•  ८ मंसिर २०८१, शनिबार
  •  2:28:57 AM

अफगानिस्तान भूकम्प : एक हजार बढीको ज्यान गएको आशंका

- आश्विन २२, २०८० मा प्रकाशित



काबुल । अफगानिस्तानमा आपतकालीन टोलीहरू देशको पश्चिममा गएको शक्तिशाली भूकम्पको भग्नावशेषबाट मानिसहरूलाई उद्धार गर्न प्रयासरत छन् । शनिबार गएको ६.३ म्याग्निच्युडको भूकम्पमा परी हेरात प्रान्तका गाउँहरूमा एक हजारभन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ ।

सञ्चार र धेरै सडक अवरुद्ध भएका कारण उद्धारकर्मीहरू दुर्गम क्षेत्रहरूमा पुग्न संघर्ष गरिरहेका छन् । सयौं घाइते पनि भएका छन् । संयुक्त राष्ट्र संघ र अन्य संस्थाहरूले आपतकालीन आपूर्तिमा पुर्‍याउन थालेका छन् । शनिबार स्थानीय समय अनुसार राति ११ः३० बजे हेरात सहरबाट ४० किलोमिटर उत्तर–पश्चिममा भूकम्प गएको थियो ।

सबैभन्दा नराम्ररी प्रभावित माटोका संरचनाहरू छन् । ‘पहिलो झट्कामा सबै घरहरू ध्वस्त भए’, हेरातका बासिर अहमदले एएफपी समाचार एजेन्सीलाई भने। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कम्तीमा ४६५ घर भत्किएको बताएको छ ।

मृतकको यकिन तथ्याङ्क अझै आइसकेको छैन । अफगानिस्तानमा संयुक्त राष्ट्रसंघको मानवीय मामिला कार्यालयले एक हजार बढी मानिसको मृत्यु भएको र करिब ५०० अझै बेपत्ता रहेको बताएको छ । यसअघि आइतबार तालिबान सरकारले दुई हजार मानिस मारिएको वा घाइते भएको बताएको थियो ।

Comments

सम्बन्धित खवर