
रोगका कारण अदुवा उत्पादनमा ह्रास, विकल्प खोज्दै किसान
- पुष १४, २०८० मा प्रकाशित

इलाम । इलाममा रोगका कारण अदुवा उत्पादनमा ह्रास आएको छ । सुरुआतमा अदुवाको गानो कुहिने र पछि बोट मर्न थालेपछि यहाँका अदुवा उत्पादन गर्ने किसान मारमा परेका छन् । रोगले अदुवाका बोट मर्न थालेपछि जिल्लाका अधिकांश किसानले अदुवा खेती गर्न छोडेका छन् ।
अदुवा इलामवासीको जीविकोपार्जनको गतिलो माध्यम हो । तर रोगका कारण किसानले अदुवा खेती गर्न छोड्दै गएका माइजोगमाई गाउँपालिका–३ का किसान मिलन खड्काले बताए । ‘इलामका किसानको आम्दानीको स्रोत अदुवा हो, यसबाट हुने आम्दानीले घर खर्च चलाउँदै आएका छौँ, तर पछिल्लो समय रोगका कारण समस्यामा छौँ’, उनले भने, ‘अधिकांश किसानको रोजीरोटी धरापमा परेको छ ।’
अदुवामा गानो कुहिने, गबारो, पात बेरुवालगायत रोगको सङ्क्रमण देखिएको किसान रघुनाथ अर्यालले बताए । ‘सुरुमा गानो कुहिने र पछि पहेँलिँदै क्रमशः बोट मर्ने गरेको छ’, उनले भने । अदुवाका लागि गानो कुहिने रोग सबैभन्दा हानिकारक मानिन्छ । गानो कुहिने रोगले अदुवाको फल नै सखाप पार्छ । अदुवा खेती गर्दै आएका किसान जगनाथ अधिकारी भन्छन्, ‘रोप्नुअघि नै बीउ गानोमा ढुसीको सङ्क्रमण भइरहेको छ, उम्रिने बित्तिकै टुसा मर्छ ।’ अन्यत्रबाट बीउ ल्याएर खेती गरे रोगबाट मुक्ति पाउन सकिने अधिकारीको भनाइ छ ।
मसला र ओषधिजन्य प्रयोगका लागि भारतमा निर्यात भइरहेको अदुवा किसानले ठाउँ र बीउ फेरेर रोप्दा पनि उम्रने वित्तिक्कै मर्न थालेपछि किसानले वैकल्पिकरुपमा एभोकाडो, ड्रागनलगायतको खेती गर्न थालेका छन् । उत्पादन घटेपछि अदुवा व्यापारी वैकल्पिक उपाय खोज्न थालेका व्यापारी जीवन पोखरेल बताउँछन् । उनी अदुवाको कारोबार छोडेर तीन वर्षयता कुचो र अलैँचीको व्यापारमा लागेका छन् ।
चार नगरपालिका र छ गाउँपालिका भएको इलामका प्रायःजसो सबै ठाउँमा अदुवा खेती गरिँदै आएको छ । रोगका कारण पछिल्लो समय यसप्रति किसानको आकर्षण घटेको छ । स्थानीय, प्रदेश र सङ्घीय सरकारले अदुवा किसानका समस्या पहिचान गरी समाधानको उपाय खोज्न आवश्यक छ । प्रोत्साहनस्वरुप आवश्यक अनुदान उपलब्ध गराउन पनि किसानले माग गरेका छन् । खाद्यान्न बाली मासेर अदुवा खेती गरेका किसान रोगले सखाप पारेपछि चिन्तित भएका छन् ।
इलाममा अदुवाको उत्पादन, उत्पादकत्व र क्षेत्रफल घटेको कृषि ज्ञान केन्द्रका प्रमुख टोनी बर्देवाले बताए । गत वर्ष ५० हजार नौ सय ५५ मेट्रिक टन अदुवा उत्पादन भएको इलाममा यस वर्ष ५० हजार छ सय २० मेट्रिक टन मात्र उत्पादन भएको उनले जानकारी दिए । ‘उत्पादकत्व र रोपण क्षेत्रफल पनि घटेको छ’, प्रमुख बर्देवाले भने । किसानले गत वर्ष तीन हजार दुई सय २५ हेक्टर क्षेत्रफलमा अदुवा लगाएकामा यस वर्ष तीन हजार दुई सय दश हेक्टरमा मात्र खेती गरेका उनले बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
Comments