•  ९ चैत्र २०८१
  •  11:53:00 AM

चारपल्ट म्याद थप्दा पनि सडक निर्माण अधुरै, पर्यटक र स्थानीयलाई सास्ती

- चैत्र २६, २०७८ मा प्रकाशित



म्याग्दी । म्याग्दीस्थित गण्डकी प्रदेशकै प्रमुख पर्यटकीयस्थल घोडेपानी जोड्ने पोखरेबगर-घोडेपानी सडक निर्माणमा भएको ढिलासुस्तीले पर्यटक र स्थानीयवासीलाई सास्ती भएको छ ।

कालोपत्र, ढलान र ग्राभेल गरेर स्तरोन्नति गर्ने लक्ष्यसहित चार वर्षअघि सुरु भएको सडक निर्माण कार्य अधकल्चो र अधुरो बनेको छ । तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विसं २०७५ मङ्सिरमा सुरु गरेको १८ किलोमिटर ५४० मिटर दुरीको अन्नपूणर् गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घार-खिवाङ-शिख-फलाते हुँदै पर्यटकीय बस्ती घोडेपानी नजिकको चित्रे जोड्ने सडकको निर्माण २०७७ जेठ २२ गते सक्ने सम्झौता थियो ।

सडक निर्माण अधुरो हुँदा शिख र घारका दुई हजार ५०० घरधुरीका बासिन्दासहित दैनिक सयाैंको संख्यामा गाडी तथा मोटरसाइकलमा घोडेपानी जाने आउने पर्यटकलाई सास्ती भएको अन्नपूर्ण-६स्थित बिरौटाका सुवोध बरुवालले बताए । ‘चार पटक म्याद थप्दा पनि काम अधुरो छ’, उनले भने, ‘बेस र सब बेस राखेको सडकमा कालोपत्र नगर्दा आसपासका क्षेत्रमा धुलोले सताएको छ । माथिल्लो क्षेत्रमा प्रारम्भिक चरणको काम पनि थालिएको छैन ।’

जिरोदेखि १६ किमी दुरीको सडक विस्तार, नाली र पर्खाल बनाएर अधिकांश ठाउँमा ढलान, सोलिङ र कालोपत्र गर्ने बेस बिछ्याएका ठेकेदारले सात हजार २२१ घनमिटर मेसिनरी र ग्यावियन पर्खाल लगाउने सम्झौताअनुसारको काम सकेपनि थप काम गर्न भेरियसन अर्डरका लागि गरिएको प्रस्ताव स्वीकृत नभएका कारण देखाएर घोप्टेखर्कदेखि चित्रे खण्डमा प्रारम्भिक चरणको काम समेत गरेका छैनन् ।

चित्रेका चीनबहादुर गर्बुजाले पोखरेबगरदेखि शिखसम्म विस्तार, नाली, पर्खाल निर्माण र कालोपत्रको तयारी भए पनि घोप्टेखर्कदेखि चित्रेसम्म बजेट अभावका कारण देखाएर काम नगरिएकामा चिन्ता व्यक्त गरे । ‘बजेटको व्यवस्था गरेर बाँकी कामलाई पूणर्ता दिएमा स्थानीयवासीका साथै घोडेपानी घुम्न आउने पर्यटकलाई सुविधा हुने थियो’, उनले भने, ‘परिणाम सकिएपछि नाली र पर्खाल बिनै बिस्तार गरिएको सडकको दिगोपनामा समस्या छ ।’

मोतीदान-जयमाता जेभीले २७ करोड ९१ लाख ३५ हजारमा ठेक्का लिएको यो सडकको हालसम्मको भौतिक प्रगति ७२ प्रतिशत छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण खारेज भएपछि कास्कीस्थित स्थानीय पूर्वाधार विकास कार्यालयमा हस्तान्तरण भएको यो सडकको चौथो पटक म्याद थपिएको म्याद यही चैत महिनामा सकिँदैछ ।

निर्माण व्यवसायीले पर्याप्तमात्रामा मजदुर र उपकरण परिचालन गर्न नसक्नु, आयोजनाका प्रमुख छिटोछिटो परिवर्तन हुनु तथा पछिल्लो समय प्रस्ताव गरिएको भेरियसन अर्डरको प्रस्ताव स्वीकृति नहुनु ढिलासुस्तीका कारण हो । अन्नपूर्ण-६ घारका वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बिरौटा-शिख खण्डमा कालोपत्र गर्न निर्माण कम्पनीलाई ताकेता गर्नाका साथै घोप्टेखर्क-चित्रे खण्डमा पूणर्ता दिन थप बजेटको व्यवस्थाका लागि प्रदेश र सङ्घीय सरकारमा पहल गरिएको बताए ।

म्याग्दीको गौरवको आयोजना मानिएको पोखरेबगर-चित्रे सडक आयोजनाको सडक यातायात मात्र नभएर पर्यटन, कृषिको विकासका लागिसमेत उत्तिकै महत्वको छ । सडक स्तरोन्नति भएपछि पर्यटकीयस्थल घोडेपानीमा आन्तरिक पर्यटकको आगमन बढ्ने, शिख र घारका बासिन्दालाई आवतजावतका साथै ढुवानी तथा कृषि, पशु र वनजन्य उत्पादन निकासीमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Comments

सम्बन्धित खवर