•  ९ चैत्र २०८१
  •  8:04:15 PM

इटहरीमा प्याब्सन काेशी प्रदेशकाे अधिवेशन : शिक्षा क्षेत्रमा निजी बिद्यालयकाे भुमीका अतुलनीय –मुख्य मन्त्री कार्की

- माघ २३, २०८१ मा प्रकाशित



इटहरी । सुनसरीको इटहरीमा बुधबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कोशी प्रदेशको चौथो अधिवेशन सम्पन्न भएको छ। कोशी प्रदेश प्याब्सन अध्यक्ष टिकाराम ढकालको अध्यक्षतामा सम्पन्न अधिवेशनमा तीन जना व्यक्तिहरूलाई कदर पत्र प्रदान गरिएको थियो। कार्यक्रममा प्याब्सन सुनसरी अध्यक्ष स्वर्गीय अनुप योञ्जनलाई मरणोपरान्त सम्मानसहित परिवारलाई कदर पत्र प्रदान गरिएको थियो। त्यस्तै, कोशी प्रदेश प्याब्सन कोषाध्यक्ष राजेश आचार्यलाई पनि कदर पत्रले सम्मान गरिएको थियो। त्यस्तै, पूर्व अध्यक्षहरूलाई कार्यक्रमबीच पदक वितरण गरिएको थियो।

कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न प्याब्सनको आठौं अधिवेशनमा विभिन्न तह-तप्कामा रहेका व्यक्ति तथा पदाधिकारीहरूलाई पनि सम्मान गरिएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि हिकमत कुमार कार्कीले शिक्षा क्षेत्रमा प्याब्सनले खेलेको भूमिका राज्यका लागि अपरिहार्य रहेको उल्लेख गरे। मन्त्री कार्कीले निजी क्षेत्रबाट गरिएको लगानी डुब्ने खतरा छ भन्ने बाहिरी हल्लाको पछि नलागी ढुक्कले लगानीको वातावरण सिर्जना गर्न प्रोत्साहन गरे। तीनै तहका सरकार निजी क्षेत्रसँग सहकार्य नगरी अघि बढ्न नसक्ने भएकाले गरिएको लगानी खेर नजाने बताए।

मुख्यमन्त्री कार्कीले निजी विद्यालय सरकारले बनाएको नियमभित्र रहेर सञ्चालन भइरहेकाले सरकारीकरण गर्न आवश्यक नरहेको बताएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को कोशी प्रदेश अधिवेशनलाई आज उद्घाटन गर्दै उनले निजी क्षेत्र शिक्षाबाट हट्न खोजे समस्या हुने बताए। उनले भने, ‘यथार्थमा स्वास्थ्य र शिक्षा सरकार एक्लैले जिम्मा लिन सक्दैन।’

मुख्यमन्त्री कार्कीले सामुदायिक विद्यालयको अवस्था हेर्दा राज्यले काम गर्न नसकेको देखिएको भन्दै पहिले सामुदायिक विद्यालयको अवस्था सुधार गर्न सरकार लाग्नुपर्ने बताए। संविधानले तीनखम्बे अर्थनीतिलाई आत्मसात गरेको उल्लेख गर्दै उनले भने, ‘हरेक क्षेत्रमा निजी क्षेत्रसँग सहकार्य नगर्दा हाम्रा कुनै पनि योजना सफल हुँदैन।’ मुलुकको आर्थिक समृद्धिलाई अघि बढाउन निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्नुको विकल्प नभएको बताउँदै मुख्यमन्त्री कार्कीले राज्यको संविधान र कानुनको परिधिभित्र रहेर काम गर्न आग्रह गरे।

उनले निजी क्षेत्रलाई अघि बढाउन प्रदेश सरकार तयार रहेको बताए। प्याब्सनका पूर्वअध्यक्ष टिकाराम पुरीले सरकारले जनसंख्या वृद्धिसम्बन्धी नीति ल्याउनुपर्ने माग गरे। उनले युवा जनशक्ति विदेश पलायन भएसँगै जन्मदरसमेत कम भएको भन्दै जनसंख्या वृद्धि नीति ल्याउनुपर्ने आवश्यकता औंल्याए।

अर्को प्रसंगमा मुख्यमन्त्री कार्कीले सरकारले २०८२ वैशाखमा कोशी सरकारको आयोजनामा लगानी सम्मेलन गर्ने भएकाले निजी क्षेत्रबाट पनि साथ, सहयोग, सल्लाह, सुझाव राख्न आग्रह गरे। उनले वर्ष २०८२ लाई नै कोशी पर्यटन वर्षको रूपमा मनाउने उल्लेख गरे। कार्यक्रममा विशिष्ट अतिथि प्याब्सन केन्द्रीय प्रमुख सल्लाहकार टिकाराम पुरीले शिक्षा क्षेत्रमा राजनीति छिरेपछि सामुदायिक विद्यालयहरू धरासयी बनेको उल्लेख गरे। उनले संविधानको नियमअनुसार सञ्चालन भएका निजी विद्यालयहरूमा कुनै प्रकारको दबाब, राजनीतिक हस्तक्षेप, स्रोत-बल नलाग्ने भएकाले हरेक क्षेत्रमा अब्बल र उत्कृष्ट सावित भएको बताए।

कार्यक्रममा प्याब्सन केन्द्रीय कार्यसमिति सल्लाहकार गोविन्द लम्साल, केन्द्रीय उपाध्यक्षहरू डिके ढुंगाना, आशिष श्रेष्ठ, कृष्ण प्रसाद अधिकारी, नारायण घिमिरेलगायतले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा कोशी प्रदेशका १४ वटै जिल्लाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। यसैबीच, यो समाचार तयार पार्दासम्म अधिवेशनले सुमित थापाको अध्यक्षतामा नयाँ प्याब्सन कोशी प्रदेश कार्यसमिति सर्वसम्मतबाट चयन गरेको छ।

 

Comments

सम्बन्धित खवर