•  ९ चैत्र २०८१
  •  10:08:11 AM

कुलतमा फसेका महिलालाई नयाँ जीवन दिँदै झापाकाे ‘नयाँ गोरेटो’

- असार ३, २०७९ मा प्रकाशित



झापा । धनकुटाकी प्रमिला (नाम परिवर्तन) लागु औषध प्रयोगकर्ता हुन् । ३८ वर्षको उमेरमा साथीकै संगतले लागु औषध सेवन गर्न उनले सिकेकी थिइन् ।

प्रमिला दुई सन्तानकी आमा पनि हुन् । प्रमिलाका श्रीमान् बैदेशिक रोजगारमा छन् । श्रीमती लागुऔषधमा फसेको दिनहुँ खवर विदेश गएपछि उनले कुलतमा फसेकी श्रीमतीलाई कतै सुधार गर्न सकिन्छ की भनेर महिला सुधार गृहको खोजी गरे ।

प्रमिला ड्रग्स सेवन गर्थिन् । उनलाई आफ्नै उमेर समुहका दौतरीले ड्रग्स सेवन गर्न सिकाएका रहेछन् । ‘ ड्रग्स सेवन गर्न थालेपछि मज्जा आउँथ्यो । पीर केहीको पनि हुँदैन थियो । आनन्द लाग्थ्यो । दिनहुँको सेवनले मलाई लत बसेछ,’ उनले भनिन् ।

‘जब मलाई लत बस्यो । मलाई सिकाउँने साथीहरु संमर्कबाट बाहिरिनु भयो । मलाई ड्रग्स नभई नहुन थालेपछि फेरी उहाँहरु संग मैले संम्पर्क गरे । मैले उहाँहरुसंगै किनेर सेवन गर्न थाले, उनले पूर्वाञ्चलसंग निर्धक्क भएर भनिन् ‘ उहाँहरु त ठुलो कारोवारी र लागु औषधको व्यापारी पो हुँनुहुँदो रहेछ । मेरो जीवन त बर्बाद हुनबाट जोगियो ।’

भारतको जोगवनी, पानीट्याङकी, नेपालको राजविराज लगायतका नाका प्रयोग गरेर लागु औषध नेपाल भित्रिने गरेको उनले बताइन् । ‘मलाई सिकाउने मेरा साथीले पनि त्यहीँ नाका प्रयोग गरेर लागु औषध नेपाल भित्र्याउँथे । जसले मलाई पहिला सिकाए अनि पछि ग्राहक बनाए ।’ लोग्नेले छोरा छोरी पढाउने र घर व्यवहार चलाउने भनेर विदेशबाट पठाएको पैसा कुलतमा लागेर उढाएको उनले बताइन् ।

‘कुलतमा फसेको थाहा पाएर परिवारका सदस्यले झापाको डुडामारीमा रहेको नयाँ गोरेटो नामको महिला सुधार गृहमा पठाउनु भयो । म २ महिना देखि यहाँ बसेको छु,’ उनले भनिन् ‘ आएको दिन देखि मैले लागु औषध प्रयोग गरेको छैन । सुरुका दिनमा मलाई निक्कै कठिन भयो । त्यसपछि विस्तारै विस्तारै लागु औषधको लत हट्दै जान थाल्यो ।’


केन्द्रबाट फर्केपछि अब कुनैपनि किसिमको लागु औषध सेवन नगर्ने उनले बताएकिछन् । ‘लागु औषध सेवन गर्दा दुनियाँको केहि मतलव हुँदैन थियो । जब यसको प्रयोग छोडे । म बर्वादीबाट जोगिएको महसुस भएको छ,’ उनले भनिन् ‘नयाँ गोरेटोले मलाई नयाँ जीवन दियो ।’ सो सुधार गृहमा २० जना महिला छन् । झापा, इलाम, धनकुटा, ताप्लेजुङ, उदयपुर, सुनसरी लगायतका जिल्लाबाट लागु औषध प्रयोग कर्ता महिला सो केन्द्रमा सुधारका लागि आफन्तले ल्याएका छन् ।

एक नम्बर प्रदेशमा महिला लागु औषध प्रयोग कर्ताका लागि खोलिएको नयाँ गोरेटो पहिलो सुधार गृह हो । ‘कानुनी रुपमा सरकारले यसलाई देखेको छ ।’ चेतना नेपालका केन्द्रिय अध्यक्ष समेत रहेका लागु औषध प्रयोग कर्ताको विषयमा काम गर्ने ईन्द्रप्रसाद ओली भन्छन,‘ पारिवारिक समस्या, बेरोजगारी, संगत र धनको उन्मादले महिला कुलतमा बढी फस्न थालेका छन । अन्य जिल्लामा महिला सुधार केन्द्र नभएकाले नयाँ गोरेटोले कुलतमा फसेका महिलाको चाप धान्न धौधौ हुन थालेको छ ।’ ओली लागुऔषध दुरव्यसन नियन्त्रणका एक नम्बर प्रदेश को प्रयोगबाट बचाउन सुधार केन्द्रका एक नम्बर प्रदेशका अभियन्ता हुन् ।

नयाँ गोरेटो सुधार केन्द्रकी काउन्सिलर तारा भुजेलले पनि पछिल्ला दिनमा महिला लागु औषध प्रयोग कर्ता पुरुषको हाराहारीमा पुग्न थालेको बताउँन थालेकी छन् । उनले अल्कोहल, ड्रग्स र नषाका लागि इन्जेक्सन लगाउने महिलाको संख्या समाजमा थपिदै गएको बताएकी छन् ।

महिला सुधार केन्द्र संचालन गर्ने संचालक पनि पहिलाका लागु औषधका ‘किल्लर’ हुन् । १५ वर्ष सम्म ड्रग्स सेवन गरेर छाडेका संचालक भास्कर सिटौलाले कम्तिमा २७ लाख रुपैयाँ ड्रग्समा उडाएका थिए । ‘महिनाको १५ हजार कतै नगई खर्च हुन्थ्यो । १५ वर्ष सेवन गर्दा २७ लाख त कम्तिमा सकियो,’ उनले भने ।

अहिले उनलाई सबै भन्दा धेरै माया आफ्नै जीवनको लाग्न थालेको छ । परिवार, आफन्त, गाँउघरको माया पाएको पनि उनले बताए । ‘पहिलो ड्रगिस्ट भनेर हेप्ने छिमेकी र आफन्तले अहिले सुधार केन्द्र खोलेर कुलतमा फसेकाको जीवन बचाउने अभियानमा लाग्दा अचम्म मान्ने गर्नुभएको छ ।’

केन्द्र संचालन गर्ने सबै संचालक सुधार केन्द्रमा गएर उपचार गराएपछि अहिले दुव्र्यसनी विरुद्ध सचेतना फैलाउने अभियानकर्मीका रूपमा क्रियाशील छन् । ‘हामीले लागुऔषध प्रयोग गर्दा हाम्रो स्वास्थ्य मात्रै होइन । घर नै बिग्रिने रहेछ भन्ने कुरा पुनःस्थापना केन्द्रमा गएपछि थाहा पायौ, केन्द्रका अध्यक्ष सुरेस चेम्जोङ भन्छन्,‘ अब यस्तो कुलतमा फसेर अरुको भविष्य पनि नबिग्रियोस् भन्ने उद्देश्यले आफैँ सचेतना प्रदान गर्नेतर्फ लागेका हौ ।’

महिला सुधार केन्द्रमा यस अघि ३८ महिला थिए । सुधार केन्द्रमा आएर जीवन बदलेकाहरुले अहिले अरुको जीवन सुधार गरिरहेका छन् । ट्याब्लेट्स्, गाँजा, रक्सी, ब्राउनसुगर जस्ता लागु औषध प्रयोग गरेर सुधारिएका ले जीवन बदल्न थालेको सुधार केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सुधार भएर फर्केका महिला बिभिन्न शिप सिकेर आय आर्जन तर्फ अघि बढेको खवर पाएका छौं । कतिपय महिला तरकारी खेती, बाख्रा पालन लगायतका व्यवसाय सुरु गरेको केन्द्रले जनाएको छ ।


प्रायः १३ देखि २४ वर्ष उमेर समूहकाले गाँजा, ट्याब्लेटस्, ब्राउनसुगरमा फस्ने गरेको केन्द्रले जनाएको छ । २४ देखि माथिको उमेर समूह रक्सीमा फस्ने गरेको केन्द्रको तथ्याँङक छ । केन्द्रमा आएपछि सुरुका १० दिन कुलतमा फसेका आफ्नै तालमा हुन्छन् । ११ देखि ६० दिन सम्म केन्द्रको नियममा लागु औषधमा फसेकाले बस्नु पर्छ । केन्द्रका अध्यक्ष चेम्जोङ भन्छन, यहाँ सुधारका लागि आएपछि घर फर्कन उहाँहरु गाह्रो मान्नुहुन्छ । यसैमा हामी खुसी छौ ।’
केन्द्रले उनिहरुलाई मनोरञ्जन, आध्यात्मिक, परामर्श, विभिन्न व्यवसायलगायत चेतनामूलक सन्देश प्रदान गर्ने गरेको छ । ‘केन्द्रबाट सेवा लिएबापत ‘क्लाइन्ड’का परिवारले मासिक १५ हजार भुक्तानी गर्नुहुन्छ । आर्थिक अवस्था कमजोर भएका तथा सहाराविहीनहरुलाई निःशुल्क सेवा पनि दिने गरेका छौ,’ केन्द्रका सचिव वालहाङ सम्बाहाम्फेले भने ।

आफ्नो सन्तान दुव्र्यसनीमा फस्ने विषयमा अभिभावकहरू सचेत हुनुपर्ने झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताएका छन् । अनुगमनका लागि बिहीबार केन्द्रमा आएका प्रमुख जिल्ला अधिकारी रिजालले भने,‘कुलतबाट युवा युवतीलाई जोगाउन र असल जीवनको पुस्स्थापनाका लागि जिल्ला जिल्लामा सुधार केन्द्र स्थापना अनुमती सरकारले दिएको छ ।’

सरकारले तोकेको मापदण्ड र शुल्क लिन यस्ता गैह्र सरकारी संस्थालाई सरकारले गृह प्रशासन अन्तर्गत संचालन अनुमती दिएको प्रजिअ रिजालले बताए । सरकारले यस्ता सुधार केन्द्रको आवस्यक्ता ठानेरै अनुमती दिएको उनले बताए । यस्ता संस्थाले समाजरुपान्तरणको मियोको रुपमा काम गर्नेपनि उनले बताए ।

Comments

सम्बन्धित खवर