
काेशी प्रदेशमा अलैंची भन्दा महङ्गीयाे चिराइताेकाे मुल्य : प्रतिमन ४० हजार रूपैया पुग्याे
- फाल्गुन ३०, २०७९ मा प्रकाशित
ताप्लेजजुङ । चिराइतोको मूल्य गत वर्षको तुलनामा रु १० हजारले वृद्धि भएको छ । गएको वर्ष प्रतिमन (४० किलो) रु ३० हजार दरले कारोबार भएको चिराइतोको मूल्य हाल रु ४० हजार पुगेको छ । पहाडी क्षेत्रको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको अलैँचीको भन्दा चिराइतोको मूल्य माथि पुगेको हो । अलैँची प्रतिमन रु ३५ हजारका दरले कारोबार भइरहेको छ ।
भारत निर्यात हुँदै चिराइतो झापामा पुर्याउँदा प्रतिमन रु ३८ हजारदेखि रु ४० हजारमा कारोबार हुने ताप्लेजुङका व्यवसायीले बताएका छन् । ‘गत वर्ष रु ३० हजार प्रतिमन कारोबार भएको थियो, आजभोलि मूल्य बढेर रु ३८ हजारदेखि रु ४० हजारमा कारोबार भइरहेको छ’, सदरमुकाम फुङलिङका व्यवसायी गोविन्द बरालले भने ।गत वर्ष रु १८ हजार हुँदै रु ३० हजारसम्म पुगेको मूल्य यो वर्ष फागुन लागेयता बढेर रु ४० हजारसम्म पुगेको हो ।
बरालका अनुसार हाल किसानबाट प्रतिमन रु ३२ हजारदेखि रु ३३ हजारसम्ममा लिने गरिएको छ । चिराइतो सङ्कलन र खेती गर्ने यहाँका किसानले घरैमा उक्त मूल्य पाइरहेको बरालले बताए ।व्यवसायीका अनुसार चिराइतो सुुके नसुकेको हेरेर मूल्यमा केही तलमाथि हुन सक्छ । झापाका व्यापारीले भन्दा भारतका व्यापारीले केही बढी मूल्य दिने गरेका छन् ।
‘कहिलेकाहीँ भारतका व्यापारी भेटिन्छन्, उनीहरूले बिर्तामोडका व्यापारीले दिने भन्दा रु एक हजार बढी दिन्छन्’, व्यवसायी बरालले भने । केही वर्ष अघिसम्म ओलाङचुङगोला हुँदै चीनको तीब्बतमा निर्यात हुने चिराइतो हाल टिपताला नाका बन्द रहेकाले बिर्तामोड हुँदै भारत निकासी हुँदै आएको छ ।मूल्य वृद्धि भएसँगै चिराइतो सङ्कलन गर्ने र व्यावसायिक खेती गर्ने कृषक हर्षित बनेका छन् ।
लामो समयपछि चिराइतोको मूल्य एक्कासी बढेर अलैँचीको भन्दा माथि पुगेपछि यहाँका किसान हर्षित बनेका हुन् । यो वर्ष प्रतिमन रु ३२-३३ हजारका दरले घरैबाट चिराइतो बेच्न पाउँदा खुशी भएको फक्ताङलुङ गाउँपालिकाको खेजेनिमका किसान अमरसिंह माबोहाङले बताए । व्यावासायिक खेती गर्दै आएका अमरसिंहले यो वर्ष आठ मनभन्दा बढी उत्पादन गरेका छन् । उतारचढाव आइरहने चिराइतोको मूल्य पछिल्लो समय सुधारिएकाले किसानलाई राहत मिलेको उनले बताए ।
यता लेलेपका बुद्धिमान राईले मूल्य बढेर किसानलाई उत्साहित बनाएको बताए । हालको मूल्य कायम रहिराखेमा अलैँचीलाई जस्तै जङ्गल फाँडेर उच्च लगानीका साथ खेती गर्ने किसानको लगानी खेर नजाने उनको भनाइ छ । आम्दानीका लागि पहाडी क्षेत्रका किसानले अलैँचीपछि चिराइतोको खेती धेरै गर्दै आएका छन् । मूल्य नपाउँदा भने केहीले यसलाई निरन्तरता दिन सकेनन् ।
तर चिराइतोको मूल्य बढे पनि उत्पादन भने घटेको पाइएको छ । गत वर्षको तुलनामा यो वर्ष आधाजसो मात्र चिराइतो सङ्कलन भएको व्यवसायीले बताएका छन् । गत वर्ष एक सय ५० मन चिराइतो सङ्कलन गरेएका व्यवसायी गोविन्द बरालले यो वर्ष मुस्किलले ७० मन पुर्याएको बताए । ‘गत वर्षको तुलनामा सङ्कलन न्यून छ, यसरी न्यून हुनुमा उत्पादन घटेर हो, सङ्कलन गर्ने र खेती गर्ने क्रम केही घट्दै गएको छ’, उनले भने ।
उता सिरिजङ्घा–७ खेवाङका व्यवसायी नरेन्द्र तिवारीेले गत वर्षको तुलनामा आधा जसो मात्र चिराइतो सङ्कलन भएको बताए । उनका अनुसार प्रायले चिराइतो खेती छाडेका छन् । तर मूल्य बढेसँगै पुनः व्यावसायिक खेती गर्न किसान उत्सुक देखिएको उनले बताए ।
ताप्लेजुङमा वार्षिक ३५ हजार किलो चिराइतो सङ्कलन गर्न सकिने डिभिजन वन कार्यालय ताप्लेजुङले जनाएको छ । उक्त कार्यालयका अनुसार सङ्कलक तथा व्यवसायीले भने आधाजसोको मात्र पुर्जी लिने गरेको तथ्याङ्कले देखाएको छ । उच्च पहाडी भेगमा पाइने विभिन्न जडीबुटीमध्ये चिराइतो पनि मुख्य जडीबुटी हो । समुन्द्री सतहबाट एक हजार दुई सयदेखि तीन हजार मिटरको उचाइमा पर्ने भिरालो तथा खुला जमिनमा चिराइतो पाइन्छ । असोजमा पूर्णरूपले फुलिसक्ने चिराइतो फूल परिपक्व भएपछि उक्लिन्छ ।
भूगोल हेरी मंसिरदेखि चैतसम्म चिराइतोको सङ्कलन हुन्छ । प्रायले जङ्गलमा गएर चिराइतो सङ्कलन गर्छन् भने केहीले यसको व्यावसायिक खेती गर्दै आएका छन् । खेती गर्नेले जङ्गल फाँडेर आगो लगाई चिस्यान भएको समय पारेर बीउ छर्छन् । बीउ छरेको तीन वर्षमा उखल्न उपयुक्त हुने गरी चिराइतो फस्टाउने किसान बताउँछन् । औषधीय गुण भएको चिराइतो ज्वरो आउँदा, घाँटी दुख्दा र खटिरा आउँदा औषधिका रूपमा पानीमा पकाएर खाने गरिन्छ । तितो स्वादमा हुने चिराइतोले स्वाद र रुचि बढाउने बताइन्छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
Comments