
अर्जुनधाराको धानबालीमा गबारो र फौजी कीराको समस्या
- भाद्र १९, २०८० मा प्रकाशित

झापा । झापाको अर्जुनधारा नगरपालिकाका तीनवटा वडामा धानबालीमा गबारो र फौजी कीराको समस्या देखापरेको छ । रोग फैलिन थालेपछि किसान चिन्तित भएका छन् ।
रोगका कारण वडा नं ३, ४ र ७ को ४० बिघा क्षेत्रफलमा लगाइएको धानबाली सखाप भएको र अन्यतिर पनि फैलिइरहेको अर्जुनधारा नगरपालिकाको कृषि शाखा प्रमुख एन्जिला बिडारीले जानकारी दिइन् । ‘गबारो, ढुसी र फौजी कीराको समस्या देखापरेको छ’, उनले समस्याबारे जानकारी दिँदै भनिन्, ‘केही किसानका खेतमा धानबाली सखाप भएको अनुगमनबाट देखिएको छ भने तत्काल नियन्त्रण गरिएन भने अन्यतिर फैलिने सम्भावना छ ।’
रोग नियन्त्रण गर्न किसानलाई कीटनाशक विषादी दिएर पठाउने र रोग नियन्त्रण गर्ने उपाय सिकाउने गरिएको उनले बताइन् । हुर्किन लागेको धानबालीमा रोग फैलिएपछि चिन्तित बनेका किसान मर्न थालेको धानको बोटै बोकेर नगरपालिकाको कृषि शाखामा जाने गरेका छन् । रोगको समस्या सबैभन्दा बढी वडा नं ७ मा रहेको शाखा प्रमुख बिडारीले बताइन् ।
‘परम्परागत तरिकाले खेती गर्दा यस्तो समस्या देखापर्ने धेरै सम्भावना हुन्छ’, उनले भनिन्, ‘धान रोपेपछि गोडमेल गर्ने र पानी पटाइरहने बानी हाम्रा किसानको छैन । खेतीमा रोगले आक्रमण गरिरहेको छ भने बेलैमा त्यसको नियन्त्रणको उपाय गर्नुपर्छ ।’ किसान समस्या भएपछि ढिलो सम्पर्कमा आउने गरेको कृषि शाखाको गुनासो छ ।
किसान रोगाएको धानको बोटै बोकेर कार्यालयमा आउन थालेपछि कृषि शाखाका प्राविधिक टोलीले संक्रमित क्षेत्रको अनुगमन गरेको छ । ‘फिल्ड’ मै गएर किसानसँग बुझ्ने, समस्याको अवस्था हेर्ने र कीटनाशक विषादी प्रयोगको तरिका सिकाउने गरिएको उनले बताइन् । नगरपालिकाको कृषि शाखाले किसानलाई औषधि निःशुल्क वितरण गरिरहेको जनाएको छ । अर्जुनधारा–३ का युवराज इङ्नामले किसानले पाँच कठ्ठादेखि एक बिघासम्मको जमिनमा लगाएको धानबालीमा रोग देखापरेको बताए ।
‘केही किसान नगरपालिकाको कृषि शाखामा जानुभयो र औषधि लिएर आउनुभयो’, उनले भने, ‘धेरैजसो किसान खेतमा डुलिरहनु भएको छ । के औषधि कहाँबाट ल्याउने हो भन्ने उहाँहरूलाई जानकारी नै छैन ।’
वडा नं ३ का वडासचिव खगेन्द्र लिङ्देनले किसानहरू रोग लागेर पहेँलो भइसकेको धानको बोट लिएरै आउने गरेको बताए । आफ्नो वडाको लगभग २० बिघामा रोग देखिएको जानकारी दिए । नगरको कृषि शाखाले किसानलाई क्लोरोफाइलिन प्लस, एमामेक्टिन बेन्जाएटलगायतका कीटनाशक विषादी निःशुल्क उपलब्ध गराइरहेको छ ।
जिल्ला कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी चेतनाथ भण्डारीले जिल्लाको धानबालीमा फाट्टफुट्ट मात्र रोगको समस्या देखापरेको जानकारी आएता पनि प्रकोपकै रूपमा नफैलिइएको बताए । उनले गबारो, ढुसी र फौजी कीराको सङ्क्रमण फैलिएको भए सम्पर्कमा आउन किसानलाई आह्वान गरेका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments