
भोजपुरका किसानको रोजाइमा चिराइतो खेती
- भाद्र २३, २०८० मा प्रकाशित
भोजपुर । चिराइतो खेती भोजपुरका किसानहरुको रोजाइमा परेको छ । बहुउपयोगी जडीबुटी चिराइतोबाट मकै, आलुलगायतको तुलनामा खेती गर्न सहज हुने र आम्दानी पनि मनग्य हुने भएपछि किसानको रोजाइमा परेको हो ।
चिराइतो बिक्रीबाट वार्षिकरुपमा रू दशदेखि १५ लाखसम्म आम्दानी हुने गरेको टेम्केमैयुङ–१ तिम्माका स्थानीय कृषक देवन्द्र राउतले बताए । यस वर्ष आफ्नो बारीमा करिब ६० मन (४० केजीको एक मन) चिराइतो उत्पादन हुने उनको भनाइ थियो । राउतले करिब ६२ रोपनी क्षेत्रमा चिराइतोको व्यावसायिक खेती गरिरहेको बताए । ‘हाम्रो ठाउँका धेरै किसानले व्यावसायिक रुपमा चिराइतोको खेती गर्दै आएका छन्’, उनले भने, ‘अन्य बालीको तुलनामा यसबाट आम्दानी पनि मनग्य हुने र खेती गर्न पनि सजिलो छ ।’
उनले यस वर्ष करिब ६० मन उत्पादन गर्ने लक्ष्य लिएको जनाउँदै बजार मूल्य राम्रो भएमा रू १० देखि १५ लाखसम्म आम्दानी हुने जानकारी दिए । यहाँ प्रतिकिसानले २० देखि ५० मन उत्पादन गर्ने राउतले बताए । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका ७० बढी कृषकले चिराइतोको व्यावसायिक खेती गर्दै आएका छन् । लेकाली भेग तथा चिस्यान क्षेत्र भएकाले यहाँ चिराइतोको राम्रो उत्पादन हुँदै आएको किसानको भनाइ छ । चिराइतोबाट आलु, मकैभन्दा राम्रो आम्दानी हुने उनीहरु बताउँछन् ।
विगतका वर्षका तुलनामा पछिल्लो समय चिराइतोले राम्रो मूल्य पाउने गरेको स्थानीय कृषक प्रेमबहादुर बस्नेतले बताए । ‘यसबाट राम्रो आम्दानी लिँदै आएको छु’, उनले भने, ‘बर्सेनि मूल्यमा वृद्धि भइरहेको अवस्था छ । त्यही भएर पनि धेरै किसान यसको व्यावसायिक खेतीमा लागेका छन् ।’
चिराइतो बारीमा छरेको २६ देखि २७ महिनासम्ममा सङ्कलन गर्न योग्य हुने बस्नेतको भनाइ थियो । आलु, मकैबाट रू ५० हजार आम्दानी गरेकामा सोही बारीमा चिराइतो खेती गर्दा रू पाँचदेखि सात लाखसम्म आम्दानी लिन सकिने उनले जानकारी दिए । यस खेतीका लागि तालिम तथा आवश्यक ज्ञान पाएमा अझ प्रभावकारी हुने बस्नेतको भनाइ थियो । ‘हामीले पराम्परागत रुपमा खेती गरिरहेका छौँ’, उनले भने, ‘यस खेतीसम्बन्धी तालिम तथा प्राविधिक सहयोगमात्र पाएमा पनि अझ सहज हुने थियो ।’
कृषकले चिराइतोलाई भदौ, असोज र कात्तिकमा सङ्कलन गर्दछन् । पछिल्लो समय यसको बजार मूल्य बढ्दै गएपछि धेरै किसान खेतीप्रति आकर्षित भएका कृषक गुणराज राउतले बताए । ‘विगत लामो समयबाट चिराइतोको व्यावसायिक खेती गरिरहेको छु’, उनले भने, ‘मेहनत गरेर खेती गर्न सकेमा राम्रो आम्दानी लिन सकिन्छ । एक पटक सङ्कलन गरेर बिक्री गरेपछि सानो बिरुवा उत्पादन योग्य हुन समय लाग्छ । त्यही भएर बर्सेनि आम्दानी लिन फरक-फरक जमिनमा खेती गर्नुपर्ने हुन्छ ।’
ज्वरो, दम, रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, सुन्निएको, पोलेको लगायत रोगका लागि औषधिका रुपमा चिराइतो प्रयोग गर्न सकिने कृषक राउतको भनाइ छ । उनका अनुसार यसको पात, डाँठ, जरा लगायत सम्पूर्ण भाग प्रयोग गर्न सकिन्छ ।
यहाँको चिराइतो भारत, चीन र बङ्गलादेशमा निर्यात हुने गरेको व्यवसायी बताउँछन् । जिल्लाको टेम्केमैयुङ गाउँपालिका–५ मझौले, तिम्मा, षडानन्द नगरपालिकाको किमालुङ, दोभाने, हेलौंछा, साम्पाङ, खार्तम्छा, आमचोक गाउँपालिकाको युँ, वासिङथर्पु, पौवादुङमा गाउँपालिकाको श्यामशिलालगायत ठाँउ चिराइतोका लागि मुख्य पकेट क्षेत्रका रुपमा रहेका छन् । एक हजार पाँच सय मिटरदेखि दुई हजार पाँच सय मिटरसम्मको उचाइको हावापानीमा चिराइतो राम्रोसँग फस्टाउने भएकाले यहाँका माथिल्लो भेगका अधिकांश मानिसले यसको खेती गरिरहेका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
Comments