
व्यवसायी भन्छन्- मखमली मालाको माग बढ्यो, मूल्य घट्यो
- कार्तिक २२, २०८० मा प्रकाशित

भक्तपुर । मखमली फूलको मालाको माग अत्यधिक भए पनि मूल्य नपाएकोमा किसानहरूले गुनासो गरेका छन्।भक्तपुरको सूर्यविनायक नगरपालिका, गुण्डुका किसानले नेपालीको दोस्रो ठूलो पर्व तिहारको लागि आवश्यक मखमली फूलको माला उन्न र बिक्री गर्न थालेका हुन्।यो वर्षको तिहार ढिला भएकाले मखमली फूल सुक्न लागेको उनीहरूको गुनासो छ।
एक हप्ता अगाडिदेखि माला उन्न र बिक्री थालेको व्यवसायीहरूले बताए।गुण्डुका व्यवसायीले भाइटीकाको दिन दाजुभाइलाई लगाउने मखमली फूलको मालाको उचित मूल्य नपाएको बताएका छन्।गुण्डुकी राधा थापाले विगतका वर्षमा जस्तो मखमली फूल र मालाको मूल्य पाउन नसकेको बताइन्। मेहनतअनुसार मूल्य भने जस्तो नभएको उनको गुनासो छ।व्यापार राम्रो भए पनि विगतका वर्षमा प्रतिमाला ३५ रुपैयाँसम्म बिक्री भएकोमा यस वर्ष २० देखि २३ रुपैयाँभन्दा बढी मूल्य पाउन नसकेको उनी बताउँछिन्।
फूल उत्पादन गरेर माला बेच्दा लगानी मात्रै उठ्ने स्थिति रहेको थापाले बताइन्।विगतका वर्षमा आठ आना जग्गामा मखमली खेती गर्दा वार्षिक ५० हजारभन्दा बढी आम्दानी गरेकोमा यस वर्ष बजार मूल्य कम हुँदा आम्दानी घट्ने अवस्था रहेको उनी बताउँछिन्।‘मेहनत भएअनुसार मूल्य अलि बढी पाउन पाए हुने जस्तो लाग्छ तर पाउन सकिएको छैन। व्यापार राम्रो छ तर गत वर्ष प्रतिमाला ३५ रुपैयाँसम्म बिक्री भए पनि यो वर्ष २० देखि २३ रुपैयाँभन्दा बढी पाउन सकिएको छैन। मालाको माग धेरै भए पनि मूल्य पाउन सकिएन। उत्पादनको मेहनतअनुसार मूल्य आउन छोडेको छ,’ थापा भन्छिन्।
थापा थप्छिन्, ‘मैले आठ आना जग्गामा मखमली खेती गरेको थिएँ। यो वर्ष पानीको कारणले फूल राम्रो भएन, मूल्य पनि कम छ। यसकारण गत वर्षको तुलनामा यो वर्ष आम्दानी कम हुने देखिएको छ। यद्यपि, ५० हजारसम्म आम्दानी हुने आशा छ।’गुण्डुकै अर्की पुष्प व्यवसायी निर्मला बस्नेतको पनि थापाको जस्तै गुनासो छ। उनी पनि मखमली मालाको माग राम्रो भएको तर विगतका वर्षहरूमा जस्तो मूल्य नपाएको बताउँछिन्।विगतका वर्षमा प्रतिमाला ३० देखि ३५ रुपैयाँसम्ममा बिक्री भएको तर यो वर्ष २३ रुपैयाँसम्म मात्रै प्रतिमालाको मूल्य पाएको बस्नेतले बताइन्।
उनले गत वर्ष १ लाख रुपैयाँको माला बिक्री गरेकी थिइन्। तर यो वर्ष ६० हजारमा सीमित हुने बस्नेतको अनुमान छ।‘विगतका वर्षहरूमा जस्तो मूल्य नपाउँदा ४० प्रतिशत आम्दानी कम हुने देखिएको छ,’ बस्नेत भन्छिन्।आफूहरूले उत्पादन गरेको मखमलीको माला किन्न व्यापारीहरू घरमै आउने गरेको उनी बताउँछिन्। बस्नेतका अनुसार उनले उत्पादन गरेका मालाहरू बढीजसो विदेश निर्यात हुने गरेका छन्।बस्नेतको कथन छ, ‘हामीले मखमलीको माला बजारमा लगेर बेच्नुपर्दैन, घरमा नै व्यापारीहरू आउने गर्छन्। सबैको मखमली एक ठाउँबाट माला बनाएर बिक्री गर्ने गरेका छौं। अहिलेसम्म बिक्री भएका माला सबै नेपाली बजारको लागि भन्दा पनि विदेश निर्यातको लागि गएको छ।’
त्यस्तै, गुण्डुकै अर्की पुष्प व्यवसायी मैया बस्नेतले यस वर्ष असोज महिनामा बढी पानी परेकाले फूल ढलेर उत्पादन कम भएको बताइन्।उत्पादन कम भए पनि बजार मूल्य बढ्न नसकेको उनको गुनासो छ। विगतका वर्षमा प्रतिमाला ५० रुपैयाँसम्म मूल्य पाए पनि यो वर्ष २३ रुपैयाँभन्दा बढी पाउन नसकेको उनले बताइन्।‘मखमली उत्पादनका बेला पानी बढी परेकाले हौसिएर फुल्ने समयमा ढल्यो। उत्पादन विगतको भन्दा कम छ। उत्पादन कम भएको बेलामा अझ यो वर्ष मूल्य पनि २३ रुपैयाँभन्दा माथि गएको छैन’ मैया भन्छिन्, ‘गतवर्ष प्रतिमाला ५० रुपैयाँसम्म बिक्री भएको थियो। यस वर्ष भने २३ रुपैयाँभन्दा माथि जान सकेको छैन। किसानको मेहनत अनुसार ३० रुपैयाँसम्म मूल्य पाउनुपर्ने हो तर त्यस्तो हुन सकेको छैन।’
आम्दानीको हिसाबले खेतमा मखमली फूल लगाउँदा धान लगाउनुभन्दा फाइदा हुने मैया बताउँछिन्। मखमलीको माला बनाउँदा अर्मपर्म गरेर काम गर्ने वा एउटा माला उनेको ५ रुपैयाँसम्म तिरेर काम लगाउने गरेको उनले बताइन्।एक रोपनी जग्गामा मखमली फूलखेती गर्दा वार्षिक ५० हजारभन्दा बढी आम्दानी हुने गरेको मैया बताउँछिन्।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
Comments