
झापामा नेपाल–भारत सीमास्तम्भको मर्मत सुरू : हराएकाकाे भएन खाेजी
- मंसिर १८, २०८० मा प्रकाशित

झापा । झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल–भारत सीमानामा रहेका तीन सय १७ वटा सीमा स्तम्भ मर्मत आजदेखि सुरु भएको छ । सशस्त्र प्रहरी बलको भद्रपुरस्थित–२ गणको प्राविधिक टोलीले मेचीनगर नगरपालिका वडा–७ सतिघट्टामा रहेको स्थायी सीमा स्तम्भ (पीपी) ५५ अन्तर्गतको ९१/१ नम्बरको रेफरेन्स सीमा स्तम्भ (आरपी) बाट आज एक समारोहबीच मर्मत शुभारम्भ गरेको हो ।
मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल, सशस्त्र प्रहरी बल १ नम्बर बाहिनी मुख्यालयका बाहिनीपति अञ्जनीकुमार पोखरेल र नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख राजेशनाथ बाँस्तोलाले सीमा स्तम्भमा संयुक्त रुपमा रङरोगन गरेर सीमा स्तम्भहरुको मर्मतको उद्घाटन गरे ।
बाहिनीपति पोखरेलले कोशी प्रदेशमा पहिलोपल्ट नेपाल–भारत सीमा स्तम्भहरुको मर्मत सम्भार सुरु भएको बताए । उनले कोशी प्रदेशभर भारतसँगको चार सय ३० किलोमिटर लामो खुला सीमानामा कूल नौ सय ५७ वटा सीमा स्तम्भ रहेको र सीमा सुरक्षाका लागि एक हजार पाँच सय जनशक्ति परिचालन गरिएको जानकारी दिए ।
नेपाल र भारतको बोर्डर वर्किङ ग्रुपको सहमति अनुसार जोर अङ्कका सीमा स्तम्भको मर्मत सम्भार भारतीय पक्षले र बिजोर अङ्कका सीमा स्तम्भको मर्मत सम्भार नेपाली पक्षले गर्ने सहमति छ । भारतीय पक्षले झापा जिल्लासँग सीमाना जोडिएका जोर अङ्कका सीमा स्तम्भहरुको मर्मत सम्भार पहिल्यै गरिसकेको छ ।
झापा जिल्लामा मेचीनगरदेखि गौरीगञ्जसम्मको एक सय ४४ किलोमिटर लामो खुला सीमामा नेपाली पक्षले बिजोर अङ्क भएका तीन सय १७ वटा सीमा स्तम्भको मर्मत सम्भार गर्ने सशस्त्र प्रहरी बलको २ नं गण भद्रपुरका गणपति देबराज अर्यालले बताए । मर्मत सम्भार क्रममा भत्किएका र ढलेका स्तम्भहरुको पुनःस्थापना र सबै स्तम्भको रङगरोगन गरिने उनले बताए ।
झापासँग जोडिएको भारतीय सीमानामा कूल नौ सय ५७ वटा सीमा स्तम्भ रहेको र आज मर्मत सम्भार सुरु भएको सतिघट्टादेखि उत्तरतर्फ इलामसम्मको सीमा स्तम्भहरु भने हाल मर्मत सम्भार नगरिने उनले जानकारी दिए । उक्त क्षेत्रका कतिपय सीमा स्तम्भहरु मेची नदीको बाढीले हराएका वा पुरिएको अनुमान गरिएको छ ।
नेपाल सरकारले विशेष कार्यविधि पारित गरेर सशस्त्र प्रहरी बललाई सीमा स्तम्भहरुको सुरक्षा र मर्मत सम्भारको जिम्मेवारी दिएको छ । सतिघट्टा हुँदै दक्षिणतर्फका सबै सीमा स्तम्भहरुको मर्मत सम्भार गर्न आजैदेखि प्राविधिक टोली परिचालन गरिएको उनले बताए ।
नेपाल–भारत सीमानाको दशगजा क्षेत्र खाली गर्ने कार्य हाल समेत भइरहेको छ । झापा जिल्लामा रहेको सीमानाको ५५ स्थानमा स्थानीयद्वारा दशगजा अतिक्रमण भएको सरकारी तथ्याङ्क छ । दशगजामा स्थानीयबासीले कतिपय स्थानमा घर निर्माण गरेका छन् भने अधिकांश अतिक्रमित स्थानमा खेतीपाती छ । केही स्थानमा सडक र कुलो पनि रहेको छ ।
हालसम्ममा झापाको सीमा क्षेत्रमा ३७ स्थानको अतिक्रमण हटाएर दशगजा खाली गरिएको छ भने बाँकी १८ स्थानमा हटाउन स्थानीयबासीलाई म्याद दिइएको छ । ‘केही स्थानमा घर बनाएर बसोबास समेत गरिएको पाइएको हुँदा हटाउन म्याद दिइएको हो’, गणपति अर्यालले भने, ‘दशगजामा सीमा स्तम्भको वारी ३० फिट र पारीतर्फ ३० फिट खाली गर्नुपर्ने दुवै देशबीचको सहमति छ । हामी नेपालतर्फको खाली गराउँछौं । भारतीय पक्षले उतातिरको खाली गराउँछन् ।’
सतिघट्टामा नेपाली पक्षले सीमा स्तम्भहरुको मर्मत सम्भार शुभारम्भ गरेको कार्यक्रममा भारत पश्चिम बंगालको पानीटंकीस्थित भारतीय सीमा सुरक्षा बलको ४१ नं. बटालियनका निमित्त कमान्डर नबिनकुमार रायको समेत उपस्थिति थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments