
इलाममा अलैचीको भाउ बढ्यो, बगान मासिँयो
- श्रावण १८, २०८१ मा प्रकाशित

इलाम । इलाममा पछिल्लो समय अलैंचीको मूल्य वृद्धि भए पनि बोट मासिँदै जान थालेका छन् । अलैँचीलाई फागुन–चैतमा पानी आवश्यक पर्नेमा समयमा वर्षा नहुँदा बोट मासिँदै जान थालेका हुन् । गत वर्ष प्रतिमन (४० किलो) ८० हजार रुपैयाँमा बिक्री भएको अलैंची यस वर्षको सुरुमा ८५ हजार रुपैयाँ प्रतिमन खरिद बिक्री भइरहेको छ ।
यस वर्ष अलैँचीको मूल्य बढे पनि उत्पादन घटेको किसान बताउँछन् । समयमा पानी नपरेकाले अलैँचीका बिरुवा मासिनाका साथै उत्पादनमा कमी आएको किसान हरि पोख्रेलले बताए । ‘अलैँचीलाई फागुन–चैतमा पानी आवश्यक पर्छ । त्यो समयमा पानी नपरेकाले बोट मासिएका छन् । पानी नपरेपछि पुराना उत्पादन दिने कतिपय स्थानका बोट समेत मरेका छन्’, उनले भने ।
यसअघि प्रशस्त उत्पादन दिएका बोट यस वर्ष सुक्खाका कारण मरेका उनले बताए । मूल्य बढी भएकै कारण अलैँचीलाई खोल्सीको कालो सुन भन्ने गरिन्छ । अलैँची टिप्ने ‘सिजन’ सुरु हुनै लाग्दा मूल्य राम्रो हुँदा किसान खुसी भए पनि उत्पादन घट्ने चिन्ता लागेको किसानको भनाइ छ । समयमा पानी नपरेको, जुर्जुरे, स्याङ्लेलगायत रोगको सङ्क्रमणले बोट मासिँदै गएका अलैँची व्यवसायी महासंघले जनाएको छ । सुक्खायाम भएकाले अलैँचीका बोट सुक्दै गएर अहिले मासिन थालेका किसान बताउँछन् ।
मूल्य बढेपछि अहिले जिल्लाका विभिन्न स्थानमा नयाँ बिरुवा लगाउने काम भइरहेको महासंघले जनाएको छ । अलैँची विकास केन्द्र फिक्कलले बिरुवा उत्पादन गरी प्रतिबिरुवा पाँच रुपैयाँका दरले बिक्री भइरहेको जनाएको छ । किसानले उत्पादन गरेका बिरुवा प्रतिगोटा १० रुपैयाँमा बिक्री हुँदै आएको छ ।
किसान पोख्रेलका अनुसार अलैँची लगाएको तीन वर्षदेखि उत्पादन सुरु हुन्छ । जिल्लामा रामसाई, गोल्साई, चिबे, सलकपुर, भार्लाङलगायत स्थानमा अलैँचीखेती हुन्छ । सलकपुर जातको अलैँची चाँडो र बढी उत्पादन हुने भएकाले धेरैको रोजाइमा पर्ने गरेको उनले बताए । ‘अन्य जातका बिरुवा बढी समयसम्म टिक्ने हुन्छन् । सलकपुरको टिकाउ भने कम हुन्छ’, उनले भने ।
वर्षामा सलकपुरको बिरुवा लगाइन्छ । अलैँचीको दलबाट र झाङ फुटाएर बिरुवा उत्पादन गरिन्छ । झाङ फुटाएर लगाइएको बिरुवाले दुई वर्षदेखि उत्पादन दिन्छ भने दलबाट लगाएको बिरुवाले चार वर्षदेखि उत्पादन दिन थाल्छ । नेपालको पूर्वी पहाडी क्षेत्र अलैँची उत्पादन गर्न उपयुक्त मानिन्छ । इलामसहित सङ्खुवासभा, पाँचथर, धनकुटा र भोजपुर अलैँची उत्पादनका लागि उर्भर भूमि मानिन्छ । अलैँची ४३ जिल्लाका १८ हजार पाँच सय हेक्टरमा खेती गरिएकामा यसको क्षेत्र विस्तार गरेर ५३ जिल्लामा पुर्याइएको अलैँची व्यवसायी महासंघले जनाएको छ ।
नेपालका लागि अलैँचीको मुख्य बजार भारत हो । यसको खपत भारत, पाकिस्तान, बङ्गलादेशका साथै युरोपियन देशहरुमा हुने गरेको महासंघको भनाइ छ । हाल ८५ हजार रुपैयाँ प्रतिमनमा अलैँची खरिदबिक्री भइरहेको इलाम बजारका अलैँची व्यापारी प्रकाश अग्रवालले बताए । यस वर्ष अलैँचीको मूल्य बढेर एक लाख रुपैयाँ नाघ्ने अनुमान गरिएको उनको भनाइ छ ।
पूर्वी क्षेत्रमा उत्पादन भएको अलैँची झापाको कांकरभित्ता हुँदै बाहिर निकासा हुने गरेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष ५० लाख १८ हजार तीन सय ३५ किलो अलैँची निर्यात हुँदा सात अर्ब ९४ करोड नौ लाख ६४ हजार बराबरको करोबार भएको थियो । आव २०७९/८० मा आठ अर्ब २७ करोड ६८ लाख बराबरको ९९ लाख ९१ हजार एक सय ४९ किलो अलैँची निर्यात गरेको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments