•  २ कार्तिक २०८१, शुक्रबार
  •  2:06:12 AM

गुल्सन झालाई किन्न सात टोलीको तानातान, गोलाप्रथाबाट कर्णालीले पायो

- आश्विन २१, २०८१ मा प्रकाशित



काठमाडौं । सात टोलीले आँखा लगाएका राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर गुल्सनकुमार झालाई गोला प्रथाबाट कर्णाली याक्सले पाएको छ । काठमाडौंमा जारी अक्सनमा गुल्सन किन्न लुम्बिनीले भने पाएन । उसले यसअघि नै तीन श्रेणी ‘ए’ का खेलाडी किनिसकेको थियो । सात टोलीले उच्चतम १५ लाख खर्च गर्दा कर्णाली याक्स भाग्यमानी बन्यो । नेपाल क्रिकेट संघ (क्यान) ले काठमाडौंमा आयोजना गरेको अक्सनबाट सहभागी आठ टिमले समान १० जना खेलाडी खरिद गर्दैछन् । अक्सनको सर्ट लिष्टमा कूल १४२ खेलाडी छन् ।

१५ मंसिरदेखि ६ पुससम्म काठमाडौंमा हुने लिगमा एक टोलीमा १६ खेलाडी रहँदा एक मार्की, चार विदेशी र एक ट्यालेन्ट हन्टबाट टिममा अनुबन्ध हुनेछन् । कुशल भुर्तेल पोखरा एभेन्जर्स, करण केसी काठमाडौं गुर्खाज, कुशल मल्ल चितवन राइनोज, रोहित पौडेल लुम्बिनी लायन्स, सन्दीप लामिछाने विराटनगर किंग्स, आसिफ सेख जनकपुर रोयल्स, सोमपाल कामी कर्णाली याक्स र दीपेन्द्रसिंह ऐरी सुदूरपश्चिम रोयल्सका मार्की खेलाडी हुन् । क्यानले यसअघि नै मार्की खेलाडीले २० लाख पाउने बताएको छ ।

एक टिमले १० खेलाडीका लागि बढीमा ९० लाख खर्च गर्न पाउने छन् । नियमानुसार श्रेणी ‘ए’ को २७ जना खेलाडीको न्यूनतम मूल्य १० लाख र उच्चतम १५ लाख रुपैयाँ हुनेछ । यदि उच्चतम मूल्यमा एकभन्दा बढी टिमले दाबी गरेमा गोलाप्रथाबाट खेलाडी कुन टोली जाने निर्धारण हुनेछ । ‘बी’ श्रेणीमा रहेका ३८ जना खेलाडीको न्यूनतम मूल्य पाँच लाख र उच्चतम मूल्य १० लाख छ । ७७ जना खेलाडी रहेको ‘सी’ श्रेणी खेलाडीको न्यूनतम दुई लाख र उच्चतम मूल्य पाँच लाख राखिएको छ । यता, विदेशी खेलाडी भने क्लबहरूले आन्तरिक सहमतिमै सम्झौता गर्न सक्छन् ।

Comments

सम्बन्धित खवर