पूर्वमाओवादी लडाकुहरू सामूहिक रूपमा एमाले प्रवेश गर्दै
- चैत्र ९, २०७८ मा प्रकाशित
काठमाडौं: बहिर्गमित जनमुक्ति सेना नेपालको नेतृत्वमा सामूहिक रुपमा नै युद्धकालीन माओवादी लडाकुहरू अन्ततः नेकपा एमाले प्रवेश गर्ने भएका छन् ।
‘युद्धकालीन अपराध र मुद्दा’लाई सम्बोधन गर्न एमाले तयार भएपछि पूर्व माओवादी लडाकुको समूह सामुहिक रुपमा नै प्रवेश गर्न लागेका हुन् ।
सम्भवतः यसै साता मिति तय भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले पुर्व माओवादी लडाकुहरूलाई सामुहिक रुपमा पार्टी प्रवेश गराउने छन् । ‘जनमुक्ति सेनाका योद्धाहरूको माग, गुनासा र अप्ठयारा सम्बोधन गर्न एमालेसँग सकारात्मक देखिएको छ । छलफलहरू सकारात्मक हुँदै गएका छन्,’ बहिर्गमित सेनाका अध्यक्ष लेनिन बिष्टले न्युज कारखानासँग भने, ‘त्यसैले दुवै पक्षबीच सामूहिक पार्टी प्रवेशको मिति चाँडै तोक्ने भन्ने छ ।’
उनका अनुसार एमाले अध्यक्ष ओलीले सामूहिक पार्टी प्रवेश कार्यक्रमका लागि सचिव टोपबहादुर रायमाझीलाई जिम्मेवारी दिएका छन् ।
अध्यक्ष ओली र बिष्टबीच पूर्व माओवादी लडाकुका माग र मुद्दाका बारेमा तीन चरण छलफल भइसकेको र त्यसको बन्दोबस्त रायमाझीले गराएका थिए । बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलगायतसँग पनि बिष्टको टोलीले पटक पटक छलफल गरेको थियो ।
ओली पहिलो पटक प्रधानमन्त्री हुँदा तत्कालीन अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत राहत रकम दिने घोषणा गरेका थिए । बहिर्गमित लडाकुलाई ८४ करोड बजेट छुटाए पनि सर्वोच्च अदालतमा मुद्दा परेपछि रोकिएको थियो । तर, गत १ फागुनमा रकम निकासा गर्न आदेश दिए पनि सरकारले त्यसलाई सम्बोधन भने गरेको छैन ।
‘राहत मात्र होइन, पूर्वजनमुक्ति सेनालाई राज्यको तर्फबाट सम्मानपत्र, परिचयपत्रको व्यवस्था पनि ओलीज्यू प्रधानमन्त्री हुँदा नै भएको हो । यसले पनि हामीलाई हाम्रा माग सम्बोधन हुनेमा आशावादी बनाएको छ,’ बिष्टले भने । उनका अनुसार सामूहिक प्रवेश गर्ने पूर्वमाओवादी लडाकुहरूको नाम संकलन भइरहेको छ । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
Comments