
दुइ पटक एउटै क्षेत्रबाट हारेका विश्वप्रकाश प्रतिनिधिसभा सदस्यमा बिजयी : यस्ताे उनकाे राजनीतिक यात्रा
- मंसिर ८, २०७९ मा प्रकाशित
झापा । विसं २०७० बाट संसदीय राजनीतिमा होमिनुभएका नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा यस पटक मात्रै निर्वाचित बन्न सफल हुनुभएको छ ।दुई पटकसम्म आफ्नै निर्वाचन क्षेत्रमा पराजित हुनुभएका शर्माले यस पटक भने नेकपा (एमाले)का उम्मेदवार अग्नि खरेललाई पराजित गर्दै संसदीय यात्रा तय गर्नुभएको हो ।
शर्मा विसं २०७० मा भएको निर्वाचनमा नेकपा (एमाले) नेता रविन कोइराला र २०७४ मा भएको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार राम कार्कीसँग पराजित हुनुभएको थियो ।दुई पटक पराजय बेहोरेकै क्षेत्रबाट शर्माले यस पटक जित हासिल गर्नुभएको हो । झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित शर्माले ३९ हजार छ सय २४ मत प्राप्त गर्नुभएको छ ।
उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का स्थायी कमिटीसमेत रहनुभएका खरेलले २५ हजार तीन सय ४९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत टङ्कबहादुर महतले जानकारी दिनुभयो । शर्मा र खरेलको मतान्तर १४ हजार दुई सय ७५ रहेको छ ।
शर्माको राजनीतिक यात्रा
पर्शुराम र सावित्री शर्माका कान्छा छोरा हुनुहुन्छ विश्वप्रकाश । विसं २०२७ पुस ६ गते झापाको साविक शान्तिनगर गाविसमा उहाँको जन्म भएको हो । विसं २०३७ देखि विद्यार्थी आन्दोलनमा होमिनुभएका शर्मा नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको महामन्त्री हुँदै अध्यक्षसमेत हुनुभयो । हाल उहाँ नेपाली कांग्रेसको महामन्त्री हुनुहुन्छ ।
सिर्जनशील युवा नेता शर्मा राजनीतिक विश्लेषक एवं साहित्यकारका रूपमा समेत पनि परिचित हुनुहुन्छ । शर्माले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । शर्माकी श्रीमती कविता, दुई छोरी स्वीकृति र शीर्षप्रकाश हुनुहुन्छ ।
नेपाली कांग्रेसको १३ औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बन्नुभएका शर्माले यसअघि पार्टीको केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा रहेर काम गर्नुभयो । उहाँ पार्टीको १४ औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित हुनुभएको हो ।
सामान्य परिवारमा जन्मनुभएका शर्मा धुलाबारी माविमा कक्षा ९ मा अध्ययन गर्दा १४ वर्षको उमेरमा पहिलोपटक जेल पर्नुभएको थियो । नेविसङ्घ धुलाबारीको एकाइ सभापति बनेर राजनीतिमा पाइला चाल्नुभएका शर्माले नेविसङ्घ भद्रपुर क्याम्पसको सभापति बन्दै १२ औँ महाधिवेशनबाट नेविसङ्घ झापा सभापतिको जिम्मेवारी सम्हाल्दै राजनीतिमा अघि बढ्नुभएको थियो ।
नेपाली कांग्रेसको १२ औँ महाधिवेशनमा पार्टीको झापा सभापतिमा प्रतिस्पर्धा गर्नुभएका शर्माले त्यसबेला उद्धव थापासँग २८० मतले पराजित हुनुपरेको थियो । तेह्रौँ महाधिवेशनमा समेत थापालाई सर्वसम्मत जिल्ला सभापति बनाएर आफू भने पार्टीको केन्द्रीय राजनीतिमा लाग्नुभएको थियो ।
विसं २०७० को संविधानसभा निर्वाचनमा पहिलो पटक सहभागी बन्नुभएका शर्मा त्यसबेला नेकपा (एमाले) नेता कोइरालासँग पराजित हुनुभयो । विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का कार्कीसँग पराजित हुनुभएका शर्माले यस पटक नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य खरेललाई पराजित गर्नुभएको हो । शालीन र सभ्य, तर्कपूर्ण अभिव्यक्ति र वाककलामा अब्बल शर्मा दृढ र आत्मविश्वासी नेताका रूपमा परिचित हुनुहुन्छ । सानैदेखि विद्रोही स्वभावका शर्मा बिपीका सच्चा अनुयायी हुनुहुन्छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments