•  ९ चैत्र २०८१
  •  8:13:46 AM

सर्लाहीमा जेठाजुले गरे बुहारीको हत्या

- बैशाख १४, २०८२ मा प्रकाशित



सर्लाही । सर्लाहीको सीमावर्ती क्षेत्र विष्णु गाउँपालिकामा आइतबार एक महिलाको आफ्नै जेठाजुले धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । विष्णु गाउँपालिका–३, मधुवनगोठका ४० वर्षीय साहेब पासवानले बुहारी ३६ वर्षीया रेनुदेवी पासवानको हत्या गरेका हुन् ।

साहेबले बुहारी रेनुदेवीलाई धारिलो हतियार (फर्सा) प्रयोग गरेर हत्या गरेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा जेठाजु साहेब पासवानले आइतबार बिहान बुहारी रेनुदेवीसँग खाना मागेको र सोही समयमा विवाद भएपछि एक्कासी फर्सा निकालेर प्रहार गरेको पाइएको प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहले जानकारी दिए ।

आपसी विवाद भएपछि साहेबकी श्रीमती र छोराछोरी भारतस्थित माइती घर गएका बेला भोको रहेका साहेबले आइतबार बिहान खाना माग्न जाँदा बुहारीसँग विवाद भएको प्रहरीले जनाएको छ । घटना लगत्तै प्रहरीले साहेब पासवानलाई नियन्त्रणमा लिएको छ । साहेबलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको छ । मृतक रेनुदेवीको शव पोस्टमोर्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ । रेनुदेवीका श्रीमान गजेन्द्र पासवान मजदरीका लागि भारतमा छन् ।

Comments

सम्बन्धित खवर