•  ९ चैत्र २०८१
  •  11:58:31 PM

प्रधानमन्त्रीको प्रश्न ः प्रहरीमाथि गाडी लिएर किच्न जानेका हातमा शासन सत्ता पुगे के गर्लान् ?

- बैशाख १८, २०८२ मा प्रकाशित



इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको आन्दोलनबाट फालिसकिएको निरंकुश राजतन्त्रलाई फर्काउने सपना नदेख्न चेतावनी दिएका छन्। १३६ औं अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) द्वारा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै ओलीले अराजक र असहिष्णु प्रवृत्ति बोक्नेका विरुद्ध सचेत खबरदारी गर्न मजदुर वर्गलाई आग्रह गरे । नेकपा एमाले का अध्यक्ष समेत रहेका ओलीले मुलुकमा राजनीतिक परिवर्तन र सचेतनाका लागि योगदान दिने मजदुर वर्गलाई एकताबद्ध भएर सही र महान उद्देश्य प्राप्तिमा गतिशील हुन आग्रह गरे ।

फालिएको राजतन्त्र पक्षधरहरूको अराजकता गत चैत १५ को तीनकुने–हिंसात्मक र दानवीय घटनामा स्पष्ट देखिएको बताउँदै उनले उनीहरूको प्रशंसा नगर्ने कलाकारको फिल्म नहेर्ने जस्ता असहिष्णु व्यवहार गर्ने राजतन्त्रवादीहरुले अनेक कुचेष्टा र हर्कत गरेको बताए । ‘शान्ति कायम गर्न उभिएका प्रहरीमाथि गाडी लिएर किच्न जान्छन् भने त्यस्ताहरूको हातमा शासन सत्ता पुगेमा के गर्लान् भन्ने प्रश्न उब्जिएको छ’, उनले भने ।

प्रतिगमनकारीले नेपाली सभ्यता र संस्कृतिमाथि नै चुनौती दिएका ओलीले बताए । ‘हामीले त्यस्तालाई जवाफ दिन सक्नु पर्छ, यसमा श्रमजीवी विगतमाझै वर्ग सचेत हुनुपर्छ’, उनले भने । प्रधानमन्त्री ओलीले समृद्धि नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा लिएर सुनौलो भविष्य बोकेर नेपाली जनता अघि बढेको बताए । ‘हामीले रगत पसिना बगाएर ल्याएको लोकतान्त्रिक प्रणालीको रक्षा हामीले गर्छौ, हाम्रो झण्डा ख्याल ख्यालमा रातो भएको होइन, मजदुरहरूले शान्तिपूर्ण र न्यायपूर्ण समाजका लागि लाग्दा गोली खाएर ढल्दाखेरि सेतो झण्डामा रगत लतपतिएकाले रातो भएको हो, बलिदानबाट निस्किएका झण्डाहरू राता हुन्छन्, हाम्रो देशको झण्डामा पनि रातो रङ्ग रहेको छ, हामी संघर्षको गाथा झल्काउने झण्डा छोड्ने छैनौं’, उनले भने ।

Comments

सम्बन्धित खवर