
दिक्तेल बाम्राङ र हलेसीको च्यास्मिटारमा दुना–टपरी उद्योग
- चैत्र १, २०८१ मा प्रकाशित

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा दुना–टपरी उत्पादन सुरू गरिएको छ । बाम्राङस्थित सङ्खुका ज्ञानबहादुर राईले मेशिनमार्फत सालको पात प्रयोग गरेर व्यावसायिक रूपमा दुना–टपरी उत्पादन गर्न सुरू गरेका हुन् ।
प्लाष्टिकजन्य वस्तुले सहरबजार मात्र नभएर गाउँघर समेत फोहर बनाउनुका साथै वातावरणमा प्रतिकूल असर गरिरहेकाले त्यसलाई विस्थापित गर्न सालको पातबाट दुना–टपरी बनाएर उपयोगमा ल्याउने उद्देश्यले उद्योग स्थापना गरेको सञ्चालक राईले बताए । मेशिनमार्फत उत्पादन गरिएको दुनाको मूल्य प्रतिगोटा रू पाँच र टपरीको प्रतिगोटा रू आठका दरले निर्धारण गरिएको जनाइएको छ ।
निम्न आर्थिक अवस्थाका महिलालाई रोजगारीको अवसर समेत दिलाउने उद्देश्यले दुना–टपरी उद्योग स्थापना गरिएको सञ्चालक राईले जानकारी दिए । ‘सालको पातबाट बनाइने दुना–टपरीको कारण सालको पात समेत सदुपयोग भएको छ । जङ्गलबाट टिपेर ल्याएको सालको पातलाई प्रतिमुठा रू ३५ देखि रू ६० सम्ममा खरिद गर्दै आएको छु’, उनले भने, ‘बिना प्रयोग जङ्गलमा खेर गइरहेका सालका पातलाई उपयोग गर्ने काम सुरू भएको छ । दुना–टपरी गाँस्नेलाई प्रतिगोटा रू एकका दरले दिने गरेको छु । यसले निम्न आर्थिक अवस्थाका स्थानीयलाई रोजगारीको अवसरसमेत दिलाइएको छ ।’
गाउँमा हुने हरेक बिहे–कार्जे, भोज–भतेर तथा पूजापाठमा दुना–टपरी प्रयोग एवं त्यसमा राखेर खाने परम्परा लोप हुनै लागेकाले पनि मेसिनमार्फत व्यावसायिकरूपमा दुना–टपरी बनाउन सुरू गरिएको सञ्चालक राईले बताए । ‘गाउँघरमा हुने अधिकांश काजभोजमा प्लाष्टिकको भाडा प्रयोग हुने थालेका छन् । यो स्वास्थ्यका लागि मात्र नभई वातावरणीय हिसाबले पनि ठीक होइन’, उनले भने, ‘दुना–टपरीमा खाने परम्परा लोप हुँनै लागेकाले पनि मेशिनमार्फत व्यवसायिकरूपमा दुना–टपरी बनाउन सुरू गरेका छौँ । यसप्रति सम्बन्धित निकायले ध्यान दिन जरूरी छ ।’
बाम्राङमा उत्पादित दुना–टपरी गाउँमा हुने पूजापाठ, विवाह तथा व्रतबन्धका साथै जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा खपत हुने गरेको जनाइएको छ । बाम्राङमा दुना–टपरी उद्योग सञ्चालन भएपछि उपभोक्तालाई समेत सहज भएको छ । उता, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा दुना–टपरी उद्योग सञ्चालन गरेको छ । त्रिधार्मिकस्थल हलेसी दर्शन गर्न आउने दर्शनार्थीलाई लक्षित गर्दै नगरपालिकाले दुना–टपरी उद्योग सञ्चालन गरेको हो ।
च्यास्मिटार कृषि महिला सहकारी संस्थामार्फत सञ्चालित उद्योगमा उत्पादित दुना प्रतिगोटा रू पाँच र टपरी प्रतिगोटा रू दशमा बिक्री सुरू गरिएको छ । सहकारी संस्थामा आबद्ध महिलालाई सात दिनको तालिम दिएर दुना–टपरी उद्योग सञ्चालनमा ल्याइएको नगरप्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए । सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाले अर्खौलेमा पनि दुना–टपरी उद्योग सञ्चालन गर्ने तयारी गरिरहेको जनाइएको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा दर्शन तथा पूजापाठ गर्न आउने भक्तजनलाई अनिवार्य स्थानीयस्तरमा उत्पादित दुना–टपरी मात्र प्रयोग गर्ने÷गराउने तयारी गरिएको नगर प्रमुख विमला राईले जानकारी दिइन्।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments