•  ४ आश्विन २०८१, शुक्रबार
  •  8:44:43 AM

काभा महिला भलिबल : उपाधिका लागि नेपाल आज भारतसँग भिड्दै

- श्रावण २३, २०८१ मा प्रकाशित



काठमाडौं । नेपालले काभा महिला भलिबल नेसन्स लिग प्रतियोगिताको उपाधिका लागि आज (बुधबार) भारतसँग भिड्दै छ । फाइनल खेल बुधबार साँझ ५ बजे र इरान र श्रीलंकाबीच तेस्रो स्थानका लागि दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ ।

नेपालले मंगलबार दोस्रो सेमिफाइनलमा इरानमाथि ३–० को सोझो सेटको जित निकाली भारतविरुद्धको फाइनल पक्का गरेको हो । पहिलो सेमिफाइनलमा भारतले श्रीलंकालाई सहजै हराएको थियो । नेपाल लिग चरणमा दोस्रो र इरान तेस्रो हुँदै एक–आपसमा सेमिफाइनलमा भिडेका हुन् ।

पछिल्लो संस्करणमा नेपाल भारतसँग फाइनलमा पराजित भएको थियो । प्रतियोगिताको पहिलो र दोस्रो संस्करण नेपालले जितेको थियो । नेपालको उपाधिमाथि ह्याट्रिक गर्ने योजनामा भारत बाधक बनेको थियो । घरेलु कोर्टमा नेपाली महिला खेलाडीले फाइनलमा भारतलाई कडा चुनौती दिने योजना बनाएका छन् । यद्यपि, लिग चरणमा नेपालले दक्षिण एसियन जाइन्ट भारतलाई सनसनी रूपमा पाँच सेटमा हराएको थियो । इतिहासमै पहिलो पटक नेपालले भारतलाई स्तब्ध पारेको त्यही नै थियो ।

नेपालले लिगमा चौथो जित निकाली फाइनल यात्रा तय गरेको हो । तेस्रो पटक उपाधि उचाल्न नेपाल एक जित टाढा रहेको छ । इरानसँग लिग चरणमा भोगेको हारको बदला लिँदा नेपालले पहिलो सेट २५–२१ र दोस्रो सेट २८–२६ ले जितेको थियो । नेपालले अन्तिम सेट २५–२० ले बाजी मार्‍यो । नेपालले दोस्रो र तेस्रो सेटमा इरानको युवा टोलीबाट कडा चुनौती पाएको थियो । यी दुवै सेटको एक समयमा इरानले उपाधि दाबेदार नेपालमाथि अग्रता बनाएको थियो । नेपालले संयमित हुँदै खेलमा नियन्त्रण राख्दा इरानी खेलाडी हाबी हुन पाएनन् ।

भारतसँगको भेट नेपाली टोलीका लागि पाँच वर्षअघि घरेलु मैदानमा भोगेको हारको बदला लिने अवसर समेत हो । सन् २०१९ मा घरेलु मैदानमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को महिला भलिबलको फाइनलमा घरेलु टोली नेपाल र भारत भेट भएका थिए । त्यतिबेला नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएको थियो । त्यसको पाँच वर्षपछि अर्थात आज नेपाली टोलीमाथि त्यो हारको बदला लिने उत्कृष्ट अवसर आएको छ ।

Comments

सम्बन्धित खवर