•  ८ मंसिर २०८१, शनिबार
  •  1:47:46 AM

इजरायल युद्ध : १२ नेपाली सम्पर्कविहीन, एक जना आईसीयूमा

- आश्विन २१, २०८० मा प्रकाशित



काठमाडौं । इजरायल–हमास संघर्षका क्रममा सम्पर्कबाहिर रहेका १२ नेपालीको अवस्था अझै अज्ञात रहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । उनीहरूको खोजी जारी रहेको इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले बताइन् ।

इजरायलको दक्षिणी भेगमा रहेको किबुज अलुमिनमा १७ जना नेपाली विद्यार्थी बस्थे । तीमध्ये ५ जना हमासले उक्त क्षेत्रमा गरेको आक्रमणमा परी घाइते भएका छन् । दुई जना बंकरभित्रै रहेका र तीन जनाको अस्पतालमा उपचार भइरहेको रिजालले जानकारी दिइन् ।

गाजा क्षेत्रबाट नजिकै रहेको किबुज अलुमिन क्षेत्रमा इजरायली सेना अझै पुगिसकेको छैन । त्यहाँको अवस्था अहिले पनि भयभीत रहेको इजरायली सञ्चारमाध्यमले जनाएका छन् । गैरआवासीय नेपाली संघ (एनआएन) इजरायलका अनुसार, सम्पर्कविहीन भएका नेपाली विद्यार्थीसँग सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको बताएको छ ।

नेपाली विद्यार्थीहरू सम्पर्कविहीन भएको क्षेत्रमा अन्ना नामकी स्थानीयले स्थानीय मिडियासित भनेकी छन्, ‘कहिल्यै कल्पनै नगरेको भयानक दृश्य देखिरहेका छौँ । यहाँ मानिसहरू सहयोगको भीख मागिरहेका छन् । उनीहरू रोइरहेका छन् । उनीहरूले हाम्रो घरमा आगो लगाइरहेका छन् ।’ ‘किबुज नजिकैबाट गुडिरहेको गाडीमा आतंकवादीले गोलाबारी गर्दा मेरा बच्चा घाइते भए । उनीहरूलाई हामीले उपचारका लागि पठायौँ । बाटोमा हामीले घाइते र मरेका मानिसहरू देख्यौँ । किबुजलाई घेराबन्दी गरेका छन् ।’

यता इजरायलमा रहेका नेपालीमध्ये केही हताहत भएको आशंका सरकारले गरेको छ । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा अध्ययनका लागि गएका विद्यार्थीमध्ये केही हताहत भएको आशंका रहेको जानकारी संसद्लाई गराएका हुन् ।आइतबार प्रतिनिधिसभाको बैठकलाई इजरायलविरुद्ध प्यालेस्टिनी विद्रोही हमासले गरेको आक्रमणबारे जानकारी दिने क्रममा मन्त्री साउदले त्यहाँ रहेका नेपालीको अवस्था यकिन गर्न र उद्धार गर्न सम्पूर्ण सरकारी संयन्त्र परिचालन गरिएको जानकारी पनि दिए ।

Comments

सम्बन्धित खवर