
खाेटाङमा विपन्नलाई दिन ल्याइएको सोलार प्यानल नगर प्रमुखका भाइले आफन्तलाई बाँडेपछि…
- श्रावण १७, २०८० मा प्रकाशित

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३, च्यास्मिटारका विपन्न परिवारका लागि निःशुल्क वितरण गर्न ल्याइएको सोलार प्यानल नगर प्रमुखको भाइ रोजचन्द्र राईले आफूखुसी आफ्ना नजिकका आफन्तलाई मात्र वितरण गरेपछि आलोचना सुरु भएको छ ।नगर प्रमुख विमला राईले यही साउन ३ गते नगरपालिकाबाट आफ्नै गाडीमा हालेर वडा कार्यालय पु¥याएको २२ थान सोलार प्यानल सोही दिन उनका कान्छा भाइ रोजचन्द्रले वडाध्यक्षलाई समेत जानकारी नदिई आफ्नो टोलका आफन्तलाई मात्र वितरण गरेपछि आलोचना सुरु भएको हो ।
वडामा आउने योजनामा निर्वाचित वडाध्यक्षको अधिकारमाथि नै हस्तक्षेप गरेर नगर प्रमुखका भाइले निर्वाचित वडाध्यक्षको अपमान गरेको वडाध्यक्ष भूपालसिं राईले गुनासो गरेका छन् ।‘म च्यास्मिटारका जनताले दिएको मतले निर्वाचित भएको वडाध्यक्ष हो । वडामा हुने हरेक गतिविधि मसँग जोडिन्छ । त्यसको जस वा अपजस मैले नै लिनुपर्ने हुन्छ’, उनले भने, ‘नगर प्रमुखको भाइ भएकै आधारमा वडामा आएको योजनामा हस्तक्षेप गर्नु उचित होइन । यसले राम्रो सन्देश गएको छैन । आगामी दिनमा पनि यस्तो हर्कत दोहोरिए सहेर बस्दिनँ ।’
च्यास्मिटारको साविक नौवटै वडाका विपन्न परिवारका लागि भनेर खरिद गरिएको सोलार प्यानल नगर प्रमुख राईका भाइ रोजचन्द्रले साविकको तीन वटा वडामा मात्र आफूखुसी वितरण गरेको पाइएको छ । साविकको वडा नं ६ भाग्रामा १५, वडा नं ३ सार्पामा पाँच र वडा नं ४ दाल्फुमा दुईवटा वितरण गरेको पाइएको हो । विपन्न परिवारका लागि खरिद गरिएको सोलार प्यानल वडामा ल्याउनुअघि च्यास्मिटारका लागि ११ वटा कोटा रहेको नगरपालिकाको जिन्सी शाखाबाट जानकारी आएको समेत वडाध्यक्ष राईले बताएका छन् ।
‘विपन्न परिवारका लागि वितरण गर्न भनेर गत असारमै सोलार प्यानल खरिद गरिएको थियो । वडामा ल्याएर वितरण गर्न केही ढिला भएको थियो । सोही अवस्थामा नगर प्रमुख विमला राई ज्यूले म आफ्नै गाडीमा हालेर ल्याइदिन्छु है भन्नु भयो । मैले हुन्छ भनें’, उनले भने, ‘सोलार प्यानल लिएर नगर प्रमुख वडा कार्यालयमा आउनुअघि नै उहाँका कान्छा भाइ रोजचन्द्रलगायतका साथीहरू भेला भएर बसेका रहेछन् । गाडीबाट झार्न नै नपाई डोकोमा हालेर लान थालेपछि कुनै प्रतिक्रिया नजनाई घर फर्किएँ ।’
नगर प्रमुख राईका भाइ रोजचन्द्रले भने नगरपालिकाले उपलब्ध गराएको सोलार प्यानल आवश्यकताका आधारमा वडा कार्यालयका कर्मचारीलाई नै रोहबरमा विपन्न परिवारका लागि वितरण गरेको बताएका छन् । ‘यसअघिका कार्यक्रममा वडाध्यक्ष ज्यूबाट धेरै अनियमितता भएका छन् । हामी पनि यही वडाका नागरिक हौँ । वडामा आउने योजना हाम्रै लागि आएको हो’, उनले भने, ‘सोलार प्यानल वितरणमा प्रक्रिया मिचियो होला, यसमा मेरो कमजोरी भयो भने, स्वीकार गर्न म तयार छु, तर, पाउनुपर्ने व्यक्तिलाई उनीहरूको सबै विवरण राखेर वितरण गरिएको छ । वडाध्यक्ष ज्यूले यसअघि गर्नुभएको जस्तो अनियमितता भएको छैन ।’
जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाका विपन्न परिवारका लागि कोशी प्रदेशका तत्कालीन ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री रामकुमार राई ‘पासाङ’को पालामा सोलार प्यानल उपलब्ध गराउने गरी योजना परेको थियो ।
केन्द्रीय प्रसारण लाइनको विद्युत् नपुगेका ठाउँमा बसोबास गर्ने विपन्न परिवारका लागि २० किलोवाट क्षमताको सोलार प्यानल उपलब्ध गराएर उज्यालो दिने गरी उक्त नगरपालिकाका ११ वटै वडाका लागि योजना पारिएको हो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments