
प्रयोगमा आएन भोजपुरको १४ करोड लागतको सुविधा सम्पन्न रङ्गशाला
- श्रावण ३१, २०८० मा प्रकाशित

भोजपुर । तत्कालीन जिल्ला विकास समितिले रङ्गशाला निर्माणका लागि करिब १६ वर्ष पहिला जग्गा खरिद गर्यो, तर सो जग्गा केही वर्ष अघिसम्म गौचरण जस्तै थियो । अहिले सो जग्गामा सुविधा सम्पन्न रङ्गशाला निर्माण भएको भए पनि प्रयोगमा आउन सकेको छैन ।
सदरमुकाममा रहेको स्थानीय टुँडिखेलको सानो मैदानमा जिल्लामा हुने सानादेखि ठूला प्रतियोगिता सञ्चालन भइरहेको अवस्थामा सुविधा सम्पन्न रङ्गशाला बनेपछि सहजता होला भनिए पनि रङ्गशालाको स्वामित्व कसले लिएर सञ्चालन गर्ने विषय टुङ्गो नलाग्दा समस्या देखिएको भोजपुर जिल्ला फुटबल सङ्घका महासचिव सफल किरातले बताए ।
‘प्रदेश सरकारको लगानीमा बनेको रङ्गशाला प्रयोगमा ल्याउने विषयमा टुङ्गो लाग्न सकेन, यस विषयमा सर्वपक्षीय बैठकको जरुरी देखिएको छ,’ उनले भने । प्रदेश सरकारको १४ करोड पाँच लाखको लागतमा निर्माण भएको रङ्गशालाको निर्माण कार्य भइसकेको छ । रायमाझी मार्सेली निर्माण जेभीले रङ्गशाला निर्माण गरेको हो ।
करिब पाँच हजार दर्शक अट्न सक्ने क्षमताको अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माणले भोजपुरवासी तथा खेलाडीमा उत्साह जगाएको भए पनि त्यो निराशामा परिणत भएको स्थानीयवासी सुवेन्द्र महतले बताए । सदरमुकाममा रहेको स्थानीय टुँडिखेलमा राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रियस्तरका फुटबल प्रतियोगिता भइरहेको अवस्थामा रङ्गशालाको निर्माणले खेलमैदानको समस्या दीर्घकालीन रूपमा समाधान भएको भए पनि सञ्चालनका विषयमा कसैले पहल नगर्दा समस्या देखिएको महतको भनाइ छ ।
‘रङ्गशाला निर्माणका लागि कृषियोग्य जमिन मासिएको छ, राज्यको करोडौँ लगानीमा निर्माण भएको अन्तर्राष्ट्रियस्तरको रङ्गशाला लथालिङ्ग अवस्थामा छाड्नु कतिको जायज हुन्छ ?’ उनले भने, ‘निर्माण सम्पन्न पश्चात पनि अस्तव्यस्त नै छाड्ने भए खेतीयोग्य जग्गा बिगारेर निर्माण गर्नुको औचित्य के छ ?’
रङ्गशालाको अभावमा प्रतियोगिता सञ्चालनमा समस्या देखिएको अवस्थामा रङ्गशाला निर्माण भएको उल्लेख गर्दै खेल अभियन्ता विनम श्रेष्ठले भने, ‘खेल मैदान सानो हुँदा ११ जना खेलाडीले खेल्न पाउने फुटबल पनि नौ जनालाई मात्र खेलाउनुपर्ने अवस्था छ, करोडौँका लागतमा बनेको रङ्गाशाला प्रयोगमा ल्याउने विषयमा पनि कसैको चासो छैन ।’
स्थानीय युवा तुफान किरातले भने, ‘जुन प्रयोजनका लागि जग्गा खरिद भएको हो, त्यसमा रङ्गशाला निर्माण पनि भएको छ, अब सञ्चालनको वातावरण कसले मिलाउने हो ?’ विभिन्न निकायमा रङ्गशाला प्रयोगका विषयमा कुरा उठाउँदा सुनुवाइ नभएको किरातको गुनासो छ ।
उचित भौतिक संरचनाको निर्माण कार्य नहुँदा यहाँका खेलाडी सदरमुकाममा रहेको स्थानीय टुँडिखेलको सानो मैदानमा प्रतियोगिता खेल्न बाध्य बनेका थिए । नेपाललाई चिनाउने अल्ट्रा धाविका मीरा राई, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सामेल भएका ब्याडमिन्टन खेलाडी विकास श्रेष्ठ, नक्सलदेवी तामाङ, सरादेवी तामाङलगायतका खेलाडी भोजपुरका नै भएको अवस्थामा जिल्लामा व्यवस्थित रङ्गशालाको भने अभाव थियो ।
भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले प्रदेश र स्थानीय सरकारको सहयोगमा खेलकुदका संरचना जिल्लामा निर्माण हुने क्रम बढेको बताए । सुवालले बनेका संरचना सञ्चालनमा आउने र बन्न बाँकी संरचना सक्ने अभियानमा सरोकारवालाको ध्यान जान जरुरी देखिएको बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments