
झापमा कम लागतको छरुवा धान राम्रो उत्पादन भएपछि किसान उत्साहित
- कार्तिक २२, २०८० मा प्रकाशित

झापा । झापाको कनकाई र शिवसताक्षी नगरपालिकामा कम लागतमा हुने छरुवा धानखेतीको प्रयोग सफल भएको छ । यो प्रविधिबाट गरिएको खेतीले उल्लेखनीय लाभ हुने भएकाले किसान र विज्ञ उत्साही बनेका छन् ।कनकाई नगरपालिका–५ का ज्ञानेन्द्र शिवाकोटीले पहिलोपल्ट छरुवा धान लगाएका थिए ।
‘डुब्नु होला, कस्तो फल्ला भनेर सुरुमा गाउँलेले सचेत गराएका थिए’, उनले भने, ‘अहिले खेतमा अरु प्रविधिबाट गरिएको खेतीले भन्दा बढी उत्पादन दिएको देखेपछि गाउँले हामीलाई पनि सिकाइदिनु पर्यो भन्दै धाउन थालेका छन् ।’ ब्याडमा बेर्ना उमारेर रोप्ने परम्परागत प्रविधिमा नेपालमा धानखेती आधारित छ । तर छरुवा प्रविधिमा धानको बीउ (बेर्ना) रोप्ने झन्झट नै गर्न पर्दैन । सिधैँ खनजोत गरेको जमिनमा धानको बीउदानालाई मकै छरे जसरी छरिन्छ ।
कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले छरुवा प्रविधिबाट गरिएको धानखेतीमा परम्परागत रोपुवा धानखेतीको तुलनामा आधा लगानीले पुग्ने बताए । ‘रोपुवा खेतीमा भन्दा आधा कम लगानीमै खेती हुने भएकाले छरुवा धानखेतीको फाइदै फाइदा छन्’, उनले भने, ‘परम्परागतरूपमा गरिँदै आएको रोपुवा विधिमै किसान अभ्यस्त भएकाले नयाँ प्रविधिमा जान केही समय लाग्छ । तथापि छरुवा प्रविधिले कम लगानीमा धेरै उत्पादन दिन्छ भन्ने कुरा हामी बुझाउने काम गर्दैछौँ ।’
कनकाई नगरपालिकाका कृषि शाखाका प्रमुख ध्रुवकुमार उप्रेतीले आफ्नै खेतमा यसपालि नयाँ प्रयोगको रूपमा छरुवा धान लगाएका छन् । खेतमा झुलेका धानका बाला देखेर उप्रेती दङ्ग छन् । ‘छरुवा धानखेतीबाट फाइदा हुन्छ भनेर किसानलाई बुझाउन अब सजिलो भएको छ’, उनी भन्छन्, ‘किनकि म आफैले पनि छरुवा प्रविधिबाट धानखेती गरिरहेको छु ।’
कनकाईका धेरै किसानले उप्रेतीसँग छरुवा धानखेतीबारे जिज्ञासा राख्ने गरेका छन् । मौखिकरूपमा कुरा बुझाएरमात्र नपुग्ने भएकाले आफ्नै खेतमा लगेर अवलोकन गराएपछि किसानहरूमा नयाँ प्रविधिप्रति आकर्षण बढेको उनले बताए । एक बिघा १५ कठ्ठा जग्गामा छरुवा धान लगाएको र उत्पादन राम्रै रहेको उनले जानकारी दिए । अर्को वर्ष खेती विस्तार गरेर आठ बिघा जग्गामा छरुवा धान लगाउने सोच रहेको उप्रेती बताउँछन् । कृषि शाखाले छरुवा धानखेती गर्न इच्छुक किसानलाई परामर्श र अनुदानसमेत दिएर प्रोत्साहित गर्ने नीति लिएको जनाएको छ ।
जोत्ने, हिल्याउने, ब्याड राख्ने, बीउ काड्ने, रोप्ने र गोडमेल गर्नेलगायतका काममा बढी जनशक्ति लाग्ने भएकाले अधिकांश किसान परम्परागत धानखेती घाटादायी भएको गुनासो गर्छन् । कतिपयले महँगो खेती भएकै कारण धानखेत मासेर अन्य बाली र नगदे बालीको बगान लगाउन थालेका छन् । छरुवा धानखेतीमा कम जनशक्ति लाग्ने भएकाले किसानका लागि यो प्रविधि बरदान नै हुने विज्ञको भनाइ छ । यसबाट उत्पादनमा वृद्धि हुने र किसानको पलायन रोक्ने उनीहरू बताउँछन् ।
गौरादहको महारानीझोडा कृषि सहकारी संस्थाले जग्गा लिजमा लिएर धेरै क्षेत्रफलमा नमूनाका रुपमा छरुवा धानखेती गरिरहेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख विष्टले बताए । बढ्दो वैदेशिक रोजगारीका कारण युवा जनशक्ति विदेश पलायन भएको हुँदा कृषि क्षेत्रमा जनशक्तिको अभाव छ । यस्तो बेला थोरै जनशक्तिले धेरै उत्पादन हुने छरुवा धानखेतीले किसानलाई आकर्षित गरेको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
Comments