•  ४ आश्विन २०८१, शुक्रबार
  •  5:27:43 PM

कैलालीमा पाकेको धानमा वर्षा र हुरीले क्षति गरेपछि किसान चिन्तित

- आश्विन ४, २०८१ मा प्रकाशित



कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाकी काली लुहारले दुई बिघा जमिनमा धानखेती गरेकी छन् । खेतको धानमा बाला झुलेका छन् । तर दुई बिघा जमिन खेतीमध्ये आधा क्षेत्रफलको धान हाल ढलेका छन् । पाकेर तयार भएको धान खेतमै ढलेपछि लुहार चिन्तित छिन् ।

गत भदौ अन्तिम साताको अविरल वर्षासँगै आएको हुरीबतासले उनको धानखेतीमा क्षति पुर्‍याएको हो । ‘वर्षभरिलाई खान पुग्ने धान खेतमा ढल्यो । त्यसमै पानीले गह्रा भरिभराउ छ’, उनले भनिन्, ‘धान काट्नै नसकिने अवस्था छ, आधा खेतको धान काम नलाग्ने भएको छ ।’

हुरीबतास र वर्षाले धानखेतीमा क्षति पुर्‍याएपछि खानलाई समस्या हुने उनको गुनासो छ । उनी वर्षभरिलाई खान पुग्ने फसल राखेर बाँकी बिक्री गरेर घरखर्च जोहो गर्दै आएकी थिइन् । ‘आम्दानीको स्रोत कृषि नै हो । धान, गहुँखेती गरेर खाने र बाँकी रहेको बेचेर घरखर्च चलाउनु पर्छ’, लुहारले भनिन्, ‘अब के खाने ? के बेच्ने ?’

भीमदत्त नगरपालिका–११ भुजेलाकै मनोधरी लुहारसँग दुई कट्ठा मात्र जमिन छ । त्यसको उब्जाउले खानलाई नपुग्ने हुनाले उनी अधियाँ गर्ने गर्छन् । गाउँमै अधियाँ गरेको १० कट्ठा जमिनको धानमा क्षति पुगेपछि उनलाई के खाने ? भन्ने चिन्ताले पिरोल्न थालेको छ । ‘हुरीले ढलेर खेतमै पानीले धान कुहिसक्यो । न आफ्नो खेतको धान बच्यो, न अधियाँ गरेको खेतकै’, उनले भने, ‘किनेर खान पनि पैसा छैन ।’ बर्सेनि वर्षा र हुरीबतासले बालीमा क्षति गर्ने गरेको भए पनि सरकारबाट क्षतिपूर्ति नपाएको उनको गुनासो छ ।

अविरल वर्षापछि आएको बाढी र हुरीबतासले कञ्चनपुरमा धानमा क्षति पुर्याएको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीका अनुसार दोधारा चाँदनी, भीमदत्त, पुनर्वास, बेलौरीलगायत क्षेत्रका बालीमा बढी क्षति पुगेको छ ।  स्थानीय तहले क्षतिको यकिन विवतरण सङ्कलन गरिरहेको छन् । जिल्लाका विभिन्न ठाउँमा गरेर झण्डै १० प्रतिशत धानखेतीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रको अनुमान छ । ‘डुबान, कटान र पटानले बाली क्षति पुगेको छ । यकिन विवरण प्राप्त भएको छैन’, उनले भने, ‘निरीक्षणका क्रममा दोधारा चाँदनीलगायत क्षेत्रमा पटानले खेतको धान पूरै बगर बनाएको पाइएको छ ।’

Comments

सम्बन्धित खवर