•  ९ चैत्र २०८१
  •  4:24:42 PM

संसदीय समितिमा अर्थमन्त्रीकाे जवाफ : तेलकाे मुल्य सरकारले बढाएकाे हाे र ? हामी आँफै चिन्तित छौँ !

- असार ६, २०७९ मा प्रकाशित



काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले कृषिप्रधान देशले वार्षिक साढे तीन खर्बको खाद्यवस्तु आयात गरेर देश बनाउन नसकिने बताएका छन् । सोमवार प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । 

उनले देशमा साढे ३ खर्बको खाद्यवस्तु आयात गरेर देश बनाउन नसकिने भएकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम देशको उत्पादनलाई प्राथमिकता दिने गरेर आएको बताए । 

मन्त्री शर्माले सरकारी कार्यालयहरूमा विदेशी आयातित वस्तुभन्दा देशभित्र नै उत्पादन भएको वस्तु प्रयोग गर्नुपर्ने नीति आएको बताए । उनले सरकारी कार्यालयहरूका विभिन्न बैठकहरूमा नेपाली बिस्कुट नै प्रयोग गर्न आग्रह गरे । 

‘सरकारी कार्यालयहरूमा नेपाली बिस्कुटमात्रै खाने नीति बनाएका छौँ, विदेशी बिस्कुटहरू खाइरहेका हुन्छौँ,’ उनले भने, ‘अबदेखि नेपाली बिस्कुट नै खानुपर्ने भन्ने कुरा गरिएको छ । वार्षिक साढे ३ खर्बको खाद्यवस्तु नेपाल आइरहेको छ ।’

अर्थमन्त्री शर्माले पछिल्लो समय पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि सरकारले नभई अन्तर्राष्ट्रिय मूल्य श्रृंखलामा आएको समस्या र अन्तर्राष्ट्रियस्तरमा भएका युद्धहरूको प्रभावका कारण भएको बताए । सरकारले आगामी आर्थिक वर्षको आर्थिक नीतिले आगामी वर्ष धानमा आत्मनिर्भर हुनको लागि बीउ, प्रविधि र रकम छुट्याएको उनको भनाइ छ । 

‘तेलको मूल्य बढ्यो भन्नेछ । यो हामीले बढाएको हो र ? हामी त चिन्तित छौँ । डलर घटिरहेको छ । हाम्रो पैसा बाहिर गइरहेको छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय मूल्य श्रृंखलामा आएको समस्या अन्तर्राष्ट्रियस्तरमा भएका युद्धहरूको प्रभावका कारण मूल्य बढिरहेको छ ।’ 

Comments

सम्बन्धित खवर