•  ९ चैत्र २०८१
  •  1:09:51 AM

सुन्दरहरैँचा नाबालिका बलात्कार प्रकरण : आन्दाेलनकाे भिडियाे खिचेकाे भन्दै २ युटुवर सहित ११ जना पक्राउ

- चैत्र २, २०७८ मा प्रकाशित



इटहरी । एक १८ महिने बालिकालाई बलात्कारपछि हत्या गरेको विरोधमा सर्वसाधारणले चक्काजाम गरेको भिडियो खिच्ने दुई युट्युवरसहित ११ जना पक्राउ परेका छन् ।

सर्वसाधारणले मोरङको सुन्दरहरैंचाको गछियामा मंगलबार पूर्वपश्चिम राजमार्गमा २ घण्टा चक्काजाम गरेका थिए । चक्काजामका क्रममा सञ्चारकर्मी सम्झना राईसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाको नाम पनि प्रहरीले सार्वजनिक गरेको छैन ।

मोरङको सुन्दरहरैचा नगरपालिका-७ गणेशपुरकी १८ महिने नाबालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका दुई युवालाई पक्राउ गरिसकेको छ । बालिकाको हत्या आरोपमा सुन्दरहरैचा ७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

त्यहाँका सर्वसाधारणले बालिकाका परिवारलाई क्षतिपूर्ति र पक्राउ परेका दोषीलाई हदैसम्मको कारबाहीको माग गर्दै चक्काजाम गरेका थिए । सो क्रममा ३ वटा बसमा आगजनी गरेको प्रहरीको आरोप छ । पक्राउ परेकी सञ्चारकर्मी राईले भने आफूले भिडियो खिचिरहेको र आन्दोलनमा सहभागी पनि नभएको बताइन् । पक्राउ परेकी राई मोरङको उर्लाबारीबाट सञ्चालित पूर्वी कमाण्ड अनलाइनमा काम गर्छिन् ।

प्रहरीले उनी पनि आन्दोलनमा सहभागी भएको दाबी गरेको छ । मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीले पक्राउ परेकाविरुद्ध मुद्दा चलाउने तयारी गरेको बताए । ‘अभद्र व्यवहार’ मा मुद्दाको तयारी गरिरहेको उनको भनाइ छ । भिडियो खिचेकै आधारमा सञ्चारकर्मीलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रताविरुद्ध भएको प्रेस सेन्टर मोरङ उर्लाबारी शाखाका अध्यक्ष सरोज बस्नेतले बताए । पूर्वी कमाण्ड मिडियाका अध्यक्ष समेत रहेका बस्नेतले सञ्चारकर्मी राईलाई तत्काल छोड्नुपर्ने बताए ।

Comments

सम्बन्धित खवर