
हेटौंडामा गठबन्धनको भागबण्डा अझै मिलेन
- बैशाख १०, २०७९ मा प्रकाशित
हेटौंडा: स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा विभिन्न दलले आ–आफ्नो चुनावी अभियानलाई तीव्रता दिइरहेका छन् । नेकपा एमालेले मकवानपुरको सबै पालिकाको वडामा उम्मेदवार टुङ्गो लगाएर घरदैलो कार्यक्रम समेत अगाडि बढाएको छ भने बाँकी केही वडामा उम्मेदवारको नाम सिफारिस गरेको छ । तर, सत्ता गठबन्धनका दलहरूले अझैसम्म पनि सबै स्थानीय तहमा उम्मेदवार टुंगो लगाउन सकेका छैनन् । भागबन्डा नमिल्दा अहिलेसम्म उम्मेदवार टुंङ्गो नलागेको हो ।
गठबन्धनले हेटौंडा उपमहानगरको मेयर भने नेकपा एकिकृत समाजवादीलाई दिएको छ । तर, कांग्रेसका जिल्ला तथा नगरका अधिकांश पदाधिकारीले हेटौंडाको मेयर पाउनु पर्ने दावीसहित असन्तुष्टि जनाइरहेका छन् । नेकपा एसको भागमा परे पनि मेयरको उम्मेदवार को बन्ने हो अझै टुंङ्गो लागेको छैन । नेकपा एसबाट हालकी उपमेयर मिनाकुमारी लामा र मकवानपुर अध्यक्ष श्रीधर पोखरेलेको मेयरमा चर्चा चल्न थालेको छ ।
यसैगरी, नेकपा एमालेले पनि मेयर तथा उपमेयरमा तीन तीन जनाको नाम सिफारिस गरेको छ । तर, अझैसम्म पनि को उम्मेदवार बन्ने भन्ने निश्चित हुन सकेको छैन ।
गत मंगलबार सम्पन्न गठबन्धनको बैठकले हेटौंडा उमपहानगरको मेयर नेकपा एसलाई दिने निर्णय गरेलगत्तै हेटौंडास्थित कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा केही कार्यकर्ताले तालाबन्दी गरेका थिए । हेटौंडाको मेयर कांग्रेसले नै पाउनुपर्ने पदाधिकारी तथा कार्यकर्ताको माग छ ।
कांग्रेस मकवानपुरले विज्ञप्ति जारी गर्दै मित्रवत प्रतिस्पर्धा गर्ने समेत जनाइसेको थियो । दलहरूको विभिन्न चरणको बैठक बसे पनि उम्मेदवार टुंङ्गो लगाउन भने अझै सकस परिरहेको छ । १२ वैशाखसम्म मनोनयनको लागि समय रहे पनि अझैसम्म उम्मेदवारको टुङ्गो लाग्न सकेको छैन ।
मकवानपुरमा नेकपा एस कति बलियो ?
अन्य जिल्लाको तुलनामा नेकपा एसको मकवानपुर अलि बलियो देखिएको छ । यसैकारण नेकपा एसले हेटौंडामा मेयरको टिकट दावी गरेको हो ।
संघीय स्वास्थ्यमन्त्री विरोध खतिवडा र बागमती प्रदेशमा समाजवादी दलबाट प्रमुख सचेतक मुनु सिग्देल मकवानपुर जिल्लाकै नेता हुन् । हेटौंडाको उपमेयर मिनाकुमारी लामा पनि एमालेबाट नेकपा एसतिर लागेकी छिन् । अहिले उनी मेयरको टिकटको लागि दौडधुपमा छिन् । यसो हुँदा जिल्लामा समाजवादीको प्रभाव तुलनात्मक रुपमा राम्रो मान्न सकिन्छ ।
गठबन्धनको निर्णयले हौसला मिलेको नेकपा एसका जिल्ला अध्यक्ष श्रीधर पोखरेलले बताए । उनी गठबन्धनका कार्यकर्ताहरूको समर्थन हुने र हेटौंडामा सहजै जित्ने दावी गर्छन् ।
मतदाता शिक्षा अभियान कमजोर
दलहरूले चुनावी अभियानलाई तीव्र बनाए पनि यसको मतदातासम्म प्रभाव भने निकै कमजोर देखिएको छ । उनीहरूले आम मतदातालाई मतदाता शिक्षा प्रदान गर्न सकिरहेका छैनन् ।
कुन पदमा कुन चिन्हमा कसरी छाप लगाउने भनेर आम मतदातालाई बुझाउन नसकेको अवस्था छ । नेपाली कांग्रेसका नेता तथा हेटौंडाको मेयरका आकांक्षी आनन्दराम पराजुलीले मतदाता शिक्षा अति नै आवश्यक रहेको भए पनि अहिलेसम्म प्रदान गर्न नसकिएको बताए । गठबन्धनले आम मतदातालाई अलमलमा पारिरहेको उनी बताउँछन् ।
हेटौंडा उपमहानगरकी उपमेयर तथा मेयरकी आकांक्षी मिनाकुमारी लामाले पनि मतदाता शिक्षा प्रदान गर्नु ढिला भइसकेको बताइन । अहिलेसम्म उम्मेदवार टुंङ्गो लगाउन नसक्दा घरदैलोमा जान नसकेको उनले बताइन् ।
२०७४ सालको स्थानीय निर्वाचनमा पनि नेकपा माओवादी केन्द्रसँग कांग्रेसको गठबन्धन भएको थियो । तर, कांग्रेसका उम्मेदवार आनन्दराम पराजुली ६सय १५ मतले पराजित भएका थिए । यद्यपि, बदर मतको संख्या सात हजारभन्दा बढी थियो । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments