पाइलटहरु समुद्रमाथि उड्न सक्दैनथे। न त राति वा खराब मौसममै उड्न सक्थे। १९९९ मा समेत चीनका लडाकु विमानमध्ये २ प्रतिशत मात्रै चौथो पुस्ताका थिए। मात्र ४ प्रतिशत आक्रामक पण्डुब्बीलाई आधुनिक भनेर वर्गीकरण गर्न सकिन्थ्यो। पानीमा तैरिने चीनका कुनै पनि जहाज आधुनिक थिएनन्। उसका नौसेना अलि बढाइचढाइ गरिएका बन्दरगाह रक्षकभन्दा बढी थिएन। जोसँग हवाई प्रतिरक्षा प्रणाली थिएन। जुनसुकै गस्तीमा जाँदा पनि तटको नजिकै रहनु पर्थ्यो। चीनको आणविक हतियार ठोस इन्धनका भरमा चल्थ्यो। तिनलाई अचल च्याम्बरमा राखिन्थ्यो। जसलाई अमेरिकाले एकै झड्कामा नामेट पार्न सक्थ्यो।
अहिले चीनको सेना गुणस्तर र परिमाणका हिसाबले अमेरिकाको सेनासँग तुलनायोग्य छ। उसका धेरैजसो प्लाटफर्म आधुनिक छन्। र, चीनसँग विश्वको सबैभन्दा ठूलो नौसेना छ। कुनै कुनै क्षेत्रमा त चिनियाँ सेनाको क्षमताले अमेरिकी सेनाको क्षमतालाई समेत उछिनिसकेको छ। उदाहरणका लागि, पानीजहाज निर्माण, जमिनबाट प्रहार गरिने परम्परागत ब्यालिस्टिक र क्रुज क्षेप्यास्त्र र एकीकृत हवाई प्रतिरक्षा प्रणालीमा चीन अगाडि छ। चीनसँग विश्वको तेस्रो सबैभन्दा ठूलो आणविक हतियार भण्डार छ। र, त्यसको पनि अहिले आधुनिकीकरण भइरहेको छ।
तर, सैन्य शक्तिमा यत्रो सुधारका बाबजुद चीनले बलप्रयोग गरेर ताइवानलाई लिन सक्छ कि सक्दैन, स्पष्ट छैन। चीनले १९७९ पछि कुनै युद्ध लडेको छैन। त्यतिबेला भियतनामलाई सजाय दिन भन्दै उसले गरेको आक्रमण अनावश्यक बोझिलो बनेको थियो।
ताइवानमाथि युद्धपोतमार्फत सैनिक उतारेर आक्रमण गर्न र हालैको अभ्यासमा देखिएजस्तो नाकाबन्दी लगाउन सेना, वायुसेना र नौसेनाबीच जटिल संयुक्त कारबाही आवश्यक पर्छ। त्यसका लागि त्रुटिहीन बन्दोबस्ती तथा नेतृत्व र नियन्त्रण चाहिन्छ। चिनियाँ नेता सी चिनफिङले यी क्षेत्रहरुलाई गतिलो बनाउन विशाल संगठनात्मक सुधार सुरु गरेका छन्। र, निस्सन्देह चिनियाँ सेना परिष्कृत बनेको छ। तर, युक्रेन युद्धले सीलाई तनाव दिएको हुनुपर्छ। किनभने बन्दोबस्ती र नेतृत्वमा रुसीहरु चुकेका छन्।
यही कारणले ताइवान आसपासको विशाल सैन्य अभ्यासलाई हामीले संकेतका रुपमा कम र लडाइँको पूर्वाभ्यासका रुपमा बढी बुझ्नुपर्छ। सी ताइवान मुद्दामा प्रगति चाहन्छन्। र, चिनियाँ सञ्चारमाध्यममा हुने चर्चा शान्तिपूर्ण पुनर्एकीकरणबाट सशस्त्र पुनर्एकीकरणमा बदलिँदैछ। चिनियाँ नेताहरुलाई थाहा थियो, समस्या पहिचान गर्न र आफ्नो क्षमता अर्जाप्न जनमुक्ति सेनाले विशाल, वास्तविक लडाइँजस्तो देखिने अभ्यास गर्न जरुरी छ। त्यो काम चीनले बिनाकारण अचानक गरेको भए अन्तर्राष्ट्रिय आलोचना ज्यादा हुने थियो। तर, चीनले पेलोसीको भ्रमणलाई बहानाका रुपमा प्रयोग गर्यो।
चीनले युद्धाभ्यास गर्ने मौकाको फाइदा सकेसम्म ज्यादा उठाउनेछ। उसले अर्को चरणको अभ्यास बोहाइ खाडी÷पित सागरमा हुने पनि बताइसकेको छ। र, त्यो ठूलो आकारको अभ्यास मात्र हुने छैन। अब बेइजिङको क्रियाशीलताको स्तर अघिल्लो तहमा फर्किने सम्भावना छैन। बरु, चीनले ताइवानवरिपरि आफ्नो ज्यादा गतिविधिलाई सामान्यीकरण गर्ने प्रयास गर्नसक्छ। त्यसले युद्धको सम्भावना झन् बढाउँछ। युद्धाभ्यासहरुको शृंखलाका माध्यमबाट सेना र पार्टीको नेतृत्वले आफ्नो सेना छिट्टै ताइवान कब्जा गर्न तयार रहेको आत्मविश्वास प्राप्त गर्न सक्छ।
निश्चय नै यी सबै कुरा अभ्यास र कारबाही कसरी अगाडि बढ्छ भन्नेमा निर्भर रहन्छन्। बाहिरबाट हेरेर यसको मूल्यांकन गर्न कठिन हुन्छ। पछिल्लो अभ्यासमा क्षेप्यास्त्र जहाँ खस्नुपर्ने हो, त्यहीँ खसे। कुनै दुर्घटना भएन। तर, सेनाका अलगअलग समूह एकअर्कासँग कसरी र कति राम्ररी सञ्चार गरिरहेका छन्, हामीलाई थाहा छैन। संयुक्त कारबाहीका लागि तयारी गर्न वायु सेनाका टुकडीहरुले जमिन र समुद्रमा रहेका टुकडीहरुसँग नजिकै रहेर र समन्वयमूलक ढंगले काम गर्नुपर्छ। जनमुक्ति सेनाले आपूर्ति उपलब्ध गराउने अभ्यास गर्न जरुरी छ। उदाहरणका लागि इन्धन, गोलाबारुद, चिकित्सा सामग्री फुजियानजस्ता अग्रभागका स्थानमा आपूर्ति गर्नुपर्ने हुन्छ।
खास समस्या यहीँनेर छ। यदि ताइवान आसपास चिनियाँ गतिविधि नियमित भयो भने त्यसले ताइपेइ (र, सम्भवतः सो क्षेत्रका अन्य राजधानीहरुमा पनि) मा मात्र तनाव बढाउने छैन। बरु, त्यसले वास्तविक सैन्य तयारीलाई लुकाउन मद्दत गर्नेछ। ताइवानको रक्षाको लागि अमेरिकाले आफ्नो सेना परिचालन गर्ने समय पाउनुअघि नै ताइवान कब्जामा लिन चीनले अचानक आश्चर्यमा पार्नेगरी आक्रमण गर्नुपर्ने हुन्छ।
त्यसैले यदि चीनले सैन्य परिचालन, नाकाबन्दी, आक्रमण र जहाजबाट सैनिक उतार्ने कामको नक्कल गरिरहेको छ भने उसले साँच्चैको तयारी गरेको बेला चाहिँ थाहा नहुन सक्छ। पेलोसीको भ्रमणले बेइजिङलाई चुनौतीविहीन तरिकाले आफ्नो सैन्य गतिविधिलाई नयाँ उचाइमा पुर्याउन मौका दिएको छ। र, यसले ताइवानको रक्षा गर्न अमेरिकालाई कठिनाइ थप्नेछ। सो टापुप्रति अमेरिकाको प्रतिबद्धताको कुनै पनि संकेतले त्यसलाई ठिक गर्न सक्ने छैन।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments