
इलामका सबै बिद्यालयहरूमा ‘जंक फुड’ विरोधी अभियान
- मंसिर २६, २०७९ मा प्रकाशित
इलाम । इलाम नगरपालिका–५, बरबोटेको दुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक जितबहादुर कार्की सधैं विद्यालयका पुस्तक, कापी, कलम बोकेर कक्षामा पस्थे । आज कति विद्यार्थी स्कुल आए, नआउने विद्यार्थी किन आउन सकेनन्, शिक्षक कति आए, कुन कक्षामा कस्तो पढाइ चल्दैछ। पहिलो घन्टी बजिसक्दा उनले गरिसक्ने ‘ड्युटी’ थिए यी ।
तर, केही दिनयता कार्कीलाई यी जिम्मेवारी पूरा गरिसक्दा पनि फुर्सद थिएन । गाउँतिर गएर इस्कुस, आलु, तरुल, गुन्द्रुक, धुलो अचार, दाल, चामललगायत भेला गर्दैथिए उनी । विद्यालयका शिक्षक–कर्मचारीले पनि साथ दिए, सहयोग गरे । व्यवस्थापन समितिका पदाधिकारीसमेत जाँगर चलाएर गाउँले खानेकुरा भेला गर्न तम्सिए । नभन्दै, भनेजस्तैगरी सबै सामान तल्लो घर–माथ्लो घरमै जुटे पनि । कार्कीको योजना थियो– बालबालिकालाई जंक फुड (पत्रु खाना) बाट मुक्त गर्ने । र, नारा पनि तय गरियो–‘वि डन्ट इट जंकी, वि आर नट मंकी ।’ अर्थात्, हामी अखाद्य खाँदैनौं, हामी बाँदर होइनौ ।
स्कुल आएका बालबालिकालाई अभिभावकले खानाका रूपमा जंक फुड नपठाऊन् र बिहान–बेलुका पनि बालबालिकाले जंक फुड खानु नपरोस् भन्ने उनको भावनालाई प्रभावकारी रूपमा सफल पार्न तम्सिएको थियो विद्यालय परिवार । गाउँमा उत्पादन भएका तरुल, दाल, चामल, दूध, गेडागुडी, तरकारी, अदुवा, पिँडालु, भुटेको मकै, भटमास, सेल रोटी, साग, फर्सीलगायत खानेकुरा कार्कीकै अगुवाइमा भेला गरिए । विद्यालयमै ल्याएर ती खानेकुरा विद्यार्थीलाई मात्र चिनाइएन, अभिभावकलाई समेत विद्यालयमै बोलाएर त्यसको महत्व बुझाइयो । यी खानेकुरा विद्यालयमै पकाएर बालबालिका, अभिभावक र आगन्तुकसमेतलाई खुवाइयो ।
बालबालिकालाई जंक फुडको प्रयोगबाट बचाउन स्थानीय आमा समूहले समेत विशेष चासो दियो । विद्यालयमा आमा समूहसमेतको सक्रियतामा स्थानीय उत्पादन हुने खानेकुराबारे छलफल चलाइयो । अभिभावकलाई जंक फुडले बालबालिकाको स्वास्थ्यमा गर्ने हानी र स्थानीय उत्पादनको महत्त्वबारे सचेत गराइयो । स्थानीय अभिभावक तारा आचार्यले बालबालिकालाई आफ्नो बारीमै उत्पादित खानेकुरा खुवाउनुपर्ने र बालबालिका मात्रै होइन, सबै मानिसले स्वादका लागि अखाद्य वस्तु खानु नहुने शिक्षा पाएको बताइन् । ‘आज विद्यालयले ज्यादै राम्रो कार्यक्रम गरेर हामी सबै अभिभावकलाई खानेकुराको महत्त्वबारे बुझ्ने मौका दिएको छ,’ उनले भनिन्, ‘बालबालिकालाई चाउचाउ, बिस्कुट, कुरकुरेहरूजस्ता खानेकुराले गर्ने हानी बारे पनि थाहा भयो ।’
विद्यालयमा आयोजित कार्यत्रकमबाट अभिभावकलाई बालबालिकाको खानाबारे राम्रो सन्देश प्रवाह भएको आमा समूह अध्यक्ष संगीता पौडेलले बताइन् । ‘गाउँमा आफैंले उत्पादन गरेका खानेकुरालाई बेवास्ता गर्दै बालबालिकालाई बजारमा पाइने खानेकुरा खुवाउने चलन छ,’ उनले भनिन्, ‘आमा समूह र सबै अभिभावकमा जंक फुडले स्वास्थ्यमा पु¥याउने असर र स्थानीय खानेकुराको महत्तवबारे चेतना बढ्नुपर्ने रहेछ ।’ उनले विद्यालय र आमा समूहले अखाद्य वस्तु र स्थानीय उत्पादनको महत्वबारे चेतना अभिवृद्धि गर्दै जाने बताइन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments