
धनकुटा संग जाेडिने २ सडक ममर्त तिब्र : माटोको ग्राभेल गर्न २९ करोड ७२ लाख
- चैत्र १३, २०७९ मा प्रकाशित
धनकुटा । अहिले धनकुटा नगरपालिका र सहिदभूमि गाउँपालिका धनकुटा जोड्ने दुई सडक कालोपत्रका लागि धमाधम काम भइरहेको छ ।आगामी विसं २०८० सम्पन्न हुने गरी धनकुटा नगरपालिका–१ को व्यापारिक केन्द्र हिले बजार र नगरको वडा नं ९ स्थित टमाटर पकेट क्षेत्र बेलहाराबाट पालिका जोड्ने सडक कालोपत्रको चरणमा छ ।
दुई सडकमध्ये हिले–थलथले–छिँडी हुँदै पालिकाको थलथले बजारसम्म १० किमी कोशी प्रदेश सरकारको प्रादेशिक विशेष सडक आयोजनाअन्तर्गत २९ करोड ७२ लाख ९८ हजारको लागतमा निर्माण हुन लागेको हो ।कोशी प्रदेश सरकारकै रु २१ करोड ७३ लाखको सहयोगमा गुठीटार–बेलहारा–छिँडीसम्म पालिका, हिले बजार र पाख्रिवास नगरपालिका जोड्ने साढे ११ किमी सडक कालोपत्र हुन लागेको छ । दुवै सडकमा हाल ग्राभेल बिच्छ्याएर कालोपत्र गर्ने चरणमा छन् ।
हिले–थलथले सडकका किनारभरि ग्राभेल गरिएको ढुङ्गा देखिन्छन् तर त्यही सडकसँग जोडिने नगरपालिका–९ को बेलहाराको गुठिटार–छिँडी सडकमा ग्राभेल गरिएको सडकको किनारभरि माटो मात्र देखिन्छ । टमाटरको पकेट क्षेत्रलाई लक्षित गरेर कोशी राजमार्गको धरान–धनकुटा सडकखण्डको गुठीटारबाट बेलहारा गाउँमा रमण दिव्य ज्योति जेभी काठमाडाँैले निर्माण गर्न लागेको यस सडकको गुणस्तरप्रति वडावासीले असन्तुष्टि जनाएका छन् ।
चार वर्षअघि डेनमार्क सरकारको उन्नति परियोजनाअन्तर्गत ग्राभेल भएको उक्त सडकलाई टालटुल गरेर कालोपत्र गर्न लागिएको बाघखोर गाउँका ४१ वर्षीय प्रेम खत्रीले गुनासो गरे । ‘यही सडक मिलाउँदा भित्ता खन्दा निस्किेको माटो ल्याएर पुरेका छन्’, खत्रीले भने ।
बेलहारा गाउँकाका ५५ वर्षीया शान्तिप्रसाद कोइरालाले आफूलाई कालोपत्रका बारेमा ज्ञान नभए पनि यहाँ सडक छेउको ढुङ्गाभन्दा धेरै माटो भएको ग्राभेल लगाइएको जानकारी दिए । लामो समय सडकको काम गरेको अनुभव भएको बताउने भोजपुर घर भई हाल चार वर्षदेखि बेलहारा गाउँमा ठेक्कामा टमाटर खेती गर्दै आएका शेरबहादुर राईले स्थानीयवासीले खबरदारी नगर्दा यस्तो लापारबाही भएको जानकारी दिए ।
‘मैले आफ्नो जीवनमा यस्तो ग्राभेल देखेको छैन । यहीँको माटो ल्याएर पुरेको छ’, राईले भने, ‘यो दुई दिनको लागि मात्र हो ।’ यस विषयलाई लिएर गएको फागुन दोस्रो हप्ता स्थानीयवासी, सम्बन्धित निर्माण कम्पनी र योजना अनुगमन कार्यालयका प्रतिनिधिसँग वार्ता गरेर काम गर्ने सहमति भएको वडाध्यक्ष टङ्क रोइलाले जानकारी दिए ।
आफ्नो पालिकासँग प्रत्यक्ष सरोकार राख्ने तथा सो सडक हुँदै पालिकावासी सुनसरी मोरङमा कृषि उपज बेच्न जाने सडक भएकाले सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले पनि ग्राभेल ठीक नभएको प्रतिक्रिया दिए । ‘हाम्रोमा पनि कालोपत्रका लागि ग्राभेल भइरहेको छ’, उनले भने, ‘यहीँबाट थाहा भइहाल्छ नि त्यहाँको ग्राभेल ठीक छैन भनेर ।’
उनले यस विषयमा सरोकारवालासँग पटक–पटक खबरदारी गरिरहेको जानकारी दिए । आयोजनाको अनुगमन पाएको पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत फिल्ड कार्यालय धनकुटाका सव–इञ्जिनीयर बद्री ढुङ्गानाले केही ठाउँमा कमजोरी देखिए पनि ग्राभेल मापदण्डअनुसार नै भएको जानकारी दिए ।
‘कमजोरी देखिएको ग्राभेल सुधार गरेर काम सक्नेछौँ’, उनले भने । सडक निर्माणका लागि प्रयोग हुने सामग्री तथा सम्झौताको कागजात माग गर्दा ढुङ्गानाले सो कागजात आफूसँग नभएको र पूर्वाधार विकास कार्यालय भोजपुरमा सम्पर्क गर्न सुझाव दिए । कार्यालयमा सम्पर्क गर्दा कार्यालयका पूर्वाधार अपरेटर राजन कोइरालाले आफूसँग आयोजनाको सम्झौता मात्र भएको र सामग्री प्रयोगसम्बन्धी सम्झौताको कागजात ढुङ्गानासँगै रहेको जानकारी दिए ।
‘त्यो कागजात बिना त कसरी फिल्डमा काम गर्न सकिन्छ हैन र ?’, कोइरालाले भने, ‘त्यो कागजात उतै छ ,मसँग भएको सम्झौताको कागज हो भने म तुरुन्त दिन्छु ।’ कागजातको जिज्ञासा र माग राख्दा कार्यालयका प्रमुख राजेश्वर महतले भने उक्त आयोजनामा प्रयोग हुने सामग्री सम्झौताको प्राविधिक कुरा विशेषज्ञको सहयोगले मात्र बुझ्न सकिने भएकाले आफू धनकुटा आएको बेला विस्तृत जानकारी उपलब्ध गराउने जानकारी दिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments