•  ९ चैत्र २०८१
  •  8:40:37 AM

इटहरीको अम्बे सहकारी समस्याग्रस्त घोषित, डुबेकाे ८० कराेड बढी रकम खाेज्दै प्रदेश सरकार

- पुष २४, २०८१ मा प्रकाशित



इटहरी । कोशी प्रदेश सरकारले सुनसरीको इटहरीमा रहेको अम्बे कोशी बचत तथा ऋण सहकारीलाई ‘समस्याग्रस्त’ घोषणा गरेको छ । केही दिनअघि प्रदेश सरकार आफैले संकटग्रस्त सहकारीको व्यवस्थापन गर्न समिति बनाएको थियो । समितिले काम थाल्नु अघि नै सरकारले उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो । मंगलबार सरकारले यो निर्णय लिएको हो ।

मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेका अनुसार प्रदेश सहकारी ऐनको दफा ८४ को उपदफा (२) मा सरकारले समस्याग्रस्त सहकारीलाई संकटग्रस्त घोषणा गर्ने अधिकार भएको र त्यसरी संकटग्रस्त घोषित सहकारीको व्यवस्थापन सरकारले भर्खरै गठन गरेको समितिले गर्ने जानकारी दिएका छन् ।

अम्बे कोशीका सञ्चालकहरूले बचतकर्ताहरूको करिब ६१ करोड रुपैयाँभन्दा बढी अपचलन गरेको आरोप छ । बचत अपचलनको आरोपमा सहकारी संस्थाका अध्यक्ष फणिन्द्र मगरसहित सञ्चालकहरू शिला गजमेर, राहुल अग्रवाल र कुमार आले पक्राउ परिसकेका छन् ।

प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले पनि सहकारीका अध्यक्षसहित सञ्चालकहरूका विरुद्धमा ठगी मुद्दा दायर गरेको छ । सोही मुद्दाका आधार उनीहरू पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सहकारीले विराटनगर, बिराटचोक र झापाको दमक गरी तीन स्थानमा सेवा केन्द्रसमेत सञ्चालन गरेको थियो ।
प्रदेश सहकारी रजिष्टार कार्यालय इनरुवाका अनुसार अम्बे कोशी सहकारी संस्थाले अघिल्लो आर्थिक वर्षमा ८० करोड रुपैयाँ हिनामिना गरेको थियाे । चालु आर्थिक वर्ष १९ करोड हाराहारी फर्स्यौट गरे पनि अरू पैसा हिनामिना गरेको अनुसन्धानबाट खुलेको थियो।

सहकारीले हिनामिना गरेको रकममध्ये सञ्चालक समितिका अध्यक्ष मगरले मात्र दुई तिहाइ बढी हिनामिना गरेको खुलेको थियाे । उनका अनुसार अध्यक्ष मगरले आफू अनुकूलका व्यवस्थापक राखेर पैसा हिनामिना गरेको पाइएको थियाे ।

Comments

सम्बन्धित खवर