•  ९ चैत्र २०८१
  •  5:31:32 PM

कटुवाललाई शिक्षारत्न, भट्टराईलाई हिसान शिक्षा

- माघ १९, २०८१ मा प्रकाशित

सामूहिक लोकनृत्य प्रतियोगितामा धरान आदर्श प्रथम



इटहरी / उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) सुनसरीले अग्रज शिक्षासेवी श्यामबहादुर कटुवाललाई हिसान शिक्षारत्न सम्मान तथा पत्रकार कृष्ण बहाब भट्टराईलाई हिसान शिक्षा पुरस्कार २०८१ समर्पण गरेको छ ।
हिसान सुनसरीले शनिबार ११औँ हिसान स्पोर्टस् मिटको समापन समारोहमा कटुवाललाई सम्मान तथा भट्टराईलाई पुरस्कार समर्पण गरेको हो । हिसान शिक्षा पुरस्कारको राशि २५ हजार रुपियाँ रहेको छ ।
हिसान सुनसरीले २०७५ सालदेखि प्रत्येक वर्ष एक जना दीर्घ शिक्षासेवीलाई सम्मान तथा शिक्षा क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको छ ।
विष्णु मेमोरियल मावि धरान परिसरमा आयोजित समापन समारोहमा हिसान केन्द्रीय अध्यक्ष रमेश सिलवाल दीर्घ शिक्षासेवी कटुवाललाई सम्मान–पत्र तथा पत्रकार भट्टराईलाई पुरस्कार समर्पण गरेका थिए ।
सागर भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा हिसान अध्यक्ष रमेश सिलवाल, केन्द्रीय सदस्य मुकुन्द घिमिरे, धरान उपमनपाका शिक्षा महाशाखा प्रमुख गणेश खतिवडालगायतले गुणस्तरीय शिक्षामा निजी तथा संस्थागत शिक्षालयको सकारात्मक भूमिकाबारे चर्चा गरेका थिए । वक्ताहरूले स्थानीय निकायसँग संस्थागत शैक्षिक संस्थाबीच हाल देखापरेको असमझदारीले मुलुकको शैक्षिक क्षेत्र द्वन्द्वतर्फ धकेलिएको गुनासो पनि गरेका थिए ।
यसैबीच, हिसान सुनसरीले शनिबार धरानमा हिसान स्पोर्टस् मिटअन्तर्गत प्रतियोगितात्मक सामूहिक लोकनृत्य प्रतियोगिता आयोजना गरेको थियो । सुनसरीका १२ वटा उच्च शिक्षालयले प्रतिस्पर्धा गरेको सो प्रतियोगितामा धरान आदर्श प्रथम, धरान मेघा हिमालयन द्वितीय, कोसी सेन्ट जेम्स इटहरी तृतीय तथा कस्तुरी कलेज इटहरी सान्त्वना भएका थिए ।
प्रतियोगितात्मक लोकनृत्यमा यस वर्ष सबै समूहका विद्यार्थीले किरात संस्कृतिमा आधारित साकेला नृत्य प्रस्तुत गरेका थिए । हिसान सुनसरीले प्रत्येक वर्ष कहिले विषयगत तथा कहिले खुला सामूहिक लोकनृत्य प्रतियोगिता गर्दै आएको छ ।

Comments

सम्बन्धित खवर