
बोडेको कमल पोखरीमा ५० वर्षपछि कमलको फूल फुलेपछि…
- बैशाख २५, २०७९ मा प्रकाशित
भक्तपुर: ‘वरिपरि लामोलामो झाडी, बीचमा दबदबे हिलो, त्यसमाथि घाँसैघाँस, डिलमा जथाभावी फालिएको फोहोर’, तीन वर्ष अघिसम्म त्यही दृश्य देखिने मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित ऐतिहासिक पलिस्वाँ पुखुः अर्थात् कमल पोखरीमा अचेल कमलको फूल फक्रेको देखिन्छ।
व्यक्तिका नाममा दर्ता भई पटकपटक किनबेच भएको ऐतिहासिक यो पोखरीले आफ्नो स्वरूप लेला भन्ने कल्पना पनि नगरेका यहाँका बासिन्दा यतिखेर खुसी छन्।
आफ्नै टोलको यस पोखरीमा झण्डै ५० वर्षपछि कमलको फूल फुलेको देख्दा मनै फुरुङ्ग भएको स्थानीयवासी शकुन्तला श्रेष्ठ बताउँछिन्।
आज बिहान पोखरीको बारमा समातेर कमलको फूल हेर्दै गरेकी उनी ‘दबदबे चौरमा परिणत भएको यो पोखरी फेरि सुन्दर होला, यसरी कमलको फूल फुल्ला, डुङ्गा चढ्न पाइएला भनेर कल्पना पनि गरेको थिइन तर अहिले पोखरीले पुनर्जीवन पाएर फूल फुलेको देख्दा खुसी लागेको छ’ भन्छिन्।
‘गरे के सकिँदैन रैछ र? स्थानीयवासीको साथ र जनप्रतिनिधिको चाहना भए असम्भव पनि सम्भव हुँदोरहेछ, भन्ने नमूना बन्यो यो पोखरी, पोखरी नजिकैकोे कुमारी मन्दिर र पार्कले बोडेको पहिचान नै फेर्यो, हामी खुसी छौं’, बोडेका वीरेन्द्र जयना भन्छन्।
तत्कालीन बोडे गाउँ पञ्चायत–६ कित्ता नं १ को यस पोखरीले ओगटेको १५ रोपनी नौ आना सार्वजनिक जग्गा २०४२ साल असार ३१ गते कान्छी पोडेनीको नाममा दर्ता भई २०५१ साल माघ २२ गते मनाङका ग्ल्याल्पो गुरुङ, तेञ्जी शेर्पेनी, कर्सी जद्योना गुरुङसहित विभिन्न व्यक्तिका नाममा किनबेच भएपछि पोखरी सम्याएर घरेडी बनाउन डोजर आएपछि बल्ल स्थानीयवासीले पोखरी बिक्री भएको चाल पाए र विरोधमा उत्रिए।
त्यसपछि यहाँका बासिन्दाले सङ्घर्ष समिति नै गठन गरेर नगरपालिका सहितको सहयोगमा गरिएको उजुरीमा भक्तपुर जिल्ला अदालतले २०७५ असार १९ गते उक्त कमलपोखरी सार्वजनिक सम्पत्ति भएको आदेश दिएपछि पोखरीको संरक्षणमा नगरपालिका जुट्यो।
उक्त आदेशको भोलिपल्टै मध्यपुरथिमि नगरपालिकाले डोजरको सहायतमा पोखरीमा सफा गरी रु ७५ लाखको लगतमा संरक्षणका कार्य गरिएको पूर्वनगरप्रमुख मदनसुन्दर श्रेष्ठ बताउँछन्।
उनी भन्छन्, ‘म सानो छँदा कमलको फूल फुल्ने र पौडी खेल्ने यो पोखरी बाबुबाजेको पालादेखि नै सार्वजनिक रहेको मलाई थाहा थियो, व्यक्तिका नाममा गयो भनेपछि चुप लागेर बस्न मनले मानेन, म नगरप्रमुख भएर आएपछि पोखरी जोगाउने दायित्व पनि थपियो, स्थानीयवासीसँग काँधमा काँध मिलाएर अदालत गइयो, उच्च अदालत र सर्वोच्च अदालतबाट पनि हाम्रै पक्षमा फैसला आएपछि यो पोखरीको संरक्षणमा जुटियो।’
नगरपालिकाले पोखरीलाई ऐतिहासिक स्वरूपमै पुनःनिर्माण गरेको छ।
पोखरीमा दाँची अप्पा, माँअप्पा र इँटाको प्रयोग गरेर कलात्मक शैलीमा पुनःनिर्माण गरी वरिपरि बार लगाइएको छ।
पोखरीमा रोपिएको कमलको बिरूवाबाट फूल फुल्न थालेको छ भने नगरपालिकाले आन्तरिक पर्यटनको विकासका लागि रु पाँच लाखको लागतमा दुईवटा डुङ्गा सञ्चालनमा ल्याउनाका साथै दुई हजार माछाको भुरा पनि छाडेको छ।
स्थानीयवासी जयना भन्छन्, ‘हामी बच्चा हुँदा पोखरीमा कमल फुल्थ्यो, पछि पुरियो, फोहर भयो, वास्तै भएन, अहिले राम्रो पोखरी बन्यो, यहाँ त अचेल बिहान मर्निङ वाक, साँझ इभिनिङवाक गर्ने मान्छे धेरै हुन्छन्, पोखरीमा अहिले कमलको फूल फुल्यो यो ठाउँ हेर्दा हेर्दै आन्तरिक पर्यटनको गन्तव्य बन्यो।’
पोखरीको वरिपरि निर्माण भएको १० फिट चौडाइको ढलानसहितको फुटपाथ त्यसमाथि पोखरीको डिलमा तेलिया इँटा छापेर खाली खुट्टाले पनि हिँड्न मिल्ने बनाइएको नगरप्रमुख श्रेष्ठ बताउँछन्।
यही पोखरीमा फुलेको कमलको फूल यहीँको लायकू दरबारमा दसैंमा तलेजुलाई चढाउने, कमलको पातमा तलेजुको पुजारीले भोज खानु पर्ने, साउनमा हुने नीलबाराही नाचमा यहीँकोे फूल चढाएर जात्रा चलाउने र जिब्रो छड्ने जात्रा चलाउने ५० वर्ष अगाडिको परम्परालाई नगरपालिकाले यसै वर्षदेखि सुरू गरेको कार्यले संस्कृति र परम्पराको जगेर्ना हुनाका साथै विगतमा छुटेका सबै धार्मिक परम्परा अब सञ्चालन गर्न सकिने उनको भनाइ छ।
पोखरी नजिकै नगरपालिकाले पुनःनिर्माण गरेको कुमारी मन्दिर र कुमारी पार्कले यहाँ आन्तरिक पर्यटनको मुख्य गन्तव्य बन्न पुगेको छ। -रासस

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments