•  ९ चैत्र २०८१
  •  1:23:51 AM

जनता मावीको ६८ औ स्थापना दिवश तथा अभिभावक भेला , काेशी प्रदेश उर्वर भुमी हाे यसकाे सदुयाेग गर्नुपर्छ : पूर्व राष्ट्रपति भण्डारी

- माघ १६, २०८१ मा प्रकाशित



इटहरी । कोशी प्रदेशका शैक्षिक संस्थाहरुले आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा सहभागी हुन आएकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका साझा समस्याहरुप्रति सबै दल र नागरिक गम्भीर बन्नु पर्ने बताएकी छन् । इटहरीस्थित जनता उच्च माध्यमिक विद्यालयको ६८ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रम र स्थानीय जनसमुदायले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले आफ्नो ध्यान शिक्षा, रोजगारी, स्वास्थ्य र जलवायु परिवर्तनले निम्त्याएका समस्याहरुमा केन्द्रित रहेको बताइन् ।

नेपाल प्रतिभाहरुको खानी भएकाले शिक्षा प्रणालीले प्रतिभाहरुलाई देशभित्रै सेवा गर्न प्रेरित गर्न नीतिगत पुनरावलोकन गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै देशमा उत्पादित जनशक्ति देशभित्रै रहन सक्ने वातावरण सिर्जना हुनुपर्ने बताइन् । शिक्षा र राजनीति एकअर्काका परिपुरक रहेकाले राजनैतिक सोच र नेतृत्वले शिक्षाको पुनर्संरचनामा यथेष्ट ध्यान दिनु पर्ने आवश्यकता आल्याइन् । नेपालको औपचारिक शिक्षाको इतिहास करिब १०० वर्ष पुरानो रहेकोमा नेपालको शिक्षाले जुन रुपमा राष्ट्रिय सोच र आत्मनिर्भरता निर्माण गर्नुपर्ने हो त्यसमा अझै धेरै पहलकदमीहरुको आवाश्यकता रहेकाले सामुहिक जिम्मेवारी र ब्यक्तिगत इमान्दारिताले मात्र त्यसको परिपूर्ति गर्न सकिने कुरामा उनको जोड थियो ।

विद्यालयको आधारभूत तहदेखि नै बालबालिकालाइ उपयुक्त शैक्षिक, पारिवारिक र सामाजिक वातावरण प्रदान गर्दै आत्मनिर्भर, राष्ट्रप्रेमी र ‘स्मार्ट’ जनशक्ति निर्माण राष्ट्रको आवश्यकता भएकाले सबै राजनैतिक दलहरु, आम जनसमुदाय र बौद्धिक क्षेत्रको साझा सरोकारको विशय शिक्षा हुनुपर्ने उनको भनाइ थियो । पढाइ, उद्यम र रोजगारीलाई एक अर्काको परिपुरक बनाउन सक्ने गरी नीतिगत र संरचनात्मक सुधार, पाठ्यक्रम, पूर्वाधार र जनशक्तिको हालको अवस्थालाई मसिनो गरी पुनरावलोकन गर्नुपर्ने धारणा राखिन् ।

सबल अर्थतन्त्र निर्माण नगरी आत्मनिर्भर बन्न नसक्ने भएकाले आत्मनिर्भरता र स्वाभिमानका लागि कृषि, वन पैदावर, खनिज, पर्यटन र हरित उर्जा उत्पादनमा ध्यान दिनु पर्ने बताउँदै अहिलेको शिक्षा प्रणाली र राजनीतिभित्र सीप, उद्यम र रोजगारी प्रमुख मुद्दा हुनुपर्ने उनको भनाइ थियो । युवा जनशक्तिको पलायनले देशको समग्र आर्थिक, सामाजिक र राजनैतिक जनजीवनमा मात्र नभइ मुलुकको स्वाभिमान र स्वाधिनता नै प्रभावित हुनेतर्फ आम जनसमुदाय सचेत हुनुपर्ने भन्दै उपयुक्त वातावरण निर्माण गर्न सक्दा अहिले देखिएको जनशक्ति पलायलनलाई रोक्न सकिने बताइन् ।

१२ कक्षा पास विद्यार्थीहरुले किन मुलुकका विश्वविद्यालय पढ्न छाडेर बाहिर जान खोजिरहेका छन् भन्ने कुरा आम चासो र सरोकारको विषय हुनुपर्ने बताउँदै कम्तिमा स्नातक तहसम्म नेपालमै पढ्नका लागि आफ्ना छोराछोरीलाई प्रेरित गर्न आम अभिभावकहरुलाइ अपिल गरिन् । गुणस्तरका समस्याहरु नीतिगत र संरचनात्मक सुधारमार्फत क्रमिक रुपले समाधान हुँदै जाने हुँदा अहिलेको शिक्षाको गुणस्तरले मात्र विद्यार्थीहरुलाइ बाहिर जान प्रेरित नगरेको भन्दै बाहिर जाने भन्ने आम मनोवैज्ञानिक धारणालाई चिर्न अभिभावक, शिक्षक र नागरिक अगुवाहरुले साझा पहलकदमी लिन आह्वान गरिन् । त्यसैगरी स्वास्थ्य सेवालाइ सर्वसुलभ र गुणस्तरीय बनाउन स्वास्थ्य जनशक्ति र पूर्वाधार विस्तार गर्नुपर्ने आवश्यकता रहेको र स्वास्थ्य क्षेत्र का नर्सिङ्ग, बीबीएस, एमडीलगायतको पठनपाठनमा देखिएका नीतिगत समस्याहरुलाइ तत्काल समाधान गर्नुपर्ने उनको जोड थियो ।

नेपालका शैक्षिक संस्थाहरुले नर्सिङ्ग कार्यक्रमहरु सञ्चालन र विस्तारमा नीतिगत अवरोधहरु झेल्नु परेकाले विद्यार्थीहरु सीमापारी गएर पैसा खर्च गएर पढ्नु परेको तथ्य औंलाउँदै यस्ता समस्याहरु समाधान गर्न सबै राजनैतिक दलहरु गम्भीर बन्नु पर्ने उनको जोड थियो । त्यसैगरी जलवायु परिवर्तनका असरहरु देखिने र अनुभूत हुने मात्र नभइ जनजीवनमा प्रभावित पार्ने तहसम्म विस्तारित भइरहेको र जलवायु परिवर्तनको बैश्विक असरको मारमा नेपाल परेको हुँदा विश्व मञ्चमा नेपालको आवाज जोडसँग मुखरित हुनुपर्ने उनको भनाइ थियो ।

‘हिमालहरु पग्लिरहेका छन्, हिमतालहरु जोखिममा छन्, बालीनालीको उत्पादनमा ह्रास आएको छ, पानीका मुहानहरु सुक्दै छन, खडेरी, अति र अल्प वर्षा भइरहेको छ र आम जनजीवन प्रभावित छ । दुनियाँले उत्सर्जन गरेको कार्बनले सिर्जित समस्याको ठूलो मारमा नेपाल परेको छ । यसको क्षतिपूर्ति कसरी गर्ने र चुनौतिको सामना कसरी गर्ने हाम्रो साझा सरोकारको विषय हो’, उनले भनिन् ।

Comments

सम्बन्धित खवर