•  ९ चैत्र २०८१
  •  7:29:30 PM

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै देशभर प्रदर्शन र चक्काजाम

- असार ६, २०७९ मा प्रकाशित



काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा अकल्पनीय रुपमा अत्याधिक मूल्य बढाएपछि देशभर विरोध प्रर्दशन र चक्का जाम हुन थालेको छ ।पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गर्दै नेकपा एमाले निकट अनेरास्ववियुले बुटवलमा प्रदर्शन गरेको छ । देशका अरु विभिन्न स्थानमा समेत विरोध गरिरहेको छ ।

बुटवल बहुमुखी क्याम्पस अगाडि सडकमा जम्मा भएका विद्यार्थीहरूले मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै सडकमा टायर बालेर केहीबेर सवारी साधनलाई चल्न नदिएको देखिएको छ ।प्रदर्शनमा बोल्दै अनेरास्ववियु रुपन्देहीका अध्यक्ष शेषकान्त पोखरेलले सरकारले नागरिकलाई राहत दिनुको साटो निरन्तर मूल्य वृद्धि गरेर जनताको ढाड सेकेको आरोप लगाउनुभयो ।

मूल्य वृद्धि तत्काल फिर्ता नभए जिल्लाव्यापी आन्दोलन चर्काउने पोखरेलले चेतावनी दिनुभयो ।यसैगरी इन्धनको मूल्य वृद्धिको विरोधमा विराटनगरमा चक्काजाम भएको छ । नेपाल अआयल निगमले इन्धनको मुल्य वृद्धि गरेपछि विराटनगरमा यातायात व्यावसायी र मजदुरले सोमबार बिहान चक्काजाम गरेका हुन् ।

मूल्य वृद्धिको विरोधमा सार्वजनिक सवारी यातायात मजदुर र सञ्चालकले कोसी राजमार्गको विराटनगरको राजवशी चोकमा सडक खण्डमा सवारी साधन राखेर यातायात अवरुद्ध गरेका थिए ।आइतबार रातिबाट निगमले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको छ ।मूल्य वृद्धि भएपछि एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ भने एक लिटर डिजेल र मट्टितेलको मूल्य १९२ रुपैयाँ पुगेको छ ।

Comments

सम्बन्धित खवर