•  ९ चैत्र २०८१
  •  9:00:23 PM

इटहरीको सबै सामुदायिक विद्यालयमा अनिवार्य नर्सिङ सेवा , सशक्त र प्रभावकारी बनाउन शिक्षक र अभिभावकहरूकाे सुझाव

- मंसिर २८, २०८१ मा प्रकाशित



इटहरी । जाडो मौसम सुरू भएसँगै बालबालिका तथा विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै इटहरी उपमहानगरपालिकाले आफ्नो क्षेत्रमा रहेका सबै सामुदायिक विद्यालयहरूमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम सुरु गरेको छ। तालिम समापनसँगै छनोट भएका नर्सहरूलाई बिहीबारदेखि नै इटहरीका सबै सामुदायिक विद्यालयहरूमा पठाइएको हो। कोशी प्रदेशमै पहिलो पटक नर्सिङ सेवा इटहरीले सुरू गरेको उपमहानगर प्रमुख हेमकर्ण पौडेलले बताए। ‘विद्यार्थीलाई विद्यालय तहबाटै स्वास्थ्यसम्बन्धी जानकारी दिनुका साथै स्वस्थ नागरिक उत्पादन गर्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको हो,’ मेयर पौडेलले बताए।

इटहरीका सबै सामुदायिक विद्यालयका लागि छनोट भएका नर्सहरूलाई सेवा प्रवेश तालिम प्रदान गरी विद्यालयमा खटाइएको हो। नगर प्रमुख पौडेलले विद्यालयमा खटिएका नर्सहरूले विद्यार्थीलाई शारीरिक र मानसिक रूपमा बलियो बनाउने काम गर्ने बताए। नर्सहरूले स्वास्थ्यसँग सम्बन्धित सम्पूर्ण विषयमा विद्यार्थीलाई जानकारी गराउनुका साथै विद्यालय समयमा विद्यार्थीलाई चोटपटक लागेको खण्डमा उपचारसमेत गर्ने उनले बताए।

नर्सहरूका लागि विद्यालयले कक्षाकोठाको व्यवस्था गरेको छ भने खटिएका नर्सहरूलाई आवश्यक ल्यापटप, उपचार सामग्री तथा विभिन्न औषधिसमेत व्यवस्था गरेको इटहरी उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहेताले बताए। इटहरीमा ३६ सामुदायिक विद्यालयहरू रहेका छन्। त्यस्तै, जाडो मौसमलाई नै मध्यनजर गर्दै उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको सेवाका लागि घर-घरमा स्वास्थ्य सेवा पुर्‍याउने भएको छ। नगरमा बसोबास गर्ने नगरवासीहरूलाई स्वास्थ्यसँग बाँच्न पाउने अधिकारको रक्षा गर्दै उपमहानगरको प्रत्येक वडामा सामुदायिक नर्सिङ सेवा सुरु गरिने भएको हो।

स्वास्थ्य नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रत्येक वडामा सामुदायिक नर्सिङको व्यवस्था सुरु गरिएको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले बताए। “अब नर्सहरू गाउँ-गाउँ पुगेर स्वास्थ्य जाँच गरिनेछ,” मेयर पौडेलले भने। यता विद्यालयहरूमा नर्सिङ सेवा सुरु भएसँगै विद्यार्थी, अभिभावक र शिक्षकहरू पनि खुशी देखिएका छन्। सेवा प्रभावकारी रूपमा कार्यान्वयन भए हजारौँ विद्यार्थीहरू लाभान्वित हुने इटहरी राष्ट्रिय माविका प्रधानाध्यापक शरण बस्नेतले बताए।

Comments

सम्बन्धित खवर