
शिक्षा पाउन उमेरले छेक्छ र ? कक्षा ५ ,उमेर ६२
- असार २४, २०७९ मा प्रकाशित
दाङ । कक्षामा वरिपरि नाति-नातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन् । कपाल सेताम्य भएका ती व्यक्ति कक्षा कहिल्यै छुटाउँदैनन् । अरु विद्यार्थी सरह उनको पनि पढाइमै ध्यान केन्द्रित हुन्छ ।
दाङको बबई गाउँपालिका-५ स्थित जनज्योति आधारभूत विद्यालयको कक्षा ५ मा दिनहुँ देखिने दृष्य हो यो । उक्त दृष्यले हिजोआज सबैलाई आश्चार्यचकित बनाएको छ । यसले सबैलाई खुशी तुल्याएको छ । बबई गाउँपालिका-५ सिमगैराका ६१ वर्षीय रिमबहादुर खड्का कक्षा ५ मा अध्ययन गर्दैछन् । पढ्न उमेरले छेक्दैन भन्ने चरितार्थ उनले सत्य सावित गरेका छन् ।
रिमबहादुर सानोमा विद्यालय जान पाएनन् । विद्यालय जाने उमेरमा उनलाई घरको कामले फुर्सद भएन । उनले विद्यालयको अनुभूति गर्न पाएनन् । कक्षा १ पनि नपढेका रिमबहादुर यस वर्ष सोझै कक्षा ५ मा भर्ना भएर नियमित विद्यालय गइरहेका छन् । ‘मैले सानोमा पढ्न पाइनँ, म घरको जेठो छोरा हुँ, घरकै काममा व्यस्त हुनुपर्यो’, उनले भने, ‘बाल्यकालमा पढ्न नपाए पनि विद्यालय जाने ठूलो धोको थियो, त्यही धोको पूरा गर्न अहिले पढ्न थालेको छु ।’
आर्थिक अवस्था कमजोर भएकाले बाल्यकालमा विद्यालय गएर पढ्न नपाएको रिमबहादुर बताउँछन् । ‘अरु भाइहरूलाई पढाउनमै व्यस्त रहे, घरको कामबाट कहिल्यै छुटकारा पाइएन’, उनले विगत सुनाए । रिमबहादुर यही असार १४ गते विद्यालय भर्ना भएका हुन् । त्यसयता उनी नियमितरुपमा विद्यालय गइरहेका छन् । उनले बिहान र बेलुकाको समयमा घरको काम भ्याउँछन् । उनले दिउँसोको समयको सदुपयोग गरिरहेका छन् ।
‘घरमा धेरै काम हुन्छ, तर त्यो सबै बिहानै सक्छु’, रिमबहादुरले भने, ‘दिउँसोको सम्पूणर् समय पढाइलाई दिने गरेको छु ।’ आर्थिक अवस्था कमजोर भएकै कारण उनी रोजगारको सिलसिलामा भारत जानुपर्ने अवस्था आयो । भारतमा बिहान र रातिको समय व्यवस्थापन गरी वणर्माला सिकेपछि नाम लेख्न सक्ने भएको उनी बताउँछन् । रिमबहादुरको अब कक्षा १० सम्म पढ्ने धोको छ । ‘उमेरले पढ्न छेक्दो रहेनछ’, रिमबहादुरले भने, ‘त्यसैले नाति-नातिना उमेरका बाबुनानीहरूसँग पढ्न थालेको हुँ ।’
रिमबहादुर बुढेसकालमा विद्यालय गएर पढ्न थालेकामा ६१ वर्षीया श्रीमती लालमती खड्का पनि खुशी छिन् । श्रीमानको पढ्ने इच्छामा सहयोग गर्ने उनले बताइन् । ‘पढ्ने इच्छा पहिल्यैदेखिको हो, यसमा म सहयोग गर्छु, दिउँसो घरको काम म आफै गर्छु’, लालमतीले भनिन् । श्रीमान् विद्यालय गएको देख्दा आफूलाई पनि पढ्ने इच्छा जागेको उनको भनाइ छ ।
रिमबहादुर कक्षामा छँदा बालबालिकाले हो-हल्ला पनि कम गर्ने गरेको विद्यालयका शिक्षकहरू बताउँछन् । प्रधानाध्यापक कुम्भकर्ण खत्रीका अनुसार रिमबहादुर पढ्न आउँदा शुरुमा सबैलाई अनौठो लागेको थियो । ‘यो उमेरमा पढ्न आउँदा हामी सबै खुशी छौं’, उनले भने । शिक्षक-शिक्षिकालाई पनि शुरु-शुरुमा रिमबहादुर आउँदा पढाउन अप्ठ्यारो लागेको खत्री बताउँछन् । अहिले विस्तारै सबै बानी परेका छन् । ‘रिमबहादुर नातामा दाइ पर्नुहुन्छ, त्यसैले शुरुमा अप्ठ्यारो लाग्यो’, प्रधानाध्यापक खत्रीले भन्ने, ‘अहिले बानी परेका छौँ, अप्ठ्यारो लाग्न छोडेको छ ।’

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments