•  ९ चैत्र २०८१
  •  4:40:14 PM

पाकिस्तानमा भारतको हवाइ आक्रमणपछि अहिलेसम्म के–के भयो ?

- बैशाख २४, २०८२ मा प्रकाशित



एजेन्सी । भारतले बुधबार बिहान पौने २ बजेतिर पाकिस्तानको नियन्त्रित क्षेत्र कश्मीरमा ९ वटा आतंकवादी क्षेत्रलाई निशाना बनाउँदै गरिएको आक्रमणपछि भारत–पाकिस्तान तनाव चुलिएको छ। केद्र सरकारले एक विज्ञप्ति जारी गर्दै ९ ठाउँमा एअर स्ट्राइक गरेको जनाएको छ । भारतीय सञ्चारमाध्यमले १०० भन्दा बढी मारिएको दाबी गरेका छन्।

यता अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले कम्तिमा ३५ जना मारिएको बताएका छन् । तर पाकिस्तानले भने दुई बालबालिकासहित ७ जना मारिएको दाबी गरेको छ । अहिलेसम्म कति मानवीय क्षति भयो भन्ने आधिकारिक रुपमा कतै पुष्टि भइसकेको छैन । सन् १९७१ मा पाकिस्तानमा गरिएको आक्रमणपछि पहिलो पटक भारतका तीनै तहका सुरक्षा निकायले संयुक्त रुपमा काम गरिरहेका छन् । जसमा भारतीय सेना, नेभी र एअरफोर्स रहेका छन् । चीफ अफ डिफेन्स स्टाफ अनिल चौहानले दिल्लीमा रक्षामन्त्री राजनाथ सिंहसँग भेट गरेका छन् । भेटमा सुरक्षाका विषयमा चर्चा भएको थियो ।

इस्लामाबादमा सबै स्कुल–कलेज बन्द

पाकिस्तानको राजधानी इस्लामाबादमा सबै सरकारी र निजी स्कुल र कलेज बन्द गरिएको छ । यद्दपि पाकिस्तान सरकारले सबै निर्धारित परीक्षा तय भएकै समयमा हुने बताएको छ। यस्तै पाकिस्तानी सेनाले एलओसी र अन्तर्राष्ट्रिय सीमामा लगातार फायरिङ गरिरहेको छ । जम्मू–कश्मीरको केही क्षेत्रमा पाकिस्तानी सेनाको आक्रमणमा परी ६ जना भारतीय नागरिकको मृत्यु भएको छ। २४ जना घाइते भएका छन् । यता पञ्जाबको सीमामा बीएसएफ हाई अलर्टमा रहेको छ । पाकिस्तानका तर्फबाट कुनै पनि गतिविधि भए त्यसको जवाफ दिन बीएसएफ तयार रहेको बताइएको छ ।

पाकिस्तानको एयर स्पेस बन्द

भारत पाकिस्तानबीचको ताजा अवस्थालाई मध्यनजर गर्दै पाकिस्तानले एयर स्पेसमा कुनै पनि फ्लाइट उडेका छैनन् । यता भारतले पनि बढ्दो तनावलाई मध्यनजर गर्दै पाकिस्तानको सीमासँग जोडिएका राज्यमा उडान रद्द गरेको छ। भारतले सात राज्यका ११ एयरपोट्र्समा फ्लाइट्स अप्रेशन बन्द गरेको छ । श्रीनगर,जम्मू, लेह, चन्डीगढ, बीकानेर, जोधपुर, राजकोट, धर्मशाला, अमृतसर, भुज र जामनगरमा सबै उडान रोकिएका छन् । यी विमानस्थल पाकिस्तानको सीमाबाट नजिक पर्छन् ।

Comments

सम्बन्धित खवर